आर्टमिस: चन्द्रमामा फेरि मानव लैजाने नासाको विशाल रकेट तयार, यस्ता छन् विशेषता

तस्बिर स्रोत, NASA
अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको छ।
स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको 'प्याड ३९बी'मा लगिएको छ। त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ।
त्यो परीक्षण उडानमा चालकदलका कोही पनि सदस्य हुनेछैनन्। तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ।
झन्डै १०० सय मिटर अग्लो एसएलसीलाई विशाल ट्र्याक्टरमा चढाएर प्याडसम्म लगिएको थियो।
आर्टमिस के हो?
जडान गरिएको भवनबाट एसएलसी रकेट स्थानीय समयानुसार मङ्गलवार राति झन्डै १० बजे हिँडेको थियो। त्यहाँबाट ६.७ किलोमिटर पर रहेको प्रक्षेपणस्थलसम्म पुग्दा बुधवार सूर्योदय भइसकेको थियो।

यो नासाका लागि एउटा महत्त्वपूर्ण क्षण हो।
आगामी डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो १७ अभियानको ५० औँ वार्षिकोत्सव मनाउन लागेको छ।
नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आर्टमिस ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनीको नाम हो र उनलाई चन्द्रमाकी देवी पनि मानिन्छ।
नासाले आफ्नो चन्द्र अभियानलाई सन् २०३० वा त्यसको केही समयपछि मङ्गल ग्रहमा अन्तरिक्षयात्रीहरू पठाउने आफ्नो तयारीसँग जोडेर हेरेको छ।

तस्बिर स्रोत, ESA
अपोलोको स्याटर्न भी रकेटको तुलनामा एसएलएसको प्याडबाट उड्ने बल १५ प्रतिशत बढी हुन्छ।
त्यो अतिरिक्त बलले पृथ्वीभन्दा धेरै टाढासम्म अन्तरिक्षयात्रीहरूलाई पठाउन यानलाई सहयोग गर्नुका साथै थप समयसम्म अभियान सञ्चालन गर्न आवश्यक उपकरण र सरसामान लैजान पनि सघाउँछ।
नासा के भन्छ?
क्रू क्याप्स्यूल अर्थात् अन्तरिक्षयात्री बस्ने खण्डको पनि क्षमता बढाइएको छ। अराइअन भनिने उक्त क्याप्स्यूल अझ फराकिलो छ।
सन् १९६० र ७० का ऐतिहासिक कम्यान्ड मोड्यूलको तुलनामा एक मिटर बढी फराकिलो रहेको अराइअनको चौडाइ पाँच मिटर छ।
नासा प्रमुख बिल नेल्सन भन्छन्, "चन्द्रमालाई नियाल्ने र मानवजाति चन्द्रमामा फर्किने सपना देखिरहेका सबै जनालाई म भन्न चाहन्छु कि हामी त्यहाँ जाँदै छौँ। अनि त्यो यात्रा, हाम्रो यात्रा 'आर्टमिस वन'सँगै सुरु हुन लागेको छ।"

तस्बिर स्रोत, NASA
"अन्तरिक्षयात्रीसहितको आर्टमिस टू दुई वर्षपछि सन् २०२४ मा प्रक्षेपण गरिनेछ। आर्टिमिस थ्रीको पहिलो अवतरण सन् २०२५ मा हुने अपेक्षा हामीले गरेका छौँ।"
नासाले आफ्नो तेस्रो अभियानमा पहिलो पटक महिलाले चन्द्रमाको सतहमा पाइला टेक्ने जनाएको छ।
एसएलएस प्रक्षेपणस्थलमा पुगेपछि इन्जिनियरहरूसँग त्यसलाई अन्तरिक्षमा पठाउने तरारी गर्न डेढ हप्ताको समय हुनेछ।
प्रक्षेपण कहिले हुन्छ?
प्रक्षेपणका लागि सम्भावित तीनवटा अवसर छन्। पहिलो मिति अगस्ट २९ सोमवारका लागि तय गरिएको छ।
यदि प्राविधिक वा खराब मौसमका कारण रकेट त्यो दिन उडान हुन सकेन भने सेप्टेम्बर २ मा दोस्रो प्रयास गरिनेछ। कारणवश त्यसमा पनि रकेट प्रक्षेपण हुन सकेन भने सेप्टेम्बर ६ मा तेस्रो पटक प्रयास गरिनेछ।

तस्बिर स्रोत, NASA
अहिलेको अभियानको लक्ष्य अराइअनलाई पृथ्वीमा फिर्ता ल्याउनुअघि चन्द्रमाको पछाडिपट्टि घुमाउनु रहेको छ। पृथ्वीमा आएपछि अराइअन क्यालिफोर्नियानजिकै प्रशान्त महासागरमा खस्नेछ।
यो परीक्षण उडानको एउटा प्रमुख उद्देश्य सो क्याप्स्यूलको तापकवचको क्षमता जाँच्नुरहेको हो। पृथ्वीमा फर्किँदा क्याप्स्यूलले ताप सहन सक्छ कि सक्दैन भनेर वैज्ञानिकहरूले अध्ययन गर्नेछन्।
आगामी अभियानमा युरोप साझेदार रहनेछ।
उसले अराइअनको पृष्ठ भागमा रहने प्रपल्शन मोड्यूल उपलब्ध गराउनेछ। त्यो मोड्यूलले अराइअनलाई अन्तरिक्षमा अगाडि बढाउनेछ।
"युरोपेली स्पेस एजेन्सीका तर्फबाट भइरहेको यो योगदानमा १० भन्दा बढी युरोपेली देशले काम गरिरहेका छन्। यो हाम्रा लागि ज्यादै महत्त्वपूर्ण क्षण हो," अन्तरिक्षयात्राका लागि चाहिने सामग्री उत्पादन गर्ने एअरबस कम्पनीका सान क्लीभर भन्छिन्।
"युरोपियन सर्भिस मोड्यूल केवल भार उठाउने सामग्री वा कुनै उपकरण मात्रै होइन, यो एकदमै महत्त्वपूर्ण अङ्ग पनि हो किनभने हामीबिना अराइअन चन्द्रमामा जान सक्दैन।"

तस्बिर स्रोत, NASA
स्टारशिप के हो?
नासाले एसएलएसको विकास गरिरहेको भए पनि अमेरिकी रकेट उद्यमी इलोन मस्कले अझ ठूलो त्यस्तो साधन आफ्नो टेक्ससस्थित केन्द्रमा निर्माण गराइरहेका छन्।
उनले आफ्नो विशाल रकेटलाई स्टारशिप नाम दिएका छन्। त्यसले भविष्यमा आर्टमिस अभियानमा सहयोग गर्ने भनिएको छ।
अराइअनमा जोडिएर उक्त रकेटले अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको सतहबाट फर्किन सघाउनेछ।

तस्बिर स्रोत, ESA
एसएलएसजस्तै स्टारशिपले पनि आफ्नो पहिलो उडान गर्न बाँकी छ।
एसएलसीभन्दा फरक स्टारशिपलाई पूर्ण रूपमा पुर्नप्रयोग हुनेगरी तयार गरिएको छ र यो सञ्चालन गर्न तुलनात्मक रूपमा कम खर्च लाग्ने ठानिएको छ।
नासाको कार्यक्रमको नियमन गर्ने अफिस अफ इन्स्पेक्टर जेनरलका अनुसार पहिला सञ्चालन गरिने चारवटा एसएलएस अभियानका प्रत्येक पटक चार अर्ब डलरभन्दा बढी खर्च लाग्नेछ। त्यो लागत 'दिगो' नहुने पनि भनिएको छ।
नासाले आफूले उद्योगहरूलाई ठेक्का दिने प्रणालीमा गरिएको परिवर्तनले भविष्यमा उत्पादन लागत उल्लेख्य रूपमा घटाउने जनाएको छ।
यो पनि हेर्नुहोस्














