स्पेसएक्स नासा मिसन: ऐतिहासिक मिसनमा रहेका अन्तरिक्षयात्री अन्तरिक्ष केन्द्र प्रवेश

अन्तरिक्षयात्री

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को टोलीसँग डग हर्ली र बब बेन्कन
    • Author, ‏जोनाथन एमस
    • Role, बीबीसी विज्ञान संवाददाता

अमेरिकी अन्तरिक्षयात्री डग हर्ली र बब बेन्कन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) प्रवेश गरेका छन्।

निजी स्पेसएक्स कम्पनीले सञ्चालन र उपलब्ध गराएको उनीहरूको ड्र्यागन क्याप्स्यूल - चीनबाट ४२२ किलोमिटरको दूरी माथि रहेको अवस्थामा सो अन्तरिक्ष स्टेशनमा जोडिएको थियो।

चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतीक्षा गरेपछि, पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन उनीहरू स्टेशनमा उत्रिएका थिए।

हर्ली र बेन्कनले शनिवार फ्लोरिडाबाट प्रक्षेपण गरेका थिए।

नौ वर्षअघि अमेरिकी अन्तरिक्ष संस्था नासाको शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द भएपछि अमेरिकी भूमिबाट अन्तरिक्षयात्रीलाई पठाइएको यो पहिलोपटक हो।

नासाले शटल्सले सन् २०११ मा काम गर्न बन्द गरेयता मानवसहित अन्तरिक्ष यात्राका लागि रुसी रकेटहरूको प्रयोग गर्दै आएको छ।

यो मिसनमार्फत् नासाले आफ्नै अन्तरिक्षयान नभइ व्यावसायिक क्षेत्रबाट भाडामा प्रयोग गर्ने नयाँ युगको थालनी गरेको सङ्केत गरेको छ।

अब नासाले अन्तरिक्षकेन्द्रसम्म पुग्ने र फर्कने अमेरिकी अन्तरिक्षयान किन्ने वा सञ्चालन गर्ने छैन।

यस्ता काम क्यालिफोर्नियास्थित स्पेसएक्स अफ हथ्रोन जस्ता कम्पनीले मात्रै गर्छन् जसको नेतृत्व अर्बपति इलोन मस्कले गरेका छन्।

ड्र्यागन आईएसएसमा जोडिएको पुष्टि आइतवार १४:१६ जिएमटीमा भएको हो।

स्पेसएक्स फाल्कोन केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण भएको १९ घण्टापछि अन्तरिक्ष केन्द्र पुगेको थियो।

Crew

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, आईएसएस प्रवेश गर्नुअघि डग हर्ली र बब बेन्कन

दुई यानहरू जोडिने प्रक्रिया पूर्ण रुपमा स्वचालित हुन्छ; हर्ली र बेन्कन त्यसमा सहभागी भइरहनु पर्दैन - तर उनीहरूले नियमअनुसार चलाएर अभ्यास गरेका थिए।

ड्र्यागन र आईएसएसबीचको ढोका १७:०२ जीएमटीमा खुलेको थियो। हर्ली र बेन्कनले तैरिँदै आईएसएसका कमाण्डर तथा नासाका अमेरिकी अन्तरिक्षयात्री र रुसी अन्तरिक्षयात्रीहरूलाई भेटेका थिए।

"यहाँ आइपुग्दा हामी खुसी छौँ र अब यहाँका कमाण्डरले हामीलाई काम लगाउने छन्। र, आशा छ हामी यहाँ अभ्यस्त हुनेछौँ र धेरै कुरा बिगार्ने छैनौँ ," डग हर्लीले भने।

अर्का अन्तरिक्षयात्री बब बेन्कनले पनि आफूहरूले राम्ररी आराम गरेको भन्दै थप कामका लागि तयार रहेको बताए।

"हामी सात घण्टा वा त्यस्तै समय राम्ररी सुतेका छौँ," उनले टेक्ससस्थित मिसन कन्ट्रोलसँगको रेडियो सम्पर्कमा भने।

"पहिलो रात जहिले पनि थोरै चुनौतीपूर्ण नै हुन्छ, तर ड्र्यागन काइदाको यान थियो, र हावाको प्रवाह पनि राम्रो थियो र रात उत्कृष्ट भयो। हामी फेरि पृथ्वीको कक्षमा हुन आतुर छौं।"

यसअघि यो अन्तरिक्ष यात्रा बुधवारका लागि तय गरिएको थियो तर खराब मौसमका कारण त्यो दिन अन्तिम समयमा पर सारिएको थियो।

बेन्कन र हर्ली

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, बेन्कन र हर्ली शटल इन्डिभरमा पनि सहभागी थिए

नासाका प्रशासक जीम ब्रिडेन्स्टाइनले उनीहरू दुवैलाई राम्रो काम गरेका प्रति बधाई दिए: "यो मिसनलाई पूरै विश्वले देखेको छ र हाम्रो देशका लागि तपाईँहरूले गरेको र खासमा पूरै विश्वलाई प्रेरित गरेकोमा हामी निकै गौरवान्वित छौँ।"

स्पेसएक्स कम्पनीले गतवर्ष नै स्वचालित प्रक्रियाका भरमा मानवरहित एउटा यान प्रक्षेपण गरेको थियो तर मानवसहितको यसरी गरिएको यो अन्तरिक्ष यात्रा पहिलो हो।

इलोन मस्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अर्बपति इलोन मस्कको स्पेसएक्स कम्पनी भाडाको यान प्रस्ताव गर्ने पहिलो कम्पनी हो

मिसनका क्रममा हर्ली र बेन्कनको काम भनेको सबै प्रणालीको जाँच गर्नु र त्यसबारे इन्जिनियरहरूलाई के कस्तो छ भनेर जानकारी दिनु हो।

उनीहरू आईएसएसमा कति समय बस्छन् भन्ने त्यस्तो यकिन छैन तर सायद चार महिनासम्म बस्न सक्छन्।

त्यो अवधिमा उनीहरू अहिलेको आईएसएस एक्सपिडिसन ६३ दल का सदस्य बन्छन् र उनीहरूले त्यहाँको दैनिक गतिविधिमा भाग लिन्छन्।

हर्ली र बेन्कनलाई सन् २००० मा छानिएको थियो र उनीहरू दुवै यसअघि दुई-दुईपटक अन्तरिक्ष गइसकेका छन्।

आईएसएसका कमाण्डर क्रिश क्यासिडीले उनीहरू पुगेपछि ठट्टा गर्दै आइतवार पुगेकाले शनिवार गरिने सरसफाइको अवसर गुमाएको बताए।