कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकामा ३८८ सहित थपिए ११ सयभन्दा बढी सङ्क्रमित, १२ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Creative

विगत २४ घण्टामा नेपालमा थप १,१२० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।

अहिलेसम्म २३,२९० सङ्क्रमित निको भइसकेका छन् भने २५१ जनाको मृत्यु भएको छ।

बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,१०८ सङ्क्रमित भएको बताए।

तीमध्ये ७,६१५ जना घरमै र १०,४४३ जना संस्थागत आइसोलेशनमा छन्। मन्त्रालयका अनुसार गम्भीर लक्षण भएका १६२ सङ्क्रमितलाई अहिले सघन उपचार उपलब्ध गराइएको छ र तीमध्ये १८ जना भेन्टिलेटरमा छन्।

अहिले काठमाण्डू उपत्यकाका चार विभिन्न अस्पतालमा ११ बिरामी भेन्टिलेटरमा छन्।

भदौ १६ गते सोमवार १,०६९ जनामा सङ्क्रमण र ११ जनाको मृत्यु पुष्टि भएको थियो।

कोरोनाभाइरस

अहिले काठमाण्डू उपत्यकामा ३८८ सहित विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्।

सरकारको तथ्याङ्कअनुसार अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित वाग्मती प्रदेशमा ६,४५० र प्रदेश नं २ मा ६,११७ छन्।

डा. गौतमका अनुसार ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० जनाभन्दा बढी भएका जिल्लामा बन्दाबन्दी (लकडाउन) लगाउन मन्त्रालयले सिफारिस गरेको छ।

तदनुरूप काठमाण्डू उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा थपिएको छ।

तर जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यक सेवाका व्यवसाय गर्न पाउने अवधि बढाएका छन्।

अब बिहान ११ बजेसम्म त्यस्ता व्यवसायहरू गर्न पाइनेछ। यसअघि त्यस्तो अनुमति ९:१५ सम्म कायम थियो।

सर्वाधिक सक्रिय सङ्क्रमित भएका जिल्लाहरू. भदौ १७ गते अपराह्णसम्मको तथ्याङ्क. .

को हुन् मृतक?

अहिले थपिएका सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन्।

मृतकमध्ये छ पुरुष र छ महिला छन्। उनीहरूको उमेर १८ वर्षदेखि ९७ वर्षसम्म भएको डा. गौतमले बताए।

मृतकमध्ये काठमाण्डू उपत्यकाका दुई महिला र तीन पुरुष तथा चितवनका दुई महिला र एक पुरुष छन्।

त्यसैगरी बारा, धादिङ, तनहुँ र कपिवस्तु, बारा र एक-‍एक जनाको पनि निधन भयो।

अहिलेसम्म पर्सामा सर्वाधिक ३५ जना र काठमाण्डू उपत्यकामा एक चिनियाँ नागरिक सहित ३५ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भइसकेको तथ्याङ्कले देखाउँछ।

को हुन् सङ्क्रमित?

सङ्क्रमितमध्ये ३२० जना महिला र ८०० जना पुरुष छन्।

अहिले काठमाण्डू जिल्लामा सर्वाधिक ३५० जनामा कोभिड-१९ देखिएको छ।

त्यसैगरी ललितपुरमा २९ जना र भक्तपुरमा नौ जना सङ्क्रमित फेला परेका छन्।

त्यसैगरी सुनसरीमा थप ७२, धनुषामा ६३, पर्सामा ४९, सर्लाहीमा ५६, चितवनमा ४३ र बाँकेमा ४१ जनामा सङ्क्रमण देखियो।

अहिले काठमाण्डू उपत्यकामा ५,००० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्।

coronavirus growth chart

के छ अरू तथ्याङ्क?

बुधवार अपराह्णसम्म २४ घण्टामा १२,८७९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

सो अवधिमा १,११२ सङ्क्रमित रोगमुक्त प्रमाणित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

अहिलेसम्म पुष्टि भएकामध्ये झन्डै ५६ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।

देशभरि क्वारन्टीनमा ६,७६६ जना छन्।

काठमाण्डूबाहेक पर्सा, रौतहट र सर्लाही जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १,००० भन्दा बढी छ। मोरङ, सुनसरी, धनुषा, बारा, महोत्तरी, ललितपुर र चितवनमा उक्त सङ्ख्या ५०० देखि १,००० को बीचमा छ।

पन्ध्र दिनभित्र सङ्क्रमितको दैनिक वृद्धि पाँचौँ पटक एक हजार नाघेको छ।

भदौ १४ गते १,२२१ जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसबारे थाहा भएका पाँच कुरा
Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर