चीनको सबैभन्दा लामो मानवयुक्त अन्तरिक्ष अभियान सम्पन्न, तीन यात्री पृथ्वी फर्किए

अन्तरिक्षयात्रामा जानुअघि तीन चिनियाँ अन्तरिक्षयात्री

तस्बिर स्रोत, Getty Images

चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्।

उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए।

चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखाउँछ।

न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन्।

सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो।

पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो।

शन्जो-१२ अन्तरिक्षयान

तस्बिर स्रोत, SHUTTERSTOCK

शन्जो-१२ अन्तरिक्षयान अवतरण

तस्बिर स्रोत, SHUTTERSTOCK

अन्तरिक्षमा चीन

अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म "अन्तरिक्षमा हिँड्ने" काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ।

केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठूलो फड्को मारेको छ।

चन्द्रमा

तस्बिर स्रोत, Twitter/CGTNofficial

तस्बिरको क्याप्शन, चन्द्रको पृष्ठभागमा चीन पहिलो पटक मानवरहित अन्तरिक्षयान अवतरण गराएका थियो
पृथ्वीको पृष्ठभाग

तस्बिर स्रोत, EPA/CNSA

चन्द्रमा

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, चन्द्रमाको नजिकको भाग (देब्रे) र टाढाको भाग (दाहिने) बीच धेरै अन्तर छन्

सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो।

पृथ्वीबाट नदेखिने उक्त भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलो पटक थियो।

यही वर्ष चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा छपाङ्ग्रे वाहन उतारेको छ। यी दुवै काम जटिल र चुनौतीपूर्ण मानिन्छन्।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएमा चीनलाई सहभागी गराइएको थिएन।

त्यसैले पनि चीनले आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र स्थापना गर्‍यो।

रुस, युरोप, क्यानडा र जापानसँग गरिएको सहकार्यको नेतृत्व गरेको अमेरिकाले अन्तरिक्षमा चीनसँग हात मिलाउन खोजेको छैन।

तर चीनले आफ्नो अन्तरिक्ष केन्द्रमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्पेसएक्सः चन्द्रमामा मान्छे लैजान बनाइएको स्टारशिपको उडान र अवतरण