पर्सिड्स: राति उल्कापात भएको रमणीय दृश्यावलोकन गर्ने यस्तो छ तरिका

तस्बिर स्रोत, Getty Images
धूलो र फोहर भएको ठाउँमा कसलाई हिँड्न मन हुन्छ र? तर कहिलेकाहीँ त्यस्तो जम्काभेटको प्रभाव विशिष्ट पनि हुन सक्छ।
यो महिना अन्तरिक्षमा फोहरमैलाको बाक्लो बादल छिचोल्दै पृथ्वी अघि बढ्दा हाम्रा रात्रिकालीन आकाश पर्सिड्स भनिने वार्षिक उल्कापातका कारण रमणीय हुनेगरी प्रकाशित हुनेछ।
यो वर्षको पर्सिड्स उल्कापात अगस्ट १२ र १३ का बीचमा उत्कर्षमा पुग्नेछ। त्यतिबेलाको दृश्य विश्वका सबै भूभागबाट देख्न सकिनेछ। उत्तम दृश्य चाहिँ उत्तरी गोलार्धबाट देखिनेछ।
तर त्यति नै बेला चम्किने पूर्णिमाको जूनका कारण यो वर्षको उक्त उल्कापात पोहोरको जति मनोरम नहुन सक्छ।
"दृश्यपान गर्न उत्सुक व्यक्तिहरूका निम्ति दु:खको कुरा के छ भने यो वर्षको पर्सिड्सको उत्कर्ष अलि कुबेला हुनेछ," अमेरिकी अन्तरिक्ष निकाय नासाको मिटिअरोइड इन्भाइरन्मन्ट अफिसका प्रमुख एवं खगोलशास्त्री बिल कुकले भने।
कुकका अनुसार चन्द्रमाको प्रकाशसँग प्रतिस्पर्धा हुने भएकाले उत्तरी गोलार्धका मानिसहरूले अलि कमै सङ्ख्यामा 'तारा खसेको' देख्नेछन् - घण्टामा ५०-६० को तुलनामा १०-२० मात्रै।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
अमेरिकी अन्तरिक्ष निकायले ट्वीट गर्दै अगस्ट १२ वा १३ तारिख आ-आफ्नो स्थानीय समयानुसार मध्यरातपश्चात् आकाश हेर्दा चम्किला उल्कापिण्डहरू देख्न सकिने उल्लेख गरेको छ।
के हो पर्सिड्स?

तस्बिर स्रोत, Getty Images
यो सबै स्विफ्ट-टटल धूमकेतुबाट सुरु हुन्छ। पृथ्वीले जसरी नै त्यसले पनि सूर्यलाई परिक्रमा गर्छ तर १३३ वर्ष लगाएर अनि त्यसको कक्ष कोणात्मक छ।
"के हुन्छ भने प्रत्येक वर्ष परिक्रमाको क्रममा पृथ्वी उक्त धूमकेतुको कक्षमा पुग्छ जहाँ उक्त धूमकेतुले छाडेर गएका धूलो र फोहर हुन्छन्," रोयल म्यूजीअम ग्रीनीचका खगोलशास्त्री एड्वार्ड ब्लूमरले भने।
त्यस्तो धूलो र फोहरमा भएका बरफका टुक्रा तथा चामलका दानाजत्रा चट्टानका टुक्रा पृथ्वीको वायुमण्डलको माथिल्लो तहमा ठोक्किन्छ। "त्यसो हुँदा आकाश चम्किनेछ - सम्भवतः केही सेकेन्ड वा अझ कम निमेषका निम्ति मात्र," ब्लूमरले भने।
पर्सिड उल्कापातको विशेषता के हो भने यो एउटा निश्चित परिघटना हो। "प्रत्येक वर्ष अगस्टको मध्यतिर यसको गतिविधि उच्च हुन्छ तर जुलाई अन्त्यतिरदेखि नै आकाशमा यसका झलक देख्न सकिन्छ," उनले भने।
यो दृश्य नाङ्गो आँखाले नै देखिन्छ। पटकपटक रात्रिकालमा आकाश हेर्दा कहिलेकाहीँ यसको दृश्यपान गर्ने अवसर मिलिहाल्छ।
कहिलेकाहीँ कुनै धूमकेतुले छाडेर गएको ठूलो आकारको चट्टान देखा पर्न सक्छ। "तपाइँ भाग्यमानी हुनुहुन्छ भने आगोको गजबको मुस्लो झरेको दृश्य देख्न सक्नुहुन्छ," ब्लूमरले भने।
वर्षौँदेखि निरन्तर आकाश नियाल्दै आएका उनी आफूले समेत त्यस्तो दृश्य जम्मा एक पटक त्यो पनि सानो क्षणका लागि देखेको बताउँछन्।
यो खगोलीय घटना कति महत्त्वपूर्ण?

तस्बिर स्रोत, Getty Images
"एकदमै," ब्लूमरले भने, "सबै बत्ती निभाएर आकाशतर्फ हेर्नुहोस्।"
"एकदमै," ब्लूमरले भने, "सबै बत्ती निभाएर आकाशतर्फ हेर्नुहोस्।"
पर्सिड्स भनेको खासमा प्रकृतिको आतिसबाजी नै हो। यो यति सघन हुन्छ कि कुनै अवलोकनकर्ताले एक घण्टामा १०० वटासम्म तारा खसेको देख्न सक्छ।
अनि ढुक्क हुनुहोस्। ती उल्कापिण्डहरू दुई लाख १५ हजार किलोमिटर प्रतिघण्टाको अत्यासलाग्दो वेगमा झर्छन् तर त्यसले तपाईँलाई कुनै खतरा भने हुँदैन।
"मजासँग हेर्नुहोस्, चिसो छ भने यसो ओढ्ने ओढेर आकाशतर्फ दृष्टि लगाउनुहोस्," ब्लूमरले भने।
"साह्रै आनन्ददायी हुन्छ।" अनि यो संसारभरिबाटै देख्न सकिन्छ।


तस्बिर स्रोत, Getty Images
पर्सिड्सः दृश्यावलोकन कसरी गर्ने?
खगोलशास्त्री एड्वार्ड ब्लूमरको सुझाव यस्ता छन्:
- पूर्व-उत्तर-पूर्वतिर खुला आकाश छान्नुहोस्। यदि तपाईँलाई नक्षत्रबारे ज्ञान छ भने शर्मिष्ठा नक्षत्र ( क्यासिओपिआ) छेउको पर्सिअस नक्षत्र भएको ठाउँ पत्ता लगाउनुहोस्। त्यसो गर्न तपाईँ मोबाइलमा हुने एपको सहयोग पनि लिन सक्नहुन्छ।
- साँझमै आफू बस्ने ठाउँ तय गर्नुहोस्। ओढ्ने ओछ्याउनेको व्यवस्था मिलाउनुहोस्। सजिलोसँग बस्नुहोस् र पूरै अन्धकार हुन दिनुहोस्। वरपरका सबै बत्ती निभाउनुहोस् र मोबाइल फोन बन्द गर्नुहोस्। प्रकाश प्रदूषण हुन सक्ने सबै थोक बन्द हुनुपर्छ।
- अब आनन्दले प्रकृतिको आतिसबाजी हेर्नुहोस्। एक घण्टामा १०० वटासम्म तारा खसेको देख्न सकिन्छ। भाग्य रहेछ भने आगोको गोला पनि देख्न सक्नुहुन्छ।

किन पर्सिड्स भनिएको हो?

तस्बिर स्रोत, Getty Images
"हामी त्यसलाई पर्सिड्स भन्छौँ किनभने खसेका ताराहरू पर्सिअस नक्षत्रबाट आए जस्तो देखिन्छ," ब्लूमरले भने
विभिन्न संस्कृतिहरूमा यसको विभिन्न नाम दिइएका छन्।
क्याथलिक परम्परामा यसलाई 'सेन्ट लरेन्सको आँसु' पनि भनिन्छ। लरेन्सियस इस्वी संवत् २५८ ताका रोमनहरूद्वारा इसाईहरूविरुद्ध गरिएको दमनमा ज्यान गुमाएका रोम सहरस्थित चर्चका सात सेवकमध्ये एक हुन्।
ती पुराना सेन्टलाई अगस्ट १० मा जिउँदै जलाइएको हुनाले त्यो क्षेत्रको कहानीमा अगस्ट महिनाको मध्यतिर आकाशमा देखिने दृश्यलाई उही आगोको झिल्को भनिने गरिन्छ।
तर रोमनहरूभन्दा धेरै पहिले नै पर्सिया, बेबिलोन, इजिप्ट, कोरिया र जापानमा खगोलशास्त्रसम्बन्धी अद्भुत अभिलेख राखेको पाइएको छ।
पर्सिड्स अवलोकनबारे सबभन्दा पुरानो अभिलेख चीनको हान वंशको शासनकामा राखिएको विश्वास गरिन्छ।
सन् ३६ मा त्यतिखेरका खगोलशास्त्रीहरूले "१०० वटाभन्दा धेरै तारा खसेको" रातहरूका विवरण राखेको पाइएको छ।
यो पनि हेर्नुहोस्










