अन्तरिक्षका वस्तुबारे अध्ययन गर्न यूकेमा ठूलो रडार राख्ने अमेरिकी योजना

पृथ्वी

तस्बिर स्रोत, Getty Images

अमेरिकाले अन्तरिक्षका टाढाका वस्तुहरूको निगरानी गर्न यूकेमा एउटा ठूलो राडार प्रणाली राख्न चाहेको छ।

अमेरिकाको अन्तरिक्षसम्बन्धी बलले विकास गरिरहेको एउटा विश्वव्यापी प्रणालीले ३६,००० किलोमिटर परसम्मका सम्भावित 'निशानालाई' पहिचान गर्ने बताइएको छ।

अन्तरिक्षको त्यस्तो भित्री भागमा धेरै सैन्य भूउपग्रहहरू राखिएका छन्।

अमेरिकाले त्यस्तो प्रणाली टेक्सस र अस्ट्रेलिया पनि राख्ने योजना बनाएको छ।

किन यस्तो प्रणाली?

अमेरिकी रक्षा मन्त्रालयले नयाँ रडारको क्षमताले अन्तरिक्षलाई 'अझ बढी सुरक्षित' गराउने जनाएको छ।

अन्तरिक्षमा भूउपग्रहहरू धेरै हुँदा भिडभाड बढेको साथै शस्त्रको प्रतिस्पर्धा बढिरहेको भनिएका बेला अमेरिकाले यस्तो चाहेको हो।

अमेरिका र यूके दुवैले रुस र चीनलाई भूउपग्रहलाई हानि पुर्‍याउन सक्ने हतियार विकास गरिरहेको आरोप लगाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकाको अन्तरिक्ष अभियान

गतवर्ष मात्र १,००० भन्दा धेरै नयाँ भूउपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण गरिएका थिए।

तीमध्ये १० भूउपग्रह अमेरिकी सेनाका थिए।

विकास हुँदै गरेको रडार

डीएआरसी भनिने अन्तरिक्षको निकै टाढासम्म निगरानी गर्ने परिष्कृत रडार क्षमताको विकास यूएस स्पेस एण्ड मिसाइल सिस्टम्स सेन्टरमा भइरहेको छ।

क्यालिफोर्नियामा रहेको उक्त केन्द्रमा रक्षामन्त्री बेन वालेस र यूकेका रक्षा प्रमुखले यसै साता भ्रमण गरेका थिए।

उनीहरूले इलोन मस्कको अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्ससँग समेत बैठक गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गरिन्छ अन्तरिक्षमा शौच

अमेरिकी अन्तरिक्ष बलका लेफ्टिनेन्ट कर्णेल ज्याक वालकरले अमेरिकाले त्यस्ता रडारहरू 'स्कटल्याण्ड वा थप दक्षिणतर्फ' राख्नेबारे यूकेसँग छलफल गरिरहेको बताएका छन्।

उनले त्यस्तो रडाल प्रणालीका लागि एक वर्गकिलोमिटरको क्षेत्रफल चाहिने बताए।

कोबाट खतरा छ?

कर्णेल वालकरले त्यस्तो प्रणालीको उद्देश्य 'उच्च मूल्यका सम्पत्तिमा पर्न सक्ने सम्भावित जोखिमको पहिचान गर्दै निशाना साँध्ने रहेको' बताएका छन्।

उनले भने, "त्यो भनेको चिनियाँ पनि हुन सक्छन्, रुसी पनि हुन सक्छन् वा त्यो भूउपग्रहविरोधी वा अन्तरिक्षको भग्नावशेष पनि हुनसक्छ।"

अमेरिकाको क्षेप्यास्त्र पहिचान गर्न अन्तरिक्षमा एउटा पूर्वसूचना प्रणाली छ।

तर उक्त रडार प्रणालीले २०,००० किलोमिटर टाढाको वस्तु मात्र पहिचान गर्न सक्छ।

तर नयाँ डीएआरसी प्रणालीले एउटा फुटबल मैदान जत्रो आकारका वस्तु अझ परसम्म हेर्न सक्नेछ।

यूकेको रक्षा मन्त्रालयका एक प्रवक्ताले भने: "वस्तुहरू पत्ता लगाएर र निगरानी गरेर हाम्रो भूउपग्रह प्रणालीलाई सुरक्षा प्रदान गर्न सहयोग गर्ने र अन्तरिक्षलाई थप सुरक्षित बनाउने क्षमता नयाँ रडारमा छ।"

"हामी अमेरिकासँग डीएआरसीका विषयमा साझेदारीका लागि सम्भावना खोज्दै छौँ र अहिलेसम्म छलफल सकारात्मक छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, नासाले १० वर्ष खिचेका सूर्यका करोडौँ तस्बिर