नासा स्पेस एक्स प्रक्षेपण: अन्तिम समयमा रोकियो भाडाको यानमा अन्तरिक्ष केन्द्र पुग्ने यात्रा

तस्बिर स्रोत, Jane O'Brien/BBC
निजी क्षेत्रले पहिलोपटक प्रक्षेपण गर्न लागेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फको मानवसहितको अन्तरिक्ष यात्रा अन्तिम समयमा खराब मौसमका कारण पर सारिएको छ।
प्रक्षेपणको १६ मिनेट अघि चट्याङहरू परिरहेको मौसमी कारण देखाउँदै द स्पेश-एक्स फाल्कोन नाइन रकेटको यात्रा रोकिएको थियो।
शनिवार पुन: फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाटै प्रक्षेपणको अर्को प्रयास हुँदैछ। त्यसबेला पनि अनुकुल मौसम नपाइए आइतवार तेस्रो प्रयास गरिने जनाइएको छ।
कस्तो मिसन?
यो मिसन ९ वर्षपछि अमेरिकी भूमिबाट हुने पहिलो मानवसहितको अन्तरिक्ष यात्रा समेत हुँदैथियो।
तर गतवर्ष नै स्पेस एक्स कम्पनीले स्वचालित प्रक्रियाका भरमा मानव रहित एउटा क्रु ड्र्यागनको प्रक्षेपण गरेर त्यसलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग जोड्न सफल भएको थियो।
बुधवार प्रक्षेपण हेर्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प समेत फ्लोरिडा पुगेका थिए।

तस्बिर स्रोत, NASA/Bill Ingalls
अन्तरिक्ष केन्द्र जान लागेका दुई अमेरिकी अन्तरिक्षयात्री बब बेन्कन र डग हर्लीले कोरोनाभाइरसको कुनै सङ्क्रमण नहोस् भनेर यसअघिको पन्ध्र दिन एकान्तवास गरेका थिए।
प्रक्षेपणको समय बुधवार स्थानीय समय अनुसार दिउसोको ४ बजेर ३३ मिनेटका लागि तय गरिएको थियो।
तोकिएको समयमै ड्र्यागन क्रु क्याप्सुल बोकेको स्पेश-एक्स फाल्कोन नाइन रकेट प्रक्षेपण नभए त्यसले अन्तरिक्ष कक्षमा घुमिरहने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई भेट्टाउन सक्दैनथ्यो।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र प्रतिघण्टा २७ हजार किलोमिटरको गतिमा पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ।
आकर्षण
यस मिशनमा धेरैको ध्यान खिचिएको थियो।
त्यसको कारण सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री नपठाउनु रहेको थियो।
त्यसयता अमेरिका अन्तरिक्ष केन्द्रमा आफ्ना अन्तरिक्ष यात्री पठाउने रुसको 'सोयुज रकेट एन्ड क्याप्स्यूल' प्रणालीमा निर्भर रहँदै आएको थियो।
यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभइ अरूको भाडामा लिएर उड्न लागेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो।

तस्बिर स्रोत, SPACEX
अन्तरिक्ष यात्री लैजान लागेको स्पेश एक्स कम्पनीले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछ।
अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रशासक जीम ब्रिडेन्स्टाइनले आफैँ प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मङ्गल ग्रह जाने मिसनका लागि पैसा वचत गर्ने आफूहरूले सोचेको बताएका छन्।








