चीनको अनियन्त्रित रकेट पृथ्वीमा खस्ने खतरा

चीन रकेट

तस्बिर स्रोत, CCTV via Reuters

एउटा चिनियाँ रकेट अनियन्त्रित रूपमा पृथ्वीमा खस्न लागेको छ र वैज्ञानिकहरूलाई हालसम्म यो कहाँ खस्छ भन्ने यकिन थाहा छैन।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। तर अबको केही दिनमा २१ टनको लङ मार्च ५बी रकेट त्यसरी पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने सबैभन्दा ठूलो वस्तु बन्ने छ।

सो रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको छ। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो।

अहिले यो रकेट प्रतिघण्टा २७,६०० किलोमिटरको गतिमा पृथ्वी वरपर घुमिरहेको छ।

बीबीसीका विज्ञान सम्वाददाता जोनाथन एमोसका अनुसार यसको स्थान भूमध्यरेखाको ४१ डिग्री उत्तर र दक्षिणबीच छ। यो पृथ्वी घुम्दा उत्तरमा न्यूयोर्क, इस्तानाबुल र बेइजिङमाथि एवं दक्षिणमा वेलिङ्गटन र चिलेमाथि पर्छ।

उनले भन्छन्, "यदि तपाईँ भूमध्यरेखाको दुवैतर्फ ४१ डिग्रीभन्दा बाहिर बस्नुहुन्छ भने यो तपाईँमाथि खस्दैन।"

"तर यसको क्षेत्रमा रहनुभएको छ भनेपनि तपाईँमाथि यो खस्ने सम्भावना एकदमै कम छ किनभने पृथ्वीको ७० प्रतिशत भूभाग समुद्र छ र यदि केही गरि यो वायुमण्डलमा जलेर नष्ट भएन भने पनि यो पानीमा पर्ने सम्भावना धेरै छ।"

चीन रकेट

तस्बिर स्रोत, Getty Images

सन् २०२० मेमा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए।

अहिलेको रकेट भने मे १० को वरपर खस्ने अनुमान गरिएको छ। यो कहाँ खस्छ भन्ने वैज्ञानिकहरूले पृथ्वीमा आइपुग्ने एक घण्टा अगाडि मात्रै थाहा पाउने छन्।

अमेरिकी सरकारको अनुदानमा सञ्चालन हुने एक संस्थाले अन्तरिक्षमा रहेका करिब २६ हजार मानवनिर्मित वस्तुहरूको तथ्याङ्क राख्छ।

टेक्सस विश्वविद्यालयका प्राध्यापक मोरिबा जह भन्छन्: "ती वस्तुहरू मोबाइल फोनको आकारदेखि अन्तरिक्ष स्टेसन जत्रा सम्मका छन्। तीमध्ये ३,५०० काम गरिरहेका भूउपग्रह छन् बाँकी जम्मै कवाडी हुन्।"

ग्राफ

तस्बिर स्रोत, AstriaGraph/Moriba Jah

जहका अनुसार अन्तरिक्षमा भएका ती वस्तुहरू काम गरिरहेका भूउपग्रहसँग ठोक्किने मात्रै होइन, २०० जति ठूलो आकारका वस्तुहरू 'बम जस्ता' हुन्।

"हाम्रा लागि मौसम, स्थान जानकारी वा समय जस्ता काम लाग्ने सूचना दिने भूउपग्रहहरू कुनै पनि बेला अर्को वस्तुसँग ठोक्किएर काम नगर्ने हुन सक्छन्। यसले हाम्रो दैनिक जीवनलाई नै असर गर्न सक्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा यसरी भयो रकेट परीक्षण