कोरोना भाइरस नेपाल: विदेशमा मृत्यु भएका नेपाली जसको परिवारले शव समेत देख्न पाएनन्

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
कास्कीकी ४६ वर्षीया मीनादेवी सुनारले चैतको तेस्रो साता यूएईमा अस्पताल भर्ना भएका श्रीमान्सँग फोनमा कुराकानी गरेकी थिइन्।
उनलाई वैदेशिक रोजगारमा रहेका श्रीमान् ५० वर्षीय समरबहादुर सुनार चाँडै काममा फर्कनेछन् जस्तो लागेको थियो।
तर चैत २३ गते उनको निधनको खबर आयो।
"अन्तिम पटक मुख पनि हेर्न पाइँन," बीबीसीसँग फोनमा कुराकानी गर्दै गरेकी उनको गला अवरुद्ध भयो।
अनि, उनले कान्छा छोरा २६ वर्षीय मनोजलाई फोन थमाइन्।
समरबहादुर विदेशमा मृत्यु भएका कैयौँ त्यस्ता नेपाली नागरिकमध्ये पर्छन् जसका आफन्तले कोरोनाभाइरस महामारीका कारण अन्तिम संस्कार समेत आफ्नो देशमा गर्न पाएनन्।
समरबहादुरको मृत्युको कारण कोभिड-१९ होइन तर हवाई उडान प्रतिबन्ध एवम् लकडाउनका कारण उनको शव नेपाल ल्याउन नसकिएको परिवारले बताएको छ।
कान्छा छोरा मनोजले सामाजिक अपहेलनाको डरले पनि आफ्ना पिताको शव नेपाल नल्याइएको बताए।
शव ल्याउन समस्या हुने र महिनौँ लगाएर ल्याए पनि "समाजलाई बुझाउन नसकिने" देखेर पिताको अन्तिम संस्कार यूएईमै गर्ने अनुमति दिएको उनी बताउँछन्।
परिवारको सहमति पाएपछि नेपाल सरकारले समरबहादुरको अन्तिम संस्कार यूएईको दुबईमै गर्न अनुमति दियो।
उनका माइला छोरा दुबईमै वैदेशिक रोजगारीमा रहेकाले उनैले समरबहादुरको अन्तिम संस्कार गरे।
विदेशमै दाहसंस्कार
मृत्युपछि आफ्नै धार्मिक विधि अनुसार आफन्तले अन्तिम संस्कार गर्ने चलन छ।
तर कोरोनाभाइरस महामारी सुरु भएयता कैयौँ नेपाली नागरिकका परिवारले मृत्यु भएका आफन्तको अन्तिम संस्कार गर्न समेत पाएका छैनन्।
'त्यस्तो क्षण निकै नै पीडादायी र व्यक्त गर्नै नसकिने' हुने विदेशमा आफन्त बितेर उतै दाहसंस्कार गर्नुपरेका परिवारका सदस्यहरूले बीबीसीलाई बताएका छन्।
थप पीडा हुने भन्दै बीबीसीसँग कुराकानी गरेका समरबहादुरका परिवारबाहेक अन्य त्यस्तै तीन परिवारका आफन्तहरूले परिचय सार्वजनिक नगरिदिन आग्रह गरेका थिए।
वैदेशिक रोगजार बोर्डका अनुसार गत चैत ११ गते (नेपालमा पहिलो लकडाउन सुरु भएको मिति) यता साउन मसान्तसम्म वैदेशिक रोजगारीमा रहेका ५३१ जना नेपालीको मृत्यु भएको छ।

तस्बिर स्रोत, Rss
त्यसमध्ये परिवारको सहमतिमा १७६ जनाको सम्बन्धित देशमै दाहसंस्कार गरिएको छ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार २५८ जनाको शव नेपालमा ल्याइएको छ भने ९७ जनाको शव विदेशमै छ।
बोर्डको तथ्याङ्कमा मृतकमध्ये २७ जनाको कोभिड-१९ का कारण निधन भएको हो।
सामाजिक अपहेलनाको डर
मनोज सुनारका अनुसार तीनवटा कारणले गर्दा उनीहरूले आफ्ना बाबुको अन्तिम पटक "मुख हेर्ने" अवसरलाई त्याग्नु पर्यो।
पहिलो कारण हवाई सेवा बन्द हुनु र लकडाउनु लाग्नु हो।
दोस्रो चाहिँ शव आउन लामै समय लाग्ने र "एकपटक पीडा कम भइसकेपछि पुन: सोही पीडा बल्झने डर" हो।
मनोजले भने, "अहिले एउटा पीडा भइरहेको छ, केही समयपछि अलिअलि भए पनि कम हुन्छ। फेरि महिनौँपछि आँखा अगाडि बुबालाई देख्दा झन् अर्को पीडा थपिन्छ भन्ने भयो। आमाको स्वास्थ्यलाई पनि हेर्नुपर्यो।"
"अब बुबा गइसक्नु भयो, आमालाई 'डबल ब्रेक डाउन' हुन त दिनु भएन नि!"

तस्बिर स्रोत, RSS
मनोजका भनाइमा विदेशमा बितेका पिताको शव नेपाल नल्याउने निर्णय गर्नुको अर्को कारण भनेको "समाजको डर" हो।
"ठूलोबुबाको स्वास्थ्य क्षेत्रकै भएकाले हामीले सरसल्लाह गर्यौँ। यस्तो महामारीको बेला नल्याउँदा नै उपयुक्त हुन्छ भन्ने कुरा भयो," मनोजले भने।
"उहाँलाई कोभिड-१९ भएको त होइन तर जनमानसमा कुरा बुझाउन अप्ठेरो हुन्छ भनेर शव नल्याउने भन्ने निर्णय गर्यौँ।"
दाहसंस्कारको प्रक्रिया
बोर्डका कार्यकारी निर्देशक श्रेष्ठका अनुसार विदेशमा मृत्यु भएका नेपाली नागरिकहरूलाई "सम्मानपूर्वक दाहसंस्कार"को व्यवस्था मिलाउने गरिएको छ।
नेपालमा परिवारले विदेशमै दाहसंस्कार गर्ने सहमति दिएपछि सम्बन्धित देशका नियोगहरूमार्फत् त्यस्तो व्यवस्था मिलाइने श्रेष्ठले बताए।
उनले भने, "दाहसंस्कारमा नियोगहरूको प्रतिनिधि वा नियोगले तोकेको प्रतिनिधि उपस्थित हुनै पर्ने व्यवस्था छ।"
"त्यस्तो दाहसंस्कारको दिनबारे नेपालका परिवारलाई जानकारी पनि गराउनु पर्छ किनकि नेपालमा पनि मृत्युकार्य गर्न चाहने हुन्छन्।"
यदि बोर्डसमक्ष परिवारले आफन्तको अस्तु ल्याइदिने आग्रह गरेका छन् भने अस्तु नेपाल ल्याउने प्रबन्ध पनि गरिएको श्रेष्ठले जानकारी दिए।
परिवारको चाहनामा हालसम्म केही अस्तु नेपालमा ल्याइदिएको र सम्बन्धित परिवारसम्म पुर्याउने व्यवस्था गरिएको श्रेष्ठले बताए।
राहत
सरकारले वैदेशिक रोजगारीका क्रममा निधन भएका नागरिकका परिवारलाई सात लाख रुपैयाँ राहत दिने व्यवस्था गरेको छ।
त्यसरी राहत पाउनेमा अन्य कारणबाट मृत्यु हुनेका साथै आत्महत्या गर्नेका परिवार पनि पर्छन्।
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका व्यक्तिको नेपालमै निधन भए पनि त्यो सुविधा प्राप्त हुने श्रेष्ठले बताए।
विदेशमा दाहसंस्कार गर्न चाहनेका लागि अहिले थप ५० हजार राहत दिने गरिएको छ।
"विदेशमै दाहसंस्कारको अनुमति दिने परिवारले अहिले थप राहत पाउने व्यवस्था गरिएको हो," उनले भने, "त्यस्तो राहत मृत्यु भएको एक वर्षभित्र निवेदन दिएर लिन सकिन्छ।"
"अहिले बोर्डमै आएर निवेदन दिनु पनि पर्दैन, स्थानीय तहबाटै निवेदन दर्ता गराएर राहत लिन सकिने व्यवस्था मिलाएका छौँ।"
'सपनाजस्तो लाग्छ'
व्यवहारीक र भावनात्मक पक्षलाई हेरेर आफन्तको शव नेपाल नल्याउने निर्णय गरेका परिवारका सदस्यहरू आफन्त गुमाएको पीडाबाट "बाहिर निस्कन नसकेको" बताउँछन्।
समरबहादुरका छोरा मनोजको अनुभव पनि त्यस्तै छ।
सुरुमा सामान्य बिरामी भएर अस्पताल पुगेका आफ्ना पितालाई "खासमा के रोगले गाल्यो" भन्ने कुराले उनलाई पिरोल्ने गर्छ।
मनोज भन्छन्, "सुरुमा राम्ररी नै बोलिरहनु भएको थियो। उहाँलाई १६/१७ दिन अस्पताल राखिएको हो।"
"उहाँलाई उच्च रक्तचाप, सुगर र डिप्रेसन पनि देखाइयो। बुबाले सायद अस्पतालमा राम्रो उपचार नपाएर जानुभयो।"

पितालाई अन्तिम पटक देख्न नपाएको पीडाले आफूलाई "जीवनभर सताउने" ठान्छन् मनोज।
विगत १५/१६ वर्षदेखि विभिन्न देशहरूमा वैदेशिक रोजगारीमा रहँदै आएका पितासँग "वृद्धावस्थामा त सँगै समय बिताउन पाइएला" भन्ने ठानेका मनोजलाई अब उनी छैनन् भन्ने सम्झँदा "कहाली लागेजस्तो" हुन्छ।
"हामीलाई त सपना जस्तै भइरहेको छ। बुवा अहिले पनि उतै हुनुहुन्छ र छुट्टीमा आउनु हुन्छ जस्तो लाग्छ," टेलिफोनमा गला अवरुद्ध पार्दै मनोजले भने।










