यूकेमा भावी प्रधानमन्त्री चयन गर्ने अनौठो अभ्यास, किन १,६०,००० जनाले मात्रै मतदान गर्न पाउँछन्?

तस्बिर स्रोत, Getty Images
कन्जरभेटिभ नेता र यूकेको प्रधानमन्त्रीबाट बोरिस जोनसन हट्दै गर्दा उनको स्थानमा अर्को व्यक्ति चयनका लागि आमनिर्वाचन हुने छैन।
उनको उत्तराधिकारी चयन जोनसन आबद्ध पार्टीका १,६०,००० सदस्यहरूले गर्दैछन्।
पछिल्लो आम निर्वाचनमा चार करोड ७० लाख मतदाता दर्ता रहेको देशमा कसरी त्यति थोरै मानिसहरूले देशको नेता चयन गर्छन् त?
यसको जबाफ यूकेको मौलिक राजनीतिक प्रणालीमा अन्तर्निहित छ।
यसको अर्थ यो पटक यूकेको प्रधानमन्त्री चयनमा आफ्नो मत दिने मानिसहरू कन्जरभेटिभ पार्टीलाई पैसा बुझाउने सदस्यहरू हुन्।
यूकेमा यस्तो भएको यो पहिलो पटक चाहिँ होइन। कुनै-कुनै समयमा थोरै मानिसहरूले देशको नयाँ नेता चयन गरेका उदाहरण यसअघिका पनि छन्।
किन थोरैले मतदान?
यूकेमा प्रधानमन्त्रीको राजीनामा लगत्तै आमनिर्वाचन गरिहाल्नुपर्ने व्यवस्था छैन।
सत्तारुढ पार्टीले नै देशको नयाँ नेता चयन गर्न सक्ने व्यवस्था छ।
बोरिस जोनसनले राजीनामा गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी चयन गर्ने जिम्मा पार्टीका सांसद र सदस्यमा आइपुग्यो।
नयाँ नेता छनौट गर्ने सुरुवाती चरणहरूमा कन्जरभेटिभ पार्टीका सांसदहरूले मात्रै मतदान गर्न पाउँछन्।
प्रधानमन्त्रीका आकाङ्क्षीहरूमध्ये प्रमुख दुई जना दाबेदारहरू चयन नभएसम्म मतदान गरिरहन्छन्।
यो पटक टोरी पार्टी भनिने कन्जरभेटिभ सांसदहरूले यूकेका विदेश मन्त्री लिज ट्रस र देशका पूर्व अर्थमन्त्री ऋषि सुनकलाई प्रधानमन्त्रीका आकाङ्क्षीका रूपमा चयन गरेका छन्।
यो विन्दुमा पुगेपछि प्रमुख दुईमध्ये एक जनालाई विजेता चयन गर्न कन्जरभेटिभ पार्टीका साधारण सदस्यहरूले मतदान गर्छन्।

तर १,६०,००० मानिसहरूले यूकेका मतदाताहरूको सङ्ख्याको ०.३ प्रतिशतको मात्र प्रतिनिधित्व गर्छन्।
विगतमा यस्तो प्रक्रियाको निष्पक्षताबारे गुनासोहरू सुनिने गरे पनि यूकेमा पार्टी आबद्ध व्यक्तिहरूबाट नयाँ प्रधानमन्त्री चयन गरिने कुरालाई निष्पक्ष नै मान्ने गरिएको छ।
पछिल्लो आधा शताब्दीमा आधाभन्दा धेरै यूकेका प्रधानमन्त्रीहरू आमनिर्वाचनको माध्यमबाट जनताले चयन गरेका नभई पार्टीबाट मात्रै चयन भएका छन्।
ब्रिटिश राजनीतिक प्रणालीका कारण पनि यहाँको सरकार प्रमुखहरू पार्टीबाट जुनसुकै समयमा हटाइन सकिने जोखिममा रहन्छन्।
जसकारण अमेरिकाको राष्ट्रपतीय प्रणालीमा एउटा निर्वाचनबाट अर्को आम निर्वाचनसम्म एकै जना राष्ट्रपति कायम भएजस्तो यहाँका प्रधानमन्त्री टिक्ने सम्भावना कम हुन्छ।

तस्बिर स्रोत, Getty Images
बूढा र गोरा
तर पार्टीको सदस्यता मात्रैले पुरै देशको प्रतिनिधित्व चाहिँ गर्दैन।
अध्ययनहरूले अरू प्रमुख पार्टीको तुलनामा कन्जरभेटिभ पार्टीका सदस्यहरू बूढा उमेरका, मध्यम वर्गीय र बाँकी जनसङ्ख्याको तुलनामा गोराहरू धेरै हुने गरेका देखाएका छन्।
लन्डनस्थित क्वीन मेरो युनिभर्सिटी र ससेक्स युनिभर्सिटीको पार्टी सदस्य परियोजनाका प्रमुख समेत रहेका प्राध्यापक टिम बेल भन्छन्,"हाम्रो भावी प्रधानमन्त्री चयन गर्ने मानिसहरू सबै मतदाताहरूको प्रतिनिधित्व गर्ने मामलामा धेरै टाढा छन्।"
"उनीहरू जातीय हिसाबले पनि विविध छैनन् र अधिकांश इङ्ल्याण्डको दक्षिणबाट प्रतिनिधित्व गर्छन्। महिलाभन्दा धेरै पुरुषहरू छन्, साधारणभन्दा धनीमानी छन् र तुलनात्मक रूपमा बूढाहरू छन्।"
"छोटोमा भन्दा मतदाताहरू भन्दा चयनकर्ताहरू निकै भिन्न देखिन्छन्।"

प्राध्यापक बेलको अनुसन्धान अनुसार यूकेमा अधिकांश पार्टीका धेरैजसो सदस्यहरू मध्यम वर्गीय छन्। तर कन्जरभेटिभ पार्टीका सदस्यहरू सबैभन्दा धेरै मध्यम वर्गीयमा पर्छन्।
यूकेका सबै प्रमुख पार्टीहरूमा काला जातिका र जातीय अल्पसङ्ख्यक सदस्यहरूको सङ्ख्या धेरै कम छ।
बेलले सन् २०१८ मा तयार गरेको प्रतिवेदन अनुसार कन्जरभेटिभ पार्टीका ९७ प्रतिशत सदस्यहरू "गोरा ब्रिटिश"छन् भने लेबर र लिबरल डेमोक्रेटहरूमा यस्तो सङ्ख्या ९६ प्रतिशत छ।
त्यस कारण सम्पूर्ण देशको प्रतिनिधित्व गर्ने मानिसहरूबाट यूकेमा नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको यो पहिलो पटक अवश्य होइन र अन्तिम पटक पनि नहुन सक्छ।

अझै सानो सङ्ख्या
अझ रोचक त के छ भने यसअघि प्रधानमन्त्री चयन गर्ने मानिसहरूको सङ्ख्या अझै सानो हुने गर्थ्यो।
सन् १९९८ सम्म कन्जरभेटिभ पार्टीमा र सन् १९८१ सम्म लेबर पार्टीमा सांसदहरूलाई मात्रै भावी प्रधानमन्त्री चयन गर्ने अधिकार थियो।
यो भनेको केही सयको मात्रै सङ्ख्याले यूकेको नयाँ प्रधानमन्त्री चयन गर्थ्यो र उक्त सङ्ख्याले देशको अझै सानो अंश प्रतिनिधित्व गर्थ्यो।
सन् १९६५ सम्म कन्जरभेटिभ पार्टीले नयाँ नेता चयनका लागि सबै सांसदहरूलाई समेत अधिकार दिँदैन थियो। आकाङ्क्षीहरूको समूहबाट एक जना विजेताको उदय हुने अभ्यास गरिन्थ्यो।
पार्टीका वरिष्ठ नेताहरूले उपयुक्त उम्मेदवार को हुनसक्छ भनेर छलफल गर्थे र अन्ततः कुनै औपचारिक मतदान नगरी एक जना छनौट गरिन्थ्यो।
माया र घृणा
यूकेमा प्रधानमन्त्री चयन गर्ने अनौठो प्रणालीका पछाडि शक्तिमा पुगेका आफ्नै पार्टीका नेताहरूलाई हटाउने अभ्याससँग ब्रिटिस राजनीतिक दलहरूको प्रेम प्रमुख कारण हो।
सन् २०१० मा कन्जरभेटिभ पार्टी सत्तामा आएपछि भएका प्रधानमन्त्रीहरू डेभिड क्यमरुन, टरिजा मे र बोरिस जोनसन तीनै जनाले पार्टीको आन्तरिक दबावका कारण राजीनामा दिए।
ब्रिटिश राजनीतिका हस्तिहरू पनि यस्तो कदमबाट जोगिन सकेनन्।
पछिल्लो शताब्दीका सबैभन्दा सफल प्रधानमन्त्रीहरूमा गनिने कन्जरभेटिभका मार्गरेट थ्याचर र लेबरका टोनी ब्लेयर दुवै एक दशक सत्तामा रहे।

तर आ-आफ्नो पार्टीकै गुटको असहयोगका कारण उनीहरू दुवै जनाले पदबाट राजीनामा दिएका थिए।
पार्टी नेतालाई सत्ताबाट हटाउन चलखेल गर्ने सांसदहरूले पनि सार्वजनिक रूपमा भने नेताहरूको प्रशंसा गर्ने गरेका छन्।
ताली बजाउन निरुत्साहित गरिने यूकेको संसद्मा जोनसनले अन्तिम सम्बोधन गरिरहँदा उनको पार्टीका सांसदहरूले उभिएर सम्मान गर्नुका साथै उनको जयजयकार गरे।
त्यसमध्ये कतिपय सांसद केही हप्ता अघिसम्म पनि उनलाई पदबाट हटाउन तिक्ततापूर्ण सङ्घर्षमा उत्रिएका थिए।
उनीहरूले जोनसनलाई देशको नेतृत्वमा रहन अनुपयुक्त भएको भन्दै सार्वजनिक रूपमै आलोचना गरेका थिए।
उनका उत्तराधिकारीले पनि प्रधानमन्त्रीको कार्यभार जोनसनको जस्तै माया र घृणाको यात्रा हुनेछ भन्ने बुझ्न आवश्यक छ।








