तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डढेलोः नेपाल र भारतका जङ्गलमा फैलिएको आगोका कारण वैज्ञानिकहरू चिन्तित
- Author, नवीनसिं खडका
- Role, वातावरण संवाददाता, बीबीसी विश्व सेवा
भारतको उत्तराखण्डस्थित प्रसिद्ध नैनीतालको पृष्ठभूमिका रहेका हरिया पहाडहरूले उक्त ताललाई झन् सुन्दर बनाइदिन्छन्।
तर हप्तौँयता जङ्गलहरूमा लागिरहेको डढेलोका कारण उत्पन्न तुँवालोबाट पहाड ढाकिएका छन् र तालको सुन्दरता पनि घटेको देखिन्छ।
“म तालको जतापट्टि बस्छु त्यताबाट तपाईँ धुवाँको गन्ध थाहा पाउन सक्नुहुन्छ,” सो क्षेत्रका जङ्गलसम्बन्धी विज्ञ शेखर पाठकले भने।
सल्लाका रूखहरू मात्रै उच्च जोखिममा छैनन् बरु बाँझका जङ्गलहरू पनि डढिरेका छन् जसको अर्थ स्थिति एकदम गम्भीर छ भन्ने हो।
डढेलोबाट नराम्ररी प्रभावित क्षेत्रका मानिसहरूले हिजोआज राति निदाउन नसकेको बीबीसीलाई बताएका छन्।
“मध्य राततिर हामी उठ्ने गर्छौँ र डढेलो कतै नजिक त आइपुगेको छैन भनेर हेर्छौँ,” पिठोरागढ जिल्लामा पर्ने बन्ना गाउँका केदार अवानीले भने।
अधिक सङ्ख्यामा डढेलो
उत्तरी भारतका केही भाग र छिमेकी नेपालमा १५ वर्षयताकै शक्तिशाली डढेलो लागेको वैज्ञानिकहरूले बताएका छन्।
युरोपेली सङ्घको कोपर्निकस एट्मस्फेरिक मनिटरिङ सर्भिस (सीएएमएस) का अनुसार उत्तराखण्डमा लागेको डढेलोबाट गत महिनामा मात्र करिब ०.२ मेगा टन कार्बन उत्सर्जन भएको छ।
कार्बन उत्सर्जनको यो मात्रा सन् २००३ यता सबैभन्दा धेरै हो।
भूउपग्रहबाट प्राप्त तस्बिरहरूमा आधारित भई गरिएको विश्लेषणानुसार सोही अवधिमा नेपालमा डढेलोबाट करिब १८ मेगा टन कार्बन उत्सर्जन भएको छ।
“यसले यो क्षेत्रमा लागेको डढेलो स्तरलाई देखाउँछ र त्यो एकदम चिन्ताजनक छ,” सीएएमएसस्थित वरिष्ठ वैज्ञानिक मार्क पेरिङ्टनले बीबीसीलाई भने।
डढेलोका कारण उत्तराखण्ड र नेपालमा गरी अहिलेसम्म करिब २० जनाको ज्यान गइसकेको छ।
हजारौँ हेक्टर जङ्गलमा डढेलो लागेको ठानिएको छ। यद्यपि त्यसबारे आधिकारिक तथ्याङ्क भने सार्वजनिक भइसकेको छैन।
गत महिना नेपालमा एकै दिन ५०० वटाजति डढेलो फैलिएको बताइएको छ।
लामो खडेरी
विगत केही महिनायता उत्तरी भारत र नेपालमा खडेरीको अवस्था छ जसका कारण जङ्गलहरू सुक्खा भएका छन्।
“केही महिनायता न पानी परेको छ न त हिउँ नै। जसका कारण बाँझका जङ्गलहरू पनि डढिरहेका छन्,” पाठकले भने।
यो क्षेत्रका जङ्गलहरूमा मे महिनामा डढेलो लाग्ने गर्छ। अझ नराम्रो समय आउन अझै बाँकी छ भन्ने चिन्ता मानिसहरूमा रहेको पाइन्छ।
हुन त अहिलेका डढेलोका प्रत्यक्ष कारण जलवायु परिवर्तन नभएको वैज्ञानिकहरू बताउँछन् तर जलवायु परिवर्तनले यो क्षेत्रमा सुक्खा चाहिँ निम्त्याएको छ।
अग्नि नियन्त्रण क्षमता
भारतको स्ट्यान्डिङ् फायर एड्भाइजरी कमिटीले गरेको अध्ययनका नतिजामा आधारित भई भारतको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले देशको अग्नि नियन्त्रण क्षमतामाथि प्रश्न उठाइसकेको छ।
अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी वाहनमा ८० प्रतिशतभन्दा बढी समस्या र जनशक्ति आवश्यकताभन्दा ९६ प्रतिशतले कम रहेको उक्त समितिले अध्ययनमा औँल्याएको थियो।
नेपालमा पनि वनसम्बन्धी जानकारहरू सोही प्रकृतिका समस्या देख्छन्।
“जलवायु परिवर्तनसँग सङ्घर्ष गर्नका लागि भन्दै लाखौँ डलर आर्थिक सहयोग आउँछ भन्ने हामी सुन्छौँ, तर डढेलो रोक्ने दिशामा केही भएको देखिँदैन,” सामुदायिक वन उपभोक्ता महासङ्घकी अध्यक्ष भारती पाठकले भनिन्।
तर सीमित स्रोतसाधनको उपलब्धताबीच आफूहरूले सक्दो काम गर्दै आएको नेपालको वन मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल बताउँछन्।
वन क्षेत्र आपपासका बासिन्दाहरूले डढेलो नियन्त्रणमा ठूलो हदसम्म सहयोग गर्न सक्ने भए पनि त्यो दिशामा केही हुन नसकेको विज्ञहरू औँल्याउँछन्।