जेफ बेजोसको अन्तरिक्ष पर्यटन यान प्रक्षेपण गर्ने मिति तोकियो

तस्बिर स्रोत, Blue Origin
एमजनका संस्थापक जेफ बेजोसले आफ्नो एउटा कम्पनी सर्वसाधारणलाई अन्तरिक्षमा पुर्याउन तयार रहेको बताएका छन्।
उनको कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यू शेफर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने बताएको छ।
सो उडानमा कम्पनीका व्यक्तिहरू यात्रु हुने भए पनि एउटा सीट अनलाइनमा लिलाम बढाबढ गरिने बताइएको छ।
टेक्ससबाट उड्ने रकेट १० मिनेट लामो यात्रामा पृथ्वीबाट सीधा १०० किलोमिटर माथि पुगेर फर्किनेछ।
उक्त उडानमा बेजोस हुने वा नहुने विषय स्पष्ट छैन।
पृथ्वीमाथि १०० किलोमिटरको दूरीलाई कार्मान लाइन भनिन्छ जसलाई अन्तरिक्षको प्रारम्भिक बिन्दु मानिएको छ।

तस्बिर स्रोत, Blue Origin
"अहिलेसम्म सो लाइनमाथि ५६९ जना मानिस मात्रै पुगेको छन्। हाम्रो नयाँ शेफर्ड यानबाट हामी त्यसका नाटकीय परिवर्तन गर्दैछौँ," कम्पनीका विक्री निर्देशक एरियाना कोर्नेलले भनिन्।
कम्पनीको घोषणाले अन्तरिक्ष पर्यटनको ढोका खुल्ने मानिएको छ।
इलोन मस्कको स्पेसएक्स कम्पनीले केही महिनाभित्रै सबै सर्वसाधारण यात्रु हुने यात्रा घोषणा गर्ने अपेक्षा गरेको छ। स्पेसएक्सको यान केही दिन अन्तरिक्षमा रहने बताइएको छ।

तस्बिर स्रोत, Blue Origin
न्यू शेफर्ड १८ मिटर उचाइ र चार मिटर चौडाइको पुन प्रयोग गर्न सकिने यान हो।
अन्तरिक्षको कक्षमा पुग्ने टिकटको मूल्य कैयौँ हजारौँ अमेरिकी डलर पर्ने बताइएको छ।
कम्पनीले प्रतिसीट दुई लाख डलरसम्म कमाउने अपेक्षा गरिएको छ।
बेजोसले ठूला रकेटहरूको समेत विकास गरिरहेका छन् र उनले आफ्नै भूउपग्रहमा आधारित इन्टरनेट नेटवर्क बनाउने योजना बनाएका छन्।

तस्बिर स्रोत, Blue Origin








