बोरिस जोनसनः को बन्न सक्छ नयाँ ब्रिटिश प्रधानमन्त्री

टेन डाउनिङ स्ट्रीट

तस्बिर स्रोत, Reuters

ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले पदत्याग गर्ने घोषणा गरेका छन्। अब नयाँ नेतृत्व छान्न कन्जर्भेटिभ पार्टीमा निर्वाचन हुनेछ। त्यसबाट दलका नयाँ नेता र प्रधानमन्त्री को बन्छ भन्ने स्पष्ट हुनेछ।

नयाँ नेता बन्न इच्छुक व्यक्तिले टोरी सांसद्हरूको समर्थन जुटाउनुपर्नेछ।

अन्तिम दुई उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा हुनेछ।

अब को बन्ला त कन्टर्भेटिभ दलको नेता तथा ब्रिटेनको नयाँ प्रधानमन्त्री? सम्भावित उम्मेदवारहरूबारे यहाँ चर्चा गरिएको छ।

ऋषि सुनक

ऋषि सुनक

तस्बिर स्रोत, Reuters

कुनै बेला ऋषि सुनकलाई भावी कन्जर्भेटिभ नेताका रूपमा हेरिन्थ्यो।

तर केही महिनादेखि उनकी श्रीमतीसँग जोडिएको करसम्बन्धी विवादका कारण उनको प्रतिष्ठा कमजोर बन्दै गइरहेको छ।

त्यसअघि लकडाउनका नियम उल्लङ्घन गरेकामा उनले जरिबाना तिरेको धेरै समय भएको थिएन।

उनी सन् २०१५ मा रिचमन्डको नोर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।

वेस्टमिन्स्टरबाहिर थोरै व्यक्तिले मात्र उनलाई चिनेका थिए। तर उनी फेब्रुअरी २०२० मा अर्थमन्त्री नियुक्त भए।

उनले तत्कालै कोरोनाभाइरस महामारीका कारण उत्पन्न चुनौती सामना गर्नुपर्‍यो। लकडाउनका बेला अर्थतन्त्रलाई स्थिर राख्ने प्रयासमा उनले ठूलो रकम खर्च गर्नुपर्‍यो।

पार्टीभित्र कम कर तिर्ने र खर्च गर्ने व्यक्तिका रूपमा चिनिन खोज्ने सुनकका लागि निकै खर्च गर्नु सजिलो थिएन। तर त्यसले उनको लोकप्रियता निकै बढायो।

यसपालि सहकर्मी तथा साथी साजिद जाविदसँगै सुरुमै मन्त्री पदत्याग गर्ने उनको निर्णयपछि अरू मन्त्रीहरूलाई पनि त्यसै गर्न उत्प्रेरित गरेको हुनसक्छ। अन्ततः त्यसले जोनसनलाई पद छोड्न बाध्य पार्‍यो।

लिज ट्रस

लिज ट्रस

तस्बिर स्रोत, Reuters

अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले पद छाडेपछि विदेशमन्त्री लिज ट्रसले आफ्नो समर्थन जोनसनप्रति रहेको घोषणा गरिन्।

उनी विदेश मन्त्रालयको नेतृत्व गर्ने दोस्री ब्रिटिश महिला हुन्। नाजनिन जागारी-र्‍याट्क्लिफलाई छ वर्षपछि इरानबाट मुक्त गराउने सफलता तथा रुस र रुसी धनाढ्यहरूमाथि आर्थिक प्रतिबन्ध लगाएको जस ट्रसलाई जान्छ।

उनी साउथवेस्ट नोर्फोकबाट सन् २०१० मा पहिलो पटक सांसद निर्वाचित भएकी थिइन्। ट्रस अर्थतन्त्र र व्यापारका विषयमा उदार धारणाका लागि कन्जर्भेटिभ पार्टीमा चर्चित छन्।

तर उनको शैली त्यति लोकप्रिय भने छैन।

सन् २०१५ को कन्जर्भेटिम अधिवेशनमा चीज आयातबारे गरेको भाषणका कारण उनको निकै खिल्ली उडाइएको थियो।

यद्यपि त्यसले उनको प्रगतिलाई रोकेन। उनी विभिन्न भूमिकामा मन्त्री बनिरहिन्।

अहिलेको भूमिकामा आउनुअघि उनी ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि अन्तर्राष्ट्रिय व्यापारमन्त्री थिइन्।

साजिद जाविद

साजिद जाविद

तस्बिर स्रोत, Reuters

ब्रोम्सग्रोभबाट प्रतिनिधित्व गर्ने यी सांसदले प्रधानमन्त्री जोनसनलाई पहिलो प्रहार गरे।

निष्ठाको कुरा उठाउँदै उनले सांसदहरूलाई आफ्नो राजीनामाको निष्कर्ष "समस्या सबैभन्दा माथिबाट सुरु भएको" समेत सुनाए।

जाविदले यसअघि सन् २०१९ मा नेतृत्वका लागि प्रतिस्पर्धा गरेका थिए।

चार शीर्षस्थ चार प्रतिस्पर्धीमध्ये एक रहेका उनले पछि जोनसनलाई समर्थन गरेका थिए।

अर्थमन्त्री बनाएर उनलाई पुरस्कृत गरियो। तर सल्लाहकारहरूसँग सम्बन्धित विवादका कारण उनले छ महिनामै पद त्यागे।

सन् २०२१ मा स्वास्थ्यमन्त्रीका रूपमा उनले संसद्‌को अग्रपङ्क्तिमा पुनरागमन गरे।

आर्थिक मामिलामा परम्परावादी उनले बारम्बार महँगी र राष्ट्रिय ऋण बढ्ने जोखिमबारे चेतावनी दिएका थिए।

उनको लालनपालन सामान्य पृष्ठभूमिमा भएको थियो। पाकिस्तानबाट आएको आप्रवासी परिवारमा उनको जन्म सन् १९६९ मा भएको हो।

उनका पिता बस कन्डक्टर थिए।

सन् २०१० मा टोरी सांसद हुनुअघि जाविद गृहनगर रोच्डेलमा सफल व्यावसायिक जीवन व्यतीत गर्दै थिए।

जेरमी हन्ट

जेरमी हन्ट

तस्बिर स्रोत, Uk Parliament

जेरमी हन्ट सन् २०१९ मा नेतृत्वका लागि भएको प्रतिस्पर्धामा जोनसनसँग पराजित भएका थिए। त्यसपछि यी पूर्वविदेशमन्त्री कुनै सरकारी जिम्मेवारीमा नरहीकन ब्रिटिश संसद्‌मा प्रभावशाली रूपमा देखा पर्दै आएका छन्।

कोभिड महामारीकालमा उनले ब्रिटेनको तल्लो सदनको स्वास्थ्य समितिको सभापतिको भूमिकामा रही सरकारी नीतिको निगरानी गरेका थिए।

यदि उनी फेरि पार्टीको नेतृत्वका प्रतिस्पर्धामा आए भने उनले पार्टी सदस्यहरूको दृष्टिकोण तीन वर्षअघिको भन्दा भिन्न हुने अपेक्षा गर्नेछन्। ब्रेक्जिट जनमतसङ्ग्रहमा उनले ब्रिटेन ईयूमै रहनुपर्ने पक्षमा मत दिने विषयलाई पार लगाउन नमिल्ने अवरोधको सङ्ज्ञा दिएका थिए।

उनका पिता जलसेनाको प्रमुख बनेका थिए। विद्यार्थी र शैक्षिक संस्थाहरूका लागि उपयोगी हटकोर्सेस नामक वेबसाइट स्थापना गरेर जेरमी हन्टले निकै धन कमाएका थिए।

सन् २००५ यता उनी साउथवेस्ट सरीबाट सांसद निर्वाचित हुँदै आएका छन्। सन् २०१० मा संस्कृतिमन्त्री बनेर उनी पहिलो पटक सरकारमा गएका थिए।

उनले स्वास्थ्य मन्त्रालय पनि सम्हालिसकेका छन्।

माइकल गोभ

माइकल गोभ

तस्बिर स्रोत, PA Media

गोभले यसअघि दुई पटक टोरी नेता र प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा गरेका छन्।

सन् २०१९ मा उनी बोरिस जोनसन र जेरमी हन्टपछि तेस्रो स्थानमा आएका थिए।

नेतृत्वको प्रतिस्पर्धामा सन् २०१६ को महाधिवेशनमा उनी निकै चर्चित भएका थिए। ईयूसम्बन्धी जनमतसङ्ग्रहपछि भएको अधिवेशनमा उनी ब्रिटेनले ईयू छोड्नुपर्ने पक्षमा उभिएका वरिष्ठ नेता थिए।

सुरुमा बहिर्गमनपक्षीय जोनसनलाई समर्थन गरेका उनले पछि धेरैलाई चकित पारिदिए। जोनसनले "नेतृत्व प्रदान गर्न वा अगाडि रहेको कार्यका लागि टोली निर्माण गर्न" नसक्ने भन्दै "अनिच्छापूर्वक" समर्थन फिर्ता लिएका थिए।

उनी लामो समय मन्त्री बन्ने व्यक्ति हुन्। उनी बीबीसीका पूर्वपत्रकार र टाइम्स पत्रिकाका पूर्वस्तम्भकार हुन्।

सन् २०१० मा शिक्षामन्त्री बनेका उनी त्यसयता सरकारी जिम्मेवारीमा प्रमुख सचेतक, न्यायमन्त्री, पर्यावरणमन्त्री र अहिले समानता, आवास तथा समुदाय हेर्ने मन्त्री बनेका थिए।

नदिम जहावी

नदिम जहावी

तस्बिर स्रोत, Reuters

वर्तमान अर्थमन्त्री नदिम जहावी महामारीका बेला खोपमन्त्री थिए। त्यतिबेला उनले आफूलाई विश्वासयोग्य नेताका रूपमा स्थापित गरेका हुन्।

यूकेको सफल कोभिड खोप कार्यक्रमको श्रेय उनलाई जान्छ। उनले त्यसलाई "आफूले गरेको सबैभन्दा महत्त्वपूर्ण काम" भनेका छन्।

त्यसपछि उनी शिक्षामन्त्री बने। ऋषि सुनकले राजीनामा दिएपछि उनको पदोन्नति भयो र उनी अर्थमन्त्री बने।

यद्यपि २४ घण्टाभित्रै बोरिस जोनसनलाई पद छाड्नुपर्ने बेला आएको बताउने २४ मन्त्रीमध्ये उनी पनि थिए।

उनी सन् १९६७ मा इराकमा जन्मिएका हुन्। सद्दाम हुसेन शक्तिमा आएपछि उनको परिवार देश छाड्न बाध्य भएको थियो।

केमिकल इन्जिनियरिङ अध्ययन गरेका उनले अनलाइन सर्वेक्षण कम्पनी यूगोभ स्थापना गरेर धन कमाएका थिए।

सुरक्षित कन्जर्भेटिभ क्षेत्र मानिने स्ट्र्याटफर्ड-अपन-एभनबाट उनी सन् २०१० मा सांसद निर्वाचित भएका थिए।

पेनी मोर्डन्ट

पेनी मोर्डन्ट

तस्बिर स्रोत, Reuters

पेनी मोर्डन्टले कुनै बेला जादुगरको सहायक बनेर पनि काम गरेकी थिइन्। उनले विभिन्न असामान्य कामहरू गरेकी छन्।

राजनीतिक भाषामा भन्दा उनले सन् २०१९ मै "अकस्मात् समस्याको समाधान" भेटिसकेकी थिइन्।

त्यतिबेला उनी यूकेको प्रथम महिला रक्षामन्त्री बनिन्। कुनै बेला जलसेनामा जगेडा सैनिक रहेकी र सशस्त्र फौज हेर्ने मन्त्रालयको नेतृत्व गरिसकेकी उनका लागि त्यो एउटा स्वाभाविक भूमिका पनि थियो।

डेभिड क्यामरुनको सरकारमा उनले सशस्त्र फौजसम्बन्धी मन्त्री बनेकी थिइन्।

आईटीभीको 'स्प्याश!' नामक चर्चित हस्तीहरू सहभागी हुने कार्यक्रममा देखा परेर उनले परो‍पकारका लागि रकम सङ्कलन गरेकी थिइन्। त्यही कार्यक्रमले उनलाई वेस्टमिन्स्टरबाहिर चिनायो।

पोर्ट्स्मथ नोर्थबाट सांसद बनेकी उनी कन्जर्भेटिभ पार्टीको युवा सङ्गठनकी प्रमुख हुन्। विलियम हेग पार्टीको नेता हुँदा मोर्डन्ट उनकी सञ्चार अधिकारी थिइन्।

वेस्टमिन्स्टर प्रवेश गर्नुअघि उनी केन्सिङ्टन र चेल्सी काउन्सिल तथा फ्राइट ट्रान्सपोर्ट असोसीएशनकी प्रेस अधिकारी थिइन्।

फ्रान्सले अवरोध सिर्जना गरेको बेला उनले ब्रिटिश ट्रक चालकहरूको समर्थन गरेकी थिइन्।

टम टूगन्हाट

टम टूगन्हाट

तस्बिर स्रोत, Getty Images

टम टूगन्हाटको शैली बोरिस जोनसनको भन्दा ठिक विपरीत छ। उनी चर्चा बटुल्ने खालका भन्दा व्यावहारिक कुराहरू गर्छन्।

उनी सन् २०१५ मा टन्ब्रिजबाट सांसद निर्वाचित भएका हुन्।

उनले सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा उनले ब्रिटेन ईयूमै रहनुपर्ने पक्षमा थिए। यिनै गुणहरूका कारण उनलाई कन्जर्भेटिभ पार्टीको भावी नेताका रूपमा हेर्न थालिएको थियो।

सन् २०२० को ज्यानुअरीयता उनी प्रभावशाली मानिने विदेश मामिला चयन समितिको सभापति छन्। उक्त भूमिकाले उनलाई नेतृत्व क्षमता निखार्न सहयोग पुगेको छ।

उनले आफ्नो सैन्य विज्ञतालाई विश्वभरि बढिरहेको चीनको प्रभाव निगरानी गर्न पनि प्रयोग गरे।

सांसदहरूका अगाडि गरिएको एउटा भावनात्मक मन्तव्यमा उनले पश्चिमा राष्ट्रका सेनाले हतारमा अफगानिस्तान छोडेपछि सैनिकहरूमा उत्पन्न आक्रोश र दुःखबारे बोलेका थिए।

के उनी प्रधानमन्त्री बन्न चाहन्छन् भन्ने प्रश्न सोधिँदा सन् २०१७ मा उनले भनेका थिएः "अवश्य। मैले टिकेट किनेको छु। त्यसैले चिट्ठा जित्न म किन नचाहुँला र?"

बेन वालेस

बेन वालेस

तस्बिर स्रोत, PA Media

रक्षामन्त्री बेन वालेस पूर्वसैनिक हुन्। उनी चर्चामा रहन खासै खोज्दैनन्।

तर युक्रेनमा भएको रुसी आक्रमणपछि उनीप्रति धेरैको चासो गएको छ।

यूकेले सुरुमै किएभलाई अस्त्र र तालिम दिएर सहयोग गर्ने निर्णय गरेको थियो।

ब्रेक्जिटविरुद्ध उनको विमति थियो। तर सन् २०१७ मा नेतृत्व पुग्ने बोरिस जोनसनको असफल अभियानको नेतृत्व वालेसले नै गरेका थिए।

पछि सन् २०१९ मा वालेसलाई मन्त्री बनाइयो।

स्कट्स गार्ड्समा काम गर्दा सैन्य अधिकृतहरूको मेसमा मदिराका लागि उनले सर्वाधिक पैसा तिरेको कीर्तिमान भङ्ग गरेका थिए।

उनले जर्मनी, साइप्रस, बेलिज र नोर्दन आयरल्यान्डमा बसेर काम गरेका छन्। नोर्दन आयरल्यान्डमा उनले ब्रिटिश सैनिकहरूलाई लक्षित एउटा एउटा बम आक्रमणको योजना विफल बनाएका थिए।

प्यारिसबाट राजकुमारी डायनाको शव निकाल्ने सैनिकहरूमध्ये उनी पनि थिए।