टी-२० विश्वकप क्रिकेटः उपाधि जित्ने भारतको सपना चकनाचुर हुनुका सात कारण

भारतीय टीम

तस्बिर स्रोत, Michael Steele-ICC

यूएई र ओमानमा जारी आईसीसी टी-२० विश्वकप भारतका लागि एउटा दुस्वप्नजस्तै बन्यो। उपाधि जित्ने लक्ष्य राखेको भारत सेमिफाइनल पनि नपुगी प्रतियोगिताबाट बाहिरिइसकेको छ।

सोमवार बेलुका नामिबियाविरुद्ध भएको खेल पनि औपचारिकतामा मात्रै सीमित रह्यो। नामिबियालाई नौ विकेटले हराएको भए पनि त्यसबाट भारतलाई सान्त्वनाबाहेक अरू केही मिलेन।

भारतको सेमिफाइनलमा पुग्ने अन्तिम सम्भावना आइतवार न्यूजील्यान्डले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेपछि चकनाचुर भएको हो।

उक्त खेल अफगानिस्तानले जितेको भए भारतको अघि बढ्ने सम्भावना कायम रहन्थ्यो।

भारत पनि रहेको समूहबाट सबै खेल जित्दै पाकिस्तानले १० अङ्क बटुल्यो। त्यस्तै न्यूजील्यान्डले पाँचमध्ये चार खेल जितेर आठ अङ्कका साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

कप्तान विराट कोहली, प्रशिक्षक रवि शास्त्री र सल्लाहकार महेन्द्र सिंह धोनीजस्ता धुरन्धरहरूको साथ र सहयोग, त्यस्तै रोहित शर्मा, केएल राहुल, ऋषभ पन्त, जसप्रीत बुमराह र मोहम्मद शमीजस्ता चर्चित खेलाडी भएको भारतीय टोली बलियो देखिन्थ्यो। तर मैदानमा भारतीय टोली लामो समय टिक्न सकेन।

नामिबियासँगको खेल हुनुअघि नै भारतीय राष्ट्रिय क्रिकेट टोलीको मनोबल खस्किसकेको थियो।

भारतीय टोलीका अधिकांश खेलाडीले टी-२० विश्वकप सुरु हुनुअघि तिनै मैदानमा आईपीएल खेलेका थिए। तर ती खेलाडीहरू विश्वकपमा कसरी विफल भए त?

उपाधि जित्ने लक्ष्य लिएको टोलीले सुरुका दुई खेल हार्नेबित्तिकै पूरै भारतको सपना कसरी चकनाचुर भयो?

बीबीसी हिन्दीका लागि आदेश कुमार गुप्तले सात कारणबारे चर्चा गरेका छन् -

१. पाकिस्तानविरुद्धको खेलमा अतिआत्मविश्वासले डुबायो

पाकिस्तानविरुद्ध खेलमा हारेको भारतीय समूह।

तस्बिर स्रोत, Michael Steele-ICC

भारतले यो विश्वकपको आफ्नो पहिलो खेल नै पाकिस्तानविरुद्ध खेलेको हो। त्यसअघि पाकिस्तान सात पटक एकदिवसीय विश्वकप र पाँच पटक टी-२० विश्वकपमा भारतसँग हारेको थियो। भारतीय खेलाडीहरूले सम्भवतः विगतको परिणामबाट पाकिस्तानलाई हराउन सकिन्छ भन्ठानेका थिए।

भारतीय टोली विश्वकपमा पाकिस्तानलाई सधैँ हराउन सकिन्छ भन्ने विश्वासमा थियो। तर त्यसो भएन। पाकिस्तानले भारतलाई १० विकेटले हरायो।

भारतको प्रारम्भिक ब्याट्सम्यानद्वय केएल राहुल र रोहित शर्मा तेस्रो ओभरमा नै खेलबाट बाहिरिँदा भारत हार्ने सङ्केत देखिएको थियो।

पछि विराट कोहलीले ५७ रन बनाए तर टोलीले बनाएको कुल १५१ रन पर्याप्त भएन।

त्यस्तै भारतीय टोलीको बलिङमा पनि कमजोरी देखियो। टोलीले बनाएको रन बलरहरूले तीन-चार विकेट पनि लिन नसक्नेगरी कम थिएन।

पाकिस्तानी बलरहरूले खेलका लागि निकै पहिला निकै अभ्यास गरेका थिए। खेलमा तीन विकेट लिने शाहीन शाह अफ्रिदीले "यो नतिजाको लागि निकै मेहनत गर्नुपरेको" बताएका थिए।

२. न्यूजील्यान्डविरुद्धको खेलमा टोलीमा गरिएको परिवर्तन घातक साबित

विराट कोहली र केन विलियम्सन

तस्बिर स्रोत, Alex Davidson

पाकिस्तानसँग १० विकेटले हारेपछि न्यूजील्यान्डविरुद्धको खेल निकै कठिन भयो। टोलीमा खेलाडी परिवर्तन गर्दै सूर्यकुमार यादवको ठाउँमा ईशान किशन र भुवनेश्वर कुमारको ठाउँमा शार्दूल ठाकुरलाई खेल्ने अवसर दिइयो।

तर टस हारेर भारतीय समूह ब्याटिङका लागि मैदानमा जाँदा केएल राहुलसँग रोहित शर्माको साटो ईशान किशन देखिए।

यस परिवर्तनको कुनै खास असर देखिएन। ट्रेन्ट बोल्टले ईशान किशनलाई मिचेल स्यान्टनरको हातबाट क्याच गराएर मैदानबाट फिर्ता पठाइदिए। उनले आठ बलमा केवल चार रन मात्र बनाउन सके। त्यसपछि मैदानमा आएका रोहित शर्माले पनि खासै चमत्कार देखाउन सकेनन्। उनी पनि १४ रन बनाएर स्पिनर ईश सोढीको सिकार भए।

ब्याटिङ क्रममा गरिएको यो परिवर्तनको असर यस्तो देखियो कि तेस्रो स्थानबाट खेल्ने कप्तान विराट कोहली चौथो स्थानबाट खेल्न पुगे र उनले पनि धेरै बनाउन सकेनन्।

यस्तो परिवर्तन सामान्यतया त्यतिबेला गरिन्छ जब कुनै समूह प्रतियोगितामा आफ्नो स्थान सुरक्षित महसुस गर्छ।

जानकारहरूका अनुसार पनि भारतीय क्रिकेट समूहले लिएको यो कदम घातक साबित हुन पुग्यो। कप्तान विराट कोहलीले पनि प्रतिस्पर्धाभरि भारतीय टोली निकै थाकेको र लाचार देखिएको स्वीकारे।

३. दुई खेल हारेपछि भारत सेमिफाइनलमा नपुग्ने सङ्केत र भारतीय खेलप्रेमीमा छटपटी

भारतीय टीम

तस्बिर स्रोत, AAMIR QURESHI

भारतीय टोलीको खेलाडी चयनप्रति पाकिस्तान र न्यूजील्यान्डको खेल हारेपछि मात्र प्रश्न उठेको होइन।

चेतन शर्माको नेतृत्वमा बनेको समितिले जुन टोली छान्यो त्यो पहिले नै अधुरो देखिएको थियो।

लगातार दुईवटा खेलमा हारेपछि खेलाडी चयनमा भएको कमजोरी बाहिर देखिएको थियो।

न्यूजील्यान्डसँगको खेलमा हारेपछि प्रतिस्पर्धाबाट बाहिरिने खतरा भारतीय समूहमा मडारिन थालेको थियो। आईपीएलमा राम्रो प्रदर्शन गर्न नसकेका आधा दर्जन खेलाडी टोलीमा परेका थिए।

यदि विश्वकपमा खेलाडी चयनको आधार केही दिनअघि सकिएको आईपीएल थियो भने ब्याटिङ र बलिङमा राम्रो प्रदर्शन गरेका खेलाडीहरूको किन कुनै चर्चा भएन? त्यस्तै मुख्य भूमिका निर्वाह गर्ने खेलाडीहरू छनोटमा परेनन्।

छनोटमा परेका खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्।

४. आर अश्विनलाई ढिला गरी दिइएको अवसर र कमजोर बलिङ

आर अश्विन

तस्बिर स्रोत, Michael Steele-ICC

पाकिस्तानसँगको खेलमा एक विकेट पनि लिन नसक्नु र न्यूजील्यान्डविरुद्ध केवल दुई विकेट लिनुले भारतीय समूहको बलिङ खासै शक्तिशाली नभएको सङ्केत दिएको थियो। पाकिस्तानविरुद्धको खेलमा तीव्र गतिका बलर भुवनेश्वर कुमार पूर्ण रूपमा असफल साबित भए।

उनले जम्मा १२० देखि १३० प्रति घण्टाको गतिमा बलिङ गरे। तर त्यो टी-२० जस्तो प्रतियोगिताको ब्याट्सम्यानका लागि प्रभावकारी थिएन। हार्दिक पाण्ड्याले पाकिस्तानविरुद्धको खेलमा बलिङ गरेनन् जसका कारण भारतको बलिङको सन्तुलन बिग्रिन पुग्यो। विश्वकपअगाडि उनले बलिङ पनि गर्ने बताइएको थियो।

न्यूजील्यान्डविरुद्धको खेलमा उनलाई दुई ओभर बलिङ गर्न लगाउनु आँखामा छारो हाल्नु जस्तै थियो। यसबाट उनीलाई जबरजस्ती बलिङ गराइएको थाहा हुन्थ्यो।

अनुभवी स्पिनर अक्षर पटेल राम्रो खेलाडीका रूपमा टोलीमा छनोटमा परेका थिए, उनलाई पनि पछि टोलीबाट हटाएर शार्दूल ठाकुरलाई ल्याइयो। बाँकी रहेका अर्का बलर मोहम्मद शमी पनि आफ्नो फर्ममा थिएनन्। अनि उनको बलिङ सुरु हुँदा समय सकिइसकेको थियो।

प्रतिस्पर्धाबाट बाहिरिने समय आइपुग्दा कप्तान विराट कोहलीले आर अश्विनलाई समूहमा स्थान दिए। उनले अफगानिस्तानविरुद्धको खेलमा चार ओभरमा १४ रन दिएर दुई विकेट लिए। अनि त्यसपछिको भारतको खेलमा एक विकेट लिएर प्रतियोगितामा आफ्नो अर्थपूर्ण उपस्थिति देखाउन सफल भए।

तर पाकिस्तान र न्यूजील्यान्डविरुद्धको खेलमा उनी मैदानमा थिएनन् र आफ्नो क्षमता पूर्ण रूपमा देखाउन पाएनन्।

भारतका लागि अर्का तीव्र गतिका बलर जसप्रीत बुमराहले पनि निराश बनाए। सुरुका दुई खेलमा न त उनको योर्कर प्रभावी रह्यो न त उनको बाउन्सर नै।

५. ब्याटिङमा असफलताले डुबायो

विराट कोहली र सूर्य कुमार यादव

तस्बिर स्रोत, AAMIR QURESHI

यदि भारतले सुरुमै अफगानिस्तान, स्कटल्यान्ड वा नामिबियाविरुद्ध खेलेको थियो भने सम्भवतः भारतीय ब्याट्सम्यान केएल राहुल, रोहित शर्मा र विराट कोहलीबाहेक ऋषभ पन्तले पनि बाँकी खेलमा राम्रो रन बनाउन सक्थे।

तर पाकिस्तान र न्यूजील्यान्डविरुद्धको खेलमा उनीहरू असफल भएकाले भारतलाई हानि पुग्यो।

पाकिस्तानविरुद्धको खेलमा केएल राहुल र रोहित शर्माले धेरै रन बनाउन सकेनन् जसका कारण मध्यक्रमका ब्याट्सम्यानहरूमा दबाव पर्‍यो र ब्याटिङ ध्वस्त हुन पुग्यो।

विराट कोहली र ऋषभ पन्तले मिलेर केही साझेदारी त गरे तर तीव्र गतिमा रन बनाउन सकेनन्। न्यूजील्यान्डविरुद्धको खेलमा भारतले केवल ११० रन मात्र बनाउन सक्यो।

अफगानिस्तान र स्कटल्यान्डविरुद्धको खेलमा रोहित शर्मा र केएल राहुलको उत्कृष्ट प्रदर्शन पनि भारतको लागि अर्थपूर्ण रहेन।

वास्तवमा यस विश्वकपमा भारतीय समूहको असफलताको पहिलो कारण सुरुका दुई खेलमा भएको कमजोर ब्याटिङ नै हो।

६. विराट कोहली र रवि शास्त्रीबारे गरिएको निर्णय

विराट कोहली र रवि शास्त्री

तस्बिर स्रोत, Michael Steele-ICC

यो विश्वकपपछि भारतीय प्रशिक्षकहरूको टोली फेरिने कुरा सबैलाई थाहा थियो। अहिलेका प्रमुख प्रशिक्षक रवि शास्त्री पनि त्यो दौडमा थिए। प्रतियोगिता हुँदै गर्दा नै उनको ठाउँमा पूर्वकप्तान राहुल द्रविडको नाम घोषणा भयो।

इङ्ग्ल्यान्डमा खेलिएको क्रिकेट शृङ्खलाकै बेला टी-२० क्रिकेटमा विराट कोहलीले अन्तिम पटक भारतको कप्तानी गर्ने निश्चित भएको थियो।

कोहलीले त्यसपछि आईपीएलमा आफ्नो क्लब रोयल च्यालेन्जर्सको पनि कप्तानी नगर्ने निर्णय सुनाए। उनको टोली आईपीएल जित्न सफल भएन र भारतीय टोलीको विश्वकप जित्ने लक्ष्य पनि पूरा भएन।

विराट कोहलीले इङ्ग्ल्यान्डमा दोस्रो खेल हारेपछि समूहका केही खेलाडीले आफ्नो पूरा जोस र क्षमता नदेखाएको बताएका थिए।

रवि शास्त्री प्रशिक्षकबाट हट्ने र विराट कोहलीले कप्तानी छोड्ने निर्णय गरेपछि टोलीमा सकारात्मक सन्देश प्रवाह नभएको स्पष्ट छ।

सम्भवतः रवि शास्त्री र कप्तान विराट कोहलीले निर्णय लिने आफ्नो क्षमता नै गुमाएका थिए।

७. आईपीएल खेलेर थाकेका थिए खेलाडी

जसप्रीत बुमराह

तस्बिर स्रोत, Matthew Lewis-ICC

भारतीय टोलीका महत्त्वपूर्ण खेलाडी तथा तीव्र गतिका बलर जसप्रीत बुमराहले विश्वकपका क्रममा आयोजित पत्रकार सम्मेलनमा "टोली समूह लामो समय बायोबबलमा रहेकाले मानसिक रूपमा थाकेको" बताएका थिए।

तर बलर मात्र नभई ब्याट्सम्यानहरू पनि थकित देखिए। आईपीएलमै त्यो सङ्केत देखिएको थियो।

यूएईमा आईपीएलको दोस्रो चरणमा सूर्यकुमार यादव, ईशान किशन, रोहित शर्मा, आर अश्विन, हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार र राहुल चहर आफ्नो प्रभाव देखाउन असफल भए। तथापि उनीहरूले त्यही अवस्थामा विश्वकप खेले।

थकित शरीर र मानसिकतासहित विश्वकपजस्तो महत्त्वपूर्ण प्रतिस्पर्धामा ओर्लिँदा जितका लागि कुनै चमत्कार नै आवश्यक थियो।