नेपाल मौसम: वायु प्रदूषणका कारण आकाश धुम्म, वर्षाको सम्भावना कति

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, वायु प्रदूषण तथा अन्य मानवीय गतिविधिका कारण नेपालको विभिन्न स्थानमा अहिले मौसम धूमिल बनेको विज्ञहरूले बताएका छन्। ठूलो वा मध्यम वर्षा नभएसम्म मौसम धुम्म रहने जल तथा मौसम विभागले जनाएको छ।

आगामी केही दिन नेपालको कतिपय स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

विभागले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षा र हावाहुरीको समेत सम्भावना रहेकाले सतर्क रहन चेतावनी समेत दिएको छ।

"तर हल्का वर्षाले प्रदूषण घटाउँदैन। प्रदूषण जम्मा भएको छ, तापक्रम बढ्दो छ, राम्रो हावा चलेको छैन र ठूलो वर्षा भएको छैन। त्यसैले उपत्यकाजस्ता ठाउँहरूमा मौसम धुम्म हुने क्रम निरन्तर केही दिन चल्छ," विभागकी मौसमविद् प्रतिभा मानन्धरले बीबीसीसँग भनिन्।

मौसम किन धुम्म छ?

अर्की मौसमविद् इन्दिरा कँडेलले पनि वायु प्रदूषणका कारण मौसम बिग्रिएको बताइन्।

"सुक्खा मौसममा सबैतिरबाट धुलो वायुमण्डलमा जम्मा हुन्छ। यस समयमा लाग्ने डढेलो, सवारी साधनबाट निस्कने लगायत औद्योगिक धुवाँ पनि त्यहीँ मिसिन्छ र आकाश धुम्म हुन्छ," उनले भनिन्।

"ती प्रदूषण वर्षाले नपखालिएसम्म मौसममा प्रभाव पर्न सक्छ।"

विभिन्न ठाउँबाट भित्रिएको मौसमी प्रणालीका कारण पनि हाल आकाश धुम्म भएको कँडेलले जानकारी दिइन्। वायुमण्डलको माथिल्लो तहमा उच्चचापीय प्रणाली र तल्लो तहमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएको उनी बताउँछिन्।

भारतको राजस्थान, मध्य प्रदेश र गुजरातलगायत स्थानहरूलाई केन्द्र बनाएर, वायुमण्डलको पाँच किलोमिटरभन्दा माथि उच्चचापीय प्रणाली देखिएको हो।

"यो प्रणाली पनि आकाश धुम्मिनुको कारण हुनसक्छ। यो विशेषगरी तापक्रम उच्च हुँदा र सुक्खा समयमा देखिने समस्या हो," उनले भनिन्।

त्यस्तै वायुमण्डलको तल्लो तहमा बङ्गालको खाडी र अरब सागरतर्फबाट चिसोपनसहितको हावा नेपाल प्रवेश गरेकाले पनि मौसम धुम्म भएको मौसमविद्हरू बताउँछन्। यस अवस्थाको अन्त्यका लागि ठूलो मौसमी प्रणाली नेपाल भित्रिनु पर्ने उनीहरूको बुझाइ छ।

वायु प्रदूषणको अवस्था कस्तो?

गत साता आईक्यू एअर नामक स्विस कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्डू विश्वभरिका सर्वाधिक प्रदूषित राजधानी सहरमध्ये छैटौँ स्थानमा छ। राजधानीबाहेक जनसङ्ख्या धेरै भएका सहरी क्षेत्र एवम् अन्य पहाडी क्षेत्रहरूमा समेत प्रदूषणको अवस्था अस्वस्थकर बनेको जानकारहरू बताउँछन्।

काठमाण्डू उपत्यकाजस्तो "खाल्डो"मा भएका सहरहरूमा बादल टम्म परेर बस्ने, हिउँदमा पनि चर्को हावा नचल्ने, मानिसहरूले फोहोर जलाउने, आगो ताप्न मोबिल बाल्नेजस्ता कार्य गर्नुले प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता शङ्कर प्रसाद पौडेलले बताए।

हिउँद सकिएपछिको अवस्थामा भने डढेलोको कारण वायु प्रभावित हुने उनको तर्क छ। "एप्रिल र मे महिना नेपालमा मात्र नभई दक्षिण एशियामै अत्यधिक डढेलो लाग्ने समय हो," उनले भने।

गत वर्ष नेपालका विभिन्न क्षेत्रमा भएको अत्यधिक डढेलोको कारण वायुको गुणस्तर निकै घातक बनेको थियो। त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि केही दिन विद्यालयहरू बन्द गरिएका थिए।

यस वर्ष दैनिक १० देखि १२ वटा डढेलोका घटना देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बीबीसीलाई जानकारी दिए।

"समय अझै बाँकी छ। मानवीय स्तरबाट सचेत नहुने र प्राकृतिक प्रकोप व्यवस्थापनको लागि तयारी नगर्ने हो भने डढेलोको घटना गत वर्षझैँ धेरै हुँदैन भन्न सकिँदैन," वातावरण विभागका प्रवक्ता पौडेलले भने।

व्यवस्थापनका लागि कस्ता छन् योजना?

वायु प्रदूषणको समस्या हरेक वर्ष दोहोरिए पनि त्यसको व्यवस्थापनका लागि बनाइएका कार्ययोजना कार्यान्वयन नभएको जानकारहरू बताउँछन्। वायुको स्तर खस्किँदै गएपछि सरकारले दुई वर्षअघिको हिउँदमा वायु गुणस्तर व्यवस्थापन कार्ययोजना ल्याएको थियो।

उक्त कार्ययोजनामा उद्योग, यातायात, निर्माणको क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरणका लागि सरकारको जिम्मेवारी तय गरिएको थियो। तर उक्त कार्ययोजना व्यावहारिक रूपमा कार्यान्वयन नभएको वातावरणविद् भूषण तुलाधरले बताए।

"फोहोर बाल्ने, आगो लगाउनेजस्ता काम भइरहेकै छन्। त्यसलाई रोक्न बनाइएका कार्ययोजना वास्तविकतामा कार्यान्वयन गर्नुपर्ने हो तर त्यस्तो भएको छैन," तुलाधरले भने।

त्रिभुवन विश्वविद्यालय, वातावरण केन्द्रीय विभागकी प्राध्यापक डा. रेजिना मास्के फोहोर, झारपात बाल्नेजस्ता मानवीय गतिविधिले पनि वायुप्रदूषण नियन्त्रणमा असर गर्ने बताउँछिन्।

"यस्ता कार्य हामीले नगरौँ। सरकारले कति जनालाई रोक्न सक्छ र?" उनले सर्वसाधारण नागरिकको गैरजिम्मेवारीपनतिर इङ्गित गर्दै भनिन्।

सरकारले भने कार्ययोजना प्रभावकारी ढङ्गमा अघि नबढ्नुको कारण कोरोनाभाइरसको महामारीलाई देखाउँदै आएको छ।

हालको अवस्थामा थेग्रिएर बसेको प्रदूषण पखाल्नेगरी वर्षा गराउने प्रणाली भित्रिनुले मात्र राहत दिलाउने मौसम विभागकी मौसमविद् मानन्धरको दाबी छ।

"प्रणाली राम्रो नआएको र वर्षा राम्रो नभएको कारण केही दिन बादल लाग्छ। बादल लागेर तापक्रम कम भएजस्तो देखिए पनि सुक्खापन बढ्दो छ। यसले प्रदूषण अझै बढाउने सम्भावना छ।"

के तीन दिनको मौसम पूर्वानुमान?

मङ्गलवार दिउँसो प्रदेश नं १ का पहाडी भूभागका केही स्थानमा साथै बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने विभागले जनाएको छ। रातको समयमा भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ।

देशका अन्य भूभागमा भने मौसम सफा रहने बताइएको छ।

तराई भेगको तापक्रम केही वृद्धि हुने भएकाले "गर्मीका कारण हुन सक्ने असरबाट बच्न सतर्कता अपनाउन" विभागले सुझाएको छ।

त्यस्तै बुधवार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र राति प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना देखाइएको छ।

बिहीवार दिउँसो प्रदेश नं १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश २ र गण्डकी प्रदेशको भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ। रातको समयमा भने प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।