चिनियाँ अन्तरिक्ष केन्द्रः सामान लिएर गएको लङ मार्च फाइभबी रकेटको भग्नावशेष कसरी पृथ्वीमा खस्यो

यो रकेट जुलाई २४ मा प्रक्षेपण गरिएको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यो रकेट जुलाई २४ मा प्रक्षेपण गरिएको थियो

चीनले समानसहित आफ्नो अन्तरिक्ष केन्द्रमा पठाएको एउटा रकेटको भग्नावशेष अन्तरिक्षबाट पृथ्वीमा खसेको अमेरिकी र चिनियाँ अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार लङ मार्च फाइभबी रकेटका भग्नावशेषहरू हिन्द महासागर र प्रशान्त महासागरमा खसेका हुन्।

चिनियाँ अन्तरिक्ष निकायका अनुसार उक्त रकेटको अधिकांश भग्नावशेष वायुमण्डलमा जलेको थियो। प्रशान्त महासागरस्थित सुलु सागरमा रकेटको मुख्य भाग अवतरण गरेको उसले जनाएको छ।

अन्तरिक्षविज्ञहरूले उक्त रकेट मानवबस्ती भएको स्थानमा खस्ने सम्भावना निकै कम भएको यसअघि बताएका थिए।

भग्नावशेष कहाँ खस्यो?

रकेटको 'कोर स्टेज' भनिने आधारभूत संरचना यसरी अनियन्त्रित रूपमा पृथ्वीमा आएका कारण अन्तरिक्षमा हुने फोहोरको उत्तरदायित्वसम्बन्धी प्रश्न उठेको छ।

अमेरिकी अन्तरिक्ष प्रशासन नासाले चिनियाँ अन्तरिक्ष निकायलाई रकेट पृथ्वीमा फर्किँदा ससाना टुक्रा हुनेगरी विघटित हुने खालको अन्तर्राष्ट्रिय प्रचलनअनुसारको ढाँचा बनाउन आग्रह गर्दै आएको छ।

चिनियाँ रकेट

तस्बिर स्रोत, Getty Images

यूएस स्पेस कम्यान्डले एउटा ट्वीट गर्दै लङ मार्च फाइभ "७/३० मा एमडीटीअनुसार झन्डै १०:४५ बजे बिहान [१६:४५ जीएमटी] हिन्द महासागरमा पुनः प्रवेश गरेको" जनाएको छ।

थप जानकारीका लागि उसले चिनियाँ अधिकारीहरूले उपलब्ध गराएको विवरण हेर्न सुझाव दिएको छ।

चिनियाँ अन्तरिक्ष निकायले रकेटको मूल भाग पृथ्वीमा फर्किएको स्थान ११९ डिग्री पूर्व देशान्तर र ९.१ डिग्री उत्तर अक्षांश भएको जानकारी दिएको छ।

उक्त स्थान उत्तरी प्रशान्त महासागरमा अवस्थित सुलु सागरमा पर्छ। सो स्थान फिलिपिन्सको पलावान द्वीपभन्दा पूर्वमा छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तरिक्षमा पृथ्वीलाई घुमिरहेका २०० जोखिमयुक्त मानवनिर्मित वस्तु

चिनियाँ रकेटबारे के थाहा छ?

चीनले अन्तरिक्षमा आफ्नो छुट्टै केन्द्र बनाइरहेको छ। ट्येन्गूङ नामक उक्त केन्द्रतिर प्रक्षेपित रकेटहरूमा पृथ्वीतिर फर्किँदा नियन्त्रण गर्न सकिने क्षमता छैन।

चीनले गत आइतवार एउटा ल्याब मोड्यूलसहित लङ मार्च फाइभ रकेट ट्येन्गूङ केन्द्र पठाएको थियो।

चीन सरकारले बुधवार उक्त रकेट फर्किँदा सम्भवतः समुद्रमा अवतरण गर्ने भएकाले मानिसहरूलाई कम जोखिम भएको बताएको थियो।

यद्यपि रकेटका टुक्राहरू मानवबस्ती भएको स्थानमा खस्न सक्ने सम्भावना भने थियो। सन् २०२० को मे महिनामा रकेटको टुक्रा आइभोरी कोस्टमा खस्दा केही क्षति पुगेको थियो।

समुद्रमा बज्रिनुअघि रकेटको रित्तो भाग पृथ्वीवरिपरि अण्डाकार कक्षमा थियो।

गत वर्ष एप्रिलमा लङ मार्च फाइभबी रकेट प्रक्षेपण गरेको हेर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चिनियाँ अन्तरिक्ष केन्द्रको ट्येन्ख मोड्यूलमा अन्तरिक्षयात्रीहरू बस्नेछन्

भूउपग्रह सञ्चालकहरूले हिजोआज वायुमण्डलमा पुनः प्रवेश गर्दा आफैँ टुक्राटुक्रा हुने खालका वस्तुको ढाँचा बनाउन प्राथमिकता दिन्छन्। त्यसका लागि कम तापक्रममा पग्लिने आल्यमिनिअमजस्ता धातु प्रयोग गरिन्छ।

तर रकेट बनाउन त्यसो गर्दा मूल्य निकै बढी हुन जान्छ। इन्धन भण्डार गर्ने भाग बनाउनका लागि प्रयोग हुने टिटेनिअमजस्ता तत्त्वका लागि निकै उच्च तापक्रम चाहिन्छ। अनि रकेटको आकारबारे पनि विचार गर्नुपर्ने हुन्छ। लङ मार्च फाइभको तौल २५ टनजति थियो।

लङ मार्च फाइजको जस्तै संरचना भएका दुईवटा रकेट यसअघि दुई चोटि प्रक्षेपण गरिसकिएको थियो। मे २०२० र मे २०२१ मा ती रकेटले ट्येन्गूङ स्टेशनमा विभिन्न सामग्री लगेका थिए।

दुवै खेप रकेटको कोर स्टेजका भग्नावशेषहरू पृथ्वीमा खसेका थिए। एक पटक आइभोरी कोस्टमा र अर्को पटक हिन्द महासागरमा। त्यसअघि सन् २०१८ मा पहिलो पटक प्रक्षेपित प्रोटोटाइपको भग्नावशेष प्रशान्त महासागरमा खसेको थियो।

ती कुनै पनि घटनामा मानिसहरू हताहत भएनन्। तर विभिन्न अन्तरिक्ष निकायहरूले तिनको आलोचना गरेका थिए।

मङ्गलवार चिनियाँ सरकारी समाचारपत्र ग्लोबल टाइम्सले पश्चिमा सञ्चारमाध्यमहरू अमेरिकाको नेतृत्वमा लङ मार्च फाइभको तेजोबध गर्ने अभियानमा लागेको आरोप लगाएको थियो।

वेन्ट्येन ल्याब मोड्यूल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वेन्ट्येन ल्याब मोड्यूलमा बसेर वैज्ञानिकहरूले विभिन्न प्रयोग गर्न सक्नेछन्

चिनियाँ अन्तरिक्ष केन्द्रमा के छ?

यसपालि लङ मार्च फाइभ रकेटले चिनियाँ अन्तरिक्ष केन्द्रका लागि आवश्यक तीनमध्येको दोस्रो मोड्यूल लगेको थियो।

वेन्ट्येन नाम दिइएको उक्त ल्याब मोड्यूल १७.९ मिटर लामो छ।

यो मोड्यूल उक्त स्टेशनमा हुने दुईमध्ये एउटा प्रयोगशाला हुनेछ।

चीनले गत वर्ष एप्रिल महिनादेखि उक्त अन्तरिक्ष केन्द्र निर्माण गर्न थालेको हो। पहिलो पटक पठाइएको ट्येन्ख नामक मोड्यूलमा अन्तरिक्षयात्रीहरू बस्ने प्रबन्ध मिलाइएको छ।

यो वर्षको अन्त्यसम्म चीनले ट्येन्गूङको निर्माण सम्पन्न हुने अपेक्षा गरेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तरिक्षमा खानीः के क्षुद्रग्रहबाट बहुमूल्य धातु ल्याउन सम्भव छ?