चन्द्रमाबाट ल्याइएको माटोमा पहिलो पटक बिरुवा उमारियो

चन्द्रमाको माटोमा उमारिएका बिरुबा

तस्बिर स्रोत, UF/IFAS

तस्बिरको क्याप्शन, चन्द्रमाको माटोमा बिरुवा अङ्कुराएको देख्दा वैज्ञानिकहरू दङ्ग परेका छन्

वैज्ञानिकहरूले चन्द्रमाबाट ल्याइएको माटोमा पहिलो पटक बिरुवा उमारेका छन्।

यसलाई चन्द्रमामा लामो समयसम्म मानिस बस्न सम्भव हुने बनाउने प्रयासमा एउटा महत्त्वपूर्ण कदम मानिएको छ।

सन् १९६९ देखि १९७२ सम्मका एपोलो अभियानका क्रममा सङ्कलित धुलोमा अनुसन्धानकर्ताहरूले एक प्रकारको वनस्पतिको बीज रोपेका थिए।

उनीहरूलाई दङ्ग पार्नेगरी चन्द्रमाको माटोमा दुई दिनपछि नै उक्त वनस्पति उम्रियो।

"हामी कति छक्क पर्‍यौँ भन्ने म तपाईँलाई बताउनै सक्दिनँ," उक्त प्रयोगबारे एउटा वैज्ञानिक शोधपत्रकी सहलेखिका एना-लिजा पोलले भनिन्।

उनका अनुसार चन्द्रमाबाट सङ्कलित माटो र सामान्य माटोमा उमारिएका बिरुवाहरू झन्डै छ दिनसम्म उस्तै देखिए।

त्यसपछि भने तिनमा भिन्नता देखा पर्न थाल्यो।

चन्द्रमाको माटोमा उम्रिएका बिरुवाहरू कम कतिमा बढ्न थाले र ती ठूला भएनन्।

तर शोधमा संलग्न वैज्ञानिकहरूले यसलाई ठूलो उपलब्धि मानेका छन्। उनीहरूका अनुसार यसको लौकिक महत्त्व पनि छ।

चन्द्रमाको माटोमा उमारिएको बिरुवा

तस्बिर स्रोत, UF/IFAS

"यो अनुसन्धान नासाको दीर्घकालीन मानव अन्वेषणका उद्देश्यहरूका लागि महत्त्वपूर्ण छ," नासाका प्रमुख बिल नेल्सनले भने।

"किनभने भविष्यमा अन्तरिक्षमा बस्ने तथा काम गर्ने अन्तरिक्षयात्रीका लागि खानाको स्रोत विकास गर्न हामीले चन्द्रमा र मङ्गल ग्रहमा पाइने स्रोत प्रयोग गर्नुपर्ने हुन्छ।"

वनस्पति उमार्ने उक्त आधारभूत अनुसन्धान नासाले कसरी कृषिसम्बन्धी नवप्रवर्तन खोज्न काम गरिरहेको छ भन्ने एउटा उदाहरण भएको उनले बताए।

त्यसले पृथ्वीमा खानेकुराको अभाव भएका ठाउँमा वनस्पतिहरूले कसरी दबावमूलक परिस्थितिमा विजय पाउँछन् भन्ने बुझ्न सघाउने उनको भनाइ छ।

तर अनुसन्धानकर्ताहरूसँग एउटा चुनौती पनि छ।

त्यो के हो भने वैज्ञानिक प्रयोग गर्नका लागि उनीहरूसँग चन्द्रमाको माटो पर्याप्त परिमाणमा छैन।

सन् १९६९ देखि तीन वर्षको अवधिमा नासाका अन्तरिक्षयात्रीहरूले चन्द्रबाट ३८२ केजी चट्टान, भित्रीभागका नमुना, गिट्टी र चन्द्रमाको सहतबाट बालुवा र धुलो ल्याएका थिए।

यूनिभर्सिटी अफ फ्लोरिडाका वैज्ञानिकहरूको टोलीलाई दशकौँदेखि थन्क्याएर राखिएको नमुनाबाट एउटा वनस्पतिलाई एक ग्रामका दरले अलिकति माटो दिइएको थियो।

नासाले सन् १९७२ पछि पहिलो पटक सन् २०२५ मा चन्द्रमामा मानव पठाउने योजना बनाएको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, हब्बलले खिच्यो सबैभन्दा टाढा रहेको ताराको तस्बिर