तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतः वायु प्रदूषणबाट कसरी निर्माणको काममा प्रयोग हुने टाएल बनाइँदैछ?
हानिकारक तुवाँलो विश्वभरि खराब स्वास्थ्यको मुख्य कारणमध्ये एक हो। त्यसैले एक भारतीय आविष्कारकले हावामा हुने हानिकारक कालो धूलो निकालेर घर निर्माणमा प्रयोग हुने टाएल बनाएर प्रदूषित वायुलाई सास फेर्न सहज पार्ने अपेक्षा गरेका छन्।
दश वर्षका छँदा मुम्बईका अङ्गद दर्यानी फुटबल खेल्दा सास फेर्न सङ्घर्ष गर्थे। त्यसको कारण सो भारतीय सहरमा प्रदूषणका कारण उत्पन्न धुवाँ थियो।
अत्यधिक प्रदूषित हावाले उनलाई लागेको दमको रोगलाई झन् खराब बनाएको जस्तो देखिन्थ्यो।
''जब म मुम्बईमा घर बाहिर खेल्थेँ, प्रदूषणका कारण सधैँ खोकिरहेको हुन्थेँ,'' २३ वर्षीय दर्यानीले भने।
''हुर्कँदै गर्दा मलाई दम थियो। यसले फुटबल मैदानमा मेरो दौडने क्षमता कम गराएको थियो।''
विश्वकै खराब वायु प्रदूषण
वायु प्रदूषणको तह खराब रहने देशहरूमा भारत पनि पर्छ। विश्वका ३० प्रदूषित सहरमध्ये २२ सहर भारतमा छन्।
भारतको विषाक्त वायुका कारण प्रत्येक वर्ष १० लाखभन्दा धेरै मानिसले ज्यान गुमाउँछन्।
भारतीय सहरहरूमा वायुमा हुने खतरनाक साना प्रदूषकहरू पीएम २.५ को मात्रा धेरैजसो उच्च रहन्छ।
फोक्सो र मुटुसम्बन्धी रोगको कारण यी प्रदूषक तत्त्व रहेको बताइन्छ। यसले मानसिक क्षमता अनि शरीरको रोग प्रतिरोधात्मक क्षमतामा प्रभाव पार्छ।
पीएम २.५ प्रदूषकका कारण सन् २०२० मा भारतको राजधानी नयाँ दिल्लीमा झन्डै ५४,००० ले ज्यान गुमाएको ग्रीनस्पेस साउथइस्ट एशियाले गरेको विश्लेषणमा उल्लेख छ।
''अमेरिकी सहरहरूको तुलनामा भारतमा तपाईँको शारीरिक फुर्ती कम हुन्छ,'' दर्यानीले भने।
''प्रदूषणका कारण तपाईँ बिहान उठ्दा पनि थाकेको महसुस हुन्छ।''
वायु प्रदूषणले तापमान पनि वृद्धि गर्छ।
कालो कार्बन
पीएम २.५ को एउटा मुख्य अंश कालो कार्बन हो जसले कार्बनडाइअक्साइडको तुलनामा सूर्यबाट १० लाख गुणा बढी ऊर्जा खपत गर्न सक्छ।
विज्ञहरूका अनुसार कालो कार्बनजस्ता प्रदूषक घटाउन सकिए यसले विश्वमा तापमान वृद्धि कम गर्न अनि वायुको गुणस्तर बढाउन मद्दत गर्न सक्छ।
वायु प्रदूषणको प्रभाव आफैले भोगेका कारण दर्यानी यस्ता केही उद्यमीहरूमा पर्छन् जसले भारतका आकाश सफा गर्ने अपेक्षा गरेका छन्।
उनले तयार पारेको विकल्प भनेको धुवाँमा हुने धूलो र अन्य प्रदूषक कणहरू निकालेर एउटा कन्टेनरमा जम्मा गर्ने र त्यसबाट टाएल उत्पादन गर्ने हो।
''वायु प्रदूषणका कारण प्रत्येक वर्ष विश्वभर ७० लाख मानिसले ज्यान गुमाउँछन्। तर हामीले यसलाई कोभिड-१९ जसरी गम्भीर रूपमा लिँदैनौँ,'' उनले भने।
नयाँ दिल्लीका मुख्यमन्त्रीले कोरोनाभाइरस बढ्नुको कारण वायु प्रदूषण रहेको बताएका थिए।
पछिल्ला केही अध्ययनहरूले निरन्तर वायु प्रदूषणको उच्च तहले कोभिड-१९ बाट हुने मृत्यु बढाएको हुनसक्ने सङ्केत गरेका छन्।
प्रदूषणका कारण थकान
''भारतमा प्रदूषणका कारण उठ्ना साथ तपाईँ थाक्नुहुन्छ,'' दर्यानीले भने।
''वायु प्रदूषणमा भएको सामान्य वृद्धिले समेत मृत्युमा व्यापक वृद्धि हुन्छ,'' हार्वर्ड विश्वविद्यालयस्थित सेन्टर फर क्लाइमेट, हेल्थ एन्ड ग्लोबल इन्भाइरनमेन्टका निर्देशक आरन बर्नस्टेनले भने।
दर्यानी भारतसँग समय बाँकी नरहेको बताउँदै भन्छन्, "सर्वसाधारणहरूको स्वास्थ्य बिग्रन नदिन भारतले तत्काल प्रदूषण कम गर्नुपर्छ।"
''सबै सवारी विद्युतीय बनाउन कम्तीमा ३० वर्ष लाग्छ। यो समयमा सहरहरूमा वायु प्रदूषणका कारण मानिसहरूलाई गाह्रो हुनेछ,'' उनी भन्छन्।
''हामीले वायु स्थानीय स्तरमा सफा गर्नुपर्छ।''
र समस्याको उनको समाधान सामान्य छ: सस्तो प्रणालीको विकास गर्ने जसले प्रदूषणलाई निकाल्न सकोस् र अन्य केही समान बनाउन प्रयोग गर्न सकियोस्।
वायु शुद्धीकरण
अमेरिकास्थित जोर्जियामा इन्स्टिच्युट अफ टेक्नोलोजीमा अध्ययन गर्दै गर्दा दर्यानीले घरबाहिर हावा शुद्ध गर्ने प्रणाली विकास गरे जसले हावामा रहेका कण र अन्य प्रदूषकहरू निकाल्छ।
उक्त उपकरणले प्रदूषक कणहरू तान्छ र एक कन्टेनरमा जम्मा गर्छ। स्वच्छ हावामा भने केही प्रभाव पर्दैन।
पहिलो उपकरण बनाएपछि दर्यानीले सन् २०१७ मा प्राण नाम गरेको एउटा कम्पनी खडा गरे जसको उद्देश्य सुलभ अनि बहुउपयोगी हावा प्रशोधन गर्ने उपकरण बनाउने थियो।
प्राणको लक्ष्य विश्वको पहिलो फिल्टररहित वायु शुद्धीकरण यन्त्र उत्पादन गर्ने हो।
उक्त कम्पनीले उत्पादन गर्ने १७६ सेन्टिमिटर अग्लो उपकरण सहजै बाटोका बत्ती, अपार्टमेन्ट अनि विद्यालयहरूमा जडान गर्न सकिन्छ।
दुइटा उपकरणको मूल्य भारतमा १३५,००० रुपैयाँमा उपलब्ध आईफोनभन्दा सस्तो रहेको दर्यानी बताउँछन्।
फिल्टररहित वायु शुद्धीकरण यन्त्र
उनका अनुसार घरमा प्रयोग गरिने वायु शुद्धीकरण यन्त्रमा प्रयोग गरिने फिल्टर विकल्प हुन सक्दैन किनभने प्रदूषित सहरमा प्रत्येक दिनजसो त्यो फेर्नुपर्ने हुन्छ।
वायु शुद्धीकरण यन्त्र प्रयोग गर्ने होटेलहरूले फिल्टरमा मात्रै वार्षिक १००,००० अमेरिकी डलर गर्ने गरेको उनी बताउँछन्।
''यो प्रविधिको प्रयोग एशियाभर बढाउन उपकरण फिल्टररहित हुनुपर्ने मैले महसुस गरेँ,'' उनले भने।
कन्टेनरमा थुपारेर राखिएको कार्बन अर्को भारतीय कम्पनी कार्बन क्राफ्ट डिजाइनलाई बेचिन्छ जसले टाएल बनाउनका लागि त्यसको प्रयोग गर्छ।
दर्यानीले बनाएको एउटा उपकरणले प्रति मिनेट ३०० क्युबिक फिट वायु शुद्ध गर्नसक्ने अनि ११,५४० क्युबिक सेन्टिमिटर प्रदूषक भण्डारण गर्न सक्छ।
हावाको प्रदूषणको तहका आधारमा प्रत्येक दुईदेखि छ महिनामा प्रदूषण भण्डारण गर्ने कन्टेनर सफा गर्नुपर्ने हुन्छ।
सस्तो र सुलभ
प्राणले पहिलो चरण पार गरिसकेको छ जुन क्रममा उसले अमेरिकी र भारतीय लगानीकर्ताहरूबाट १५ लाख अमेरिकी डलर पुँजी उठाउन सफल भएको छ।
दर्यानीले शरद ऋतुमा यो रकम विद्यालय, होटेल अनि औद्योगिक परियोजनाहरूमा पाइलट प्रोग्राम सञ्चालन गर्नका लागि प्रयोग गर्ने योजना बनाएका छन्।
उनले यो प्रविधि भारतबाहिर पनि अबका केही वर्षहरूमा पुर्याउने अपेक्षा गरेका छन्।
प्राणको प्रविधिमा दक्षिण कोरिया र मेक्सिकोबाट चासो व्यक्त भएका छन्।
तर यो उपकरण सस्तो होस भन्ने विषय सुनिश्चित गर्नु प्राथमिकता हो।
''विश्वका धेरैजसो प्रदूषित सहरहरू गरिब सहरमध्येमा पर्छन्,'' दर्यानी भन्छन्।
''गरिब मानिसहरू उद्योगमा काम गर्छन्, सडक अनि पूर्वाधार बनाउँछन् र काममा जानका लागि सार्वजनिक सवारीमा निर्भर रहन्छन्। उनीहरू सबैभन्दा प्रदूषित वातावरणमा बस्छन् र काम गर्छन्।''