तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल डढेलो: डढेलोका घटना बढ्न थालेसँगै अधिकारीहरूले गरे यस्तो अपिल
पोहोर यतिखेर नेपालमा सयौँ ठाउँमा एकै पटक ठूल्ठूला डढेलो लागेका थिए।
डढेलोकै कारण पनि वातावरणमा फैलिएको प्रदूषण यति बिघ्न बढ्यो कि देशैभरि चार दिन विद्यालयहरू समेत बन्द गरिए।
यसपालि चाहिँ प्रत्येक दिन १०-१२ ठाउँमा डढेलो लागिरहेको आँकडा आउने गरेको सरकारी अधिकारीहरूले बताएका छन्।
"अचेल हरेक दिन १० देखि १२ ठाउँमा डढेलोका घटना भइरहेका छन्। हावाहुरी र सुक्खा मौसम सुरु भएकाले पोहोरजस्तै विकराल स्थिति नआउला भन्न सकिन्न," राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बीबीसीलाई भने।
अघिल्लो वर्षको तुलनामा यो कम नै भएपनि डढेलो लाग्ने याम अझै केही महिना बाँकी रहेकोले सबैलाई उच्च सतर्कता अपनाउन अधिकारीहरूले अपिल गरेका छन्।
नेपालमा वन डढेलोका घटना खासगरी मंसिरदेखि जेठसम्म हुने गरेको बताइन्छ।
पोहोरको कहालीलाग्दो अवस्था
डढेलोको प्रकोपको हिसाबबाट गत वर्ष दशकौँयताकै सबैभन्दा खराब वर्ष रह्यो।
त्यतिखेर देशैभरि एकैदिन सयौँ ठाउँमा ठूल्ठूला डढेलो लागेका थिए। एकै मौसममा झन्डै ७ हजार जति डढेलोका सानाठूला घटना भएका थिए।
कैयन् दिनसम्म राजधानी काठमाण्डू सहित कतिपय स्थानहरूमा घामै छोपिनेगरि लगातार हानिकारक तुवाँलो समेत लाग्यो।
त्यतिखेर पूर्वदेखि पश्चिमसम्मै डढेलो लागेका थिए। एकै दिन ५०० वटा ठाउँसम्म डढेलोका घटना भएका थिए।
कसरी जोगिने?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले डढेलोको प्रकोप लाग्न नदिन व्यक्ति र समुदायनै सचेत हुनुको विकल्प नभएको बताउँछन्।
"आगो लाग्न नदिन राज्य वा कुनै निकायको भन्दा पनि व्यक्ति र समुदायकै जिम्मेदारी हुन्छ। राज्यका निकायले त घटना भइसकेपछि व्यवस्थापन गर्न मात्र सक्छन्," उनले भने।
त्यसैले डढेलोको मौसममा उनले मानिसहरूलाई निम्न विषयमा सचेत रहन सुझाव दिए:
- आगोसम्बन्धी सानोभन्दा सानो लापरबाही पनि नगर्ने,
- सलाई वा लाइटर चलाउँदा होश पुर्याउने,
- बाहिर वा वनजङ्गलतिर चुरोट खाएर ठुटा फ्याँक्दा ध्यान पुर्याउने,
- पालुवा पलाउँछ भनेर जानाजान आगो नलगाउने,
- गाई चराउन वा गोठालो जाँदा आगो लाग्नसक्ने लापरबाही नगर्ने