चीनले चन्द्रमामा उमारेका बिरुवा रातको चिसो खप्न नसकेर मरे

तस्बिर स्रोत, AFP/CHONGQING UNIVERSITY
चन्द्रमामा चीनको अन्तरिक्ष अभियानले उमारेका कपासका टुसाहरू मरेका चिनियाँ वैज्ञानिकहरूले बताएका छन्।
अन्तरिक्ष अभियान चांग'अले लिएर गएका बीउहरू टुसाएको भन्दै चीनले मङ्गलवार तस्बिरहरू सार्वजनिक गरेको थियो। तर चन्द्रमामा गरिएको जैविक अनुसन्धानको यो उपलब्धि सार्वजनिक गर्दा ती टुसाहरू मरेको जानकारी भने उसले दिएको थिएन।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो। तर चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक थियो।
चन्द्रमामा रात पर्दा ती साना बिरुवाहरू मरेका बताइएको छ।
विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि राति बिरुवाहरूले घटेको तापक्रम खप्न नसकेका र ती मरेका सो प्रयोगको योजना बनाउने एक वैज्ञानिकले चिनियाँ समाचारसंस्था सिन्ह्वालाई बताएका छन्।
माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्कनलाई उपयुक्त हुने अवस्थामा कायम राख्नु सबैभन्दा ठूलो चुनौती मानिएको छ।
यस्तो प्रयोग किन?
साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारमा चन्द्रमामा बीउ उमार्ने प्रयोगको नेतृत्व गर्ने एक प्राध्यापकलाई उद्धृत गर्दै तोरी र आलुका बीउहरू पनि उमारिएको उल्लेख छ।
यो प्रयोगलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ।
चीनको चांग'अ फोर नामको अन्तरिक्षवाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो।
उक्त यान गत जेनुअरी ३ का दिन चन्द्रमाको पृष्ठभागमा अवस्थित क्षेत्रको भौगोलिक अनुसन्धान गर्न उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो।
चन्द्रमामा बिरुवा उमार्न सकिने अवस्था, साढे दुई वर्ष समय लाग्ने मङ्गल ग्रहतर्फको यात्रा जस्ता भविष्यमा हुने लामो दूरीका अन्तिरक्ष अभियानहरूका लागि निकै महत्त्वपूर्ण हुनसक्छ।
यो सफलताको अर्थ अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष यात्रामा रहेका बेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो।
त्यसो हुन सकेमा अन्तरिक्षयात्रीहरूले खानेकुरा लिनकालागि बारम्बार पृथ्वीमा फर्कनुपर्ने छैन।
चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्षवाहनले कपास र आलुका बीउसहितको माटो, मर्चा र एक प्रकारको झिङ्गाको अण्डा लगायतका वस्तु लिएर गएको थियो।
कसरी उमारिन्छ बीउ?
चन्द्रमामा बिरुवा उमार्न चन्द्रवाहनमा बाहिरबाट केही पनि पस्न नसक्नेगरी बन्द गरिएको सिसाको भाँडोमा बीउ राखिएको थियो।

तस्बिर स्रोत, TWITTER/CGTNOFFICIAL
उम्रिएका बिरुवाले त्यस्तो भाँडाभित्र सूक्ष्मजैविक मण्डलको सिर्जना गर्छन् र त्यस्तो कृत्रिम वातावरणमा ती आफै हुर्कन्छन्।
अठार सेन्टिमिटर अग्लो र तीन केजी तौल भएको त्यस्तो कृत्रिम जैविकमण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए।
उक्त प्रयोगात्मक भाँडामा सूक्ष्मजीवाणुहरूलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध छ।









