अन्तरिक्षबाट पृथ्वी फर्किने क्रममा ध्वस्त चिनियाँ रकेटका टुक्राहरू 'हिन्द महासागरमा खसे'

चिनियाँ रकेट

तस्बिर स्रोत, Getty Images

पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको एउटा चिनियाँ रकेटका अवशेषहरू हिन्द महासागरमा खसेको चीनले बताएको छ।

उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको थियो। तर केही भाग ७२.४७° पूर्व र २.६५° उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त स्थान माल्दिभ्सबाट पश्चिमतिर पर्छ।

अमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको लङ मार्च-५बी रकेटको अनुगमन गरिरहेका थिए।

चिनियाँ सञ्चारमाध्यमका अनुसार रकेटका केही भागहरू बेइजिङको स्थानीय समयानुसार आइतवार १०:२४ बजे वायुमण्डलमा पुनः प्रवेश गरेका थिए।

अमेरिकाको स्पेस कमान्डले एउटा विज्ञप्तिमा आफूले "चिनिया लङ मार्च-५बी अरेबियन प्रायःद्वीपमाथि पुन: प्रवेश गरेको पुष्टि गर्न सकेको'' जनाएको छ।

Map: Image shows the approximate landing point of the rocket
1px transparent line

रकेटका अवशेषहरूले जमिनमा प्रभाव पारे कि पानीमा भन्ने विषयमा भने आफूहरू "अनभिज्ञ" रहेको उक्त निकायले जनाएको छ।

रकेट वायुमण्डलमा फर्किनुअघि त्यसका भागहरू मानिसहरू बसोबास गर्ने क्षेत्रमा खस्लान् भन्ने चिन्ता उत्पन्न भएको थियो।

अन्तरिक्षसम्बन्धी विषयका विज्ञहरूले भने पृथ्वीको निकै ठूलो सतह समुद्रले ओगटेको र धेरै भूभागमा बसोबास नरहेका कारण रकेटका टुक्रा कसैलाई लाग्न सक्ने सम्भावना निकै कम रहेको अनुमान गरेका थिए।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन।

चिनियाँ रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको थियो।

यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तरिक्षमा पृथ्वीलाई घुमिरहेका २०० जोखिमयुक्त मानवनिर्मित वस्तु