जलवायु परिवर्तन: डढेलो, चर्को गर्मी र अचानक बाढी - किन मौसमका रेकर्डहरू भङ्ग भइरहेका छन्?

    • Author, फर्नान्डो डुआर्टे
    • Role, बीबीसी विश्व सेवा

डढेलो, प्रचण्ड गर्मी र अचानक आउने बाढीजस्ता गतिविधिले पुराना रेकर्ड भङ्ग गर्दै विश्वभरि विनाश मच्चाइरहेका छन्।

वैज्ञानिकहरू भन्छन्- केही यस्ता उग्र गतिविधिको सम्बन्ध मानवीय गतिविका कारण भएको जलवायु परिवर्तनसँग छ।

अनि, मौसमी गतिविधिलाई पूर्वानुमान गर्न नसकिने अवस्थाप्रति चिन्ता बढ्दो छ।

गत जुलाई १९ मा चिनियाँ सहर जङ्जोमा एउटा तुफान आयो भन्दा त्यसलाई कम आकलन गरिएको मानिन्छ।

त्यहाँ एकैदिनमा ६२४ मिलिमिटर वर्षा भयो। त्यो परिमाण लगभग एक वर्षमा पर्ने पानी बराबर हो।

त्यसका कारण त्यहाँ दुई लाख मानिसलाई उद्धार गर्नुपर्‍यो भने ३३ जनाको ज्यान गयो।

त्यसको एक साताअघि पश्चिमी जर्मनीमा विनाशकारी बाढीले ठूलो क्षति पुर्‍यायो।

त्यहाँ १७७ जनाको ज्यान गयो भने कम्तीमा १०० जना बेपत्ता भए। छिमेकी बेल्जियममा ३७ जनाको ज्यान गयो।

चीनमा जस्तै ती दुई युरोपेली देशमा पनि अस्वाभाविक रूपमा उच्च वर्षा भयो।

ती दु:खद घटनाको एउटा सम्भावित कारण जलवायु परिवर्तन हो भनेर औँला सोझ्याउनेमा जर्मन चान्सलर एङ्गेला मर्कलजस्ता राजनीतिज्ञ मात्र थिएनन्।

"जर्मनीजस्ता विकसित देशमा पनि मृत्युको सङ्ख्या देख्दा मलाई कसरी हाम्रो समाजले विश्वतापमान वृद्धिसँग जुझ्ने तयारी गर्न सकेको रहेनछ भनेर चिन्तित तुल्याउँछ," क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक एवं चर्चित भारतीय जलवायुविज्ञ वीरभदन रामनाथनले भने।

उग्र मौसमी गतिविधिहरू आगामी २० वर्षमा अझै खराब बन्दै जाने उनको मान्यता छ।

"त्यस्ता मौसमी गतिविधिहरू अहिले एकदमै धेरै र बारम्बार भइरहेका छन् र त्यसमा विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको योगदान छैन भन्न गाह्रो छैन," उनले भने।

के जलवायु परिवर्तनलाई साँच्चै दोष लगाउन मिल्छ?

मानवीय कारणले उत्सर्जन हुने ग्रीन हाउस ग्यासद्वारा भएको विश्वतापमान वृद्धि र उग्र मौसमी गतिविधिबीचको सम्भावित सम्बन्धबारे पछिल्ला दुई दशकदेखि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन्।

यद्यपि वैज्ञानिकहरूबीच के साझा धारणा छ भने उग्र मौसमी गतिविधिका प्राकृतिक कारण हुन सक्छन् तर मानवीय गतिविधिका कारण भएको जलवायु परिवर्तनले त्यस्ता घटनाहरू अधिक र तीव्र हुने प्रमाणहरू बढिरहेका छन्।

सन् २०२१ मा विश्वभरि मौसमी घटनाका रेकर्डहरू लगातार भङ्ग भइरहेको स्पष्ट छ।

यो वर्ष अमेरिका र क्यानडामा जुन महिना अहिलेसम्मकै सबैभन्दा बढी तातो भयो।

त्यस बेला विशाल क्षेत्रमा तातो हावा वायुमण्डलको तल्लो सतहमा जमेर बस्यो।

न्याश्नल ओसनिक एन्ड एट्मस्फेरिक एड्मिनिस्ट्रेशनको विवरण अनुसार जुन २४ देखि ३० सम्ममा उत्तर अमेरिकी सहरहरूमा दिउँसोको समयका १,२०० र रातिका १,५०० वटा तापक्रमका रेकर्डहरू भङ्ग भए।

क्यानडामा पनि तापक्रमको नयाँ कीर्तिमान बन्यो। त्यहाँका केही सहरमा तापक्रम ४९.६ डिग्री सेल्सीअस पुग्यो भने जङ्गलमा डढेलो लाग्नुका साथै गाउँहरूमा आगलागी भयो।

दुवै देशले अहिले पनि उच्च तापक्रम र सुक्खाका कारण रेकर्ड तोड्ने खालका डढेलो खेपिरहेका छन्।

क्यालिफोर्नियामा यस वर्ष ४,९०० वटाभन्दा बढी डढेलोका घटना भइसकेका छन्। गत वर्ष ७०० वटा मात्र थिए।

उता मस्कोले १२० वर्षमा सबैभन्दा तातो जुनको अनुभव गरेको छ।

त्यस्तै विश्वकै सबैभन्दा चिसो स्थानमध्येको साइबेरियामा समेत डढेलो देखिएको छ।

भारतको मौसमसम्बन्धी राष्ट्रिय निकायले गत मेमा गत वर्षको अगस्टदेखि हरेक महिना राजधानी दिल्लीले कम्तीमा एउटा मौसमसम्बन्धी रेकर्ड तोडेको जनाएको छ।

त्यसमा उच्च तापक्रमका साथै धेरै वर्षा हुने कुरासम्म छन्।

"यति धेरै रेकर्डहरूले वास्तवमै स्तब्ध पारेका छन्, हामीले यत्रो धेरै आशा गरेका थिएनौँ," रोयल नेदरल्यान्ड्स् मिटिअरलजिकल इन्स्टिट्यूटका मौसमसम्बन्धी अध्ययनकर्ता ग्रीट जोन भान ओल्डेन्बर्ग भन्छन्।

"यो ठूलो समस्या हो, यद्यपि के हामीले यस्तै मात्रामा आएको देखेका थिएनौँ?"

सबै तोडिएका रेकर्ड जलवायु परिवर्तनसँग सम्बद्ध छैनन्

के कुरा थाहा पाउनु जरुरी छ भने सबै उग्र मौसमी घटनाहरू जलवायु परिवर्तनसँग जोडिएका हुँदैनन्।

जलवायु विज्ञानको एउटा शाखा "अट्रिब्यूशन"ले अस्वाभाविक मौसमी घटनका कारण निर्क्योल गर्छ।

उदाहरणका लागि, सन् २०१३ मा यूकेको मेट अफिसका अध्ययनकर्ताहरूले एउटा अध्ययन गरेका थिए।

त्यसमा उनीहरूले सन् २००७ देखि २०१२ सम्मको वर्षायुक्त गीष्मयामका लागि उत्तर एट्लान्टिक महासागरमा प्राकृतिक रूपमा भएको तापक्रम परिवर्तन उत्तरदायी भएको पाएका थिए।

दक्षिण अमेरिकी अध्ययनकर्ताहरूले पनि प्राकृतिक कारणहरूले चरम सुक्खा भएको र त्यसले सन् २०१९-२०२० मा विश्वकै सबैभन्दा ठूलो दलदले क्षेत्रमा डढेलो लागेको पाएका थिए।

विश्वले के गर्न आवश्यक छ?

विश्वभरि देखिएको यस्तो अवस्थाकै बेला आगामी नोभेम्बरमा स्कटल्यान्डमा विश्वभरिका प्रतिनिधिहरू संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा भेला हुँदै छन्।

उनीहरूले त्यहाँ आफ्नो कार्बन उत्सर्जन घटाउने योजनाहरू प्रस्तुत गर्नेछन्।

कैयौँ वैज्ञानिक र राजनीतिज्ञहरू के विश्वास गर्छन् भने विश्वतापमान वृद्धिलाई दुई डिग्रीभन्दा कम र १.५ डिग्री सेल्सीअसमा सीमित गर्ने पूर्वप्रतिबद्धतामा पुनर्विचारको आवश्यकता छ।

"सन् २०३० सम्म तापक्रम १.५ डिग्री सेल्सीअसले बढ्छ नै चाहे हामीले पाँच वर्ष दिऔँ वा हामी जेसुकै गरौँ," प्राध्यापक रामनाथन भन्छन्।

"यो सन् २०४० सम्म जारी रहनेछ र विश्वव्यापी रूपमा चालिने जलवायुसम्बन्धी कदमले त्यसपछि यसमा कमी आउन थाल्नेछ। यदि हामीले अहिले नै काम थाल्यौँ भने चाहिँ… २०४० देखि यो चिसो हुन थाल्नेछ।"