चीनको वुहानमा हृदयाघातले मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

वुहान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, वुहानको स्थानीय रेल सेवा पनि बन्द गरिएको छ

चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको चीनस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।

नयाँ घातक भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका दोलखाका ४० वर्षीय पुष्कर खड्काको शव नेपाल ल्याउन समस्या भएको हो।

करिब १५ वर्षदेखि वुहानस्थित एउटा रेस्टुरेन्टमा कार्यरत खड्काको शव नेपाल पठाउन कानुनी प्रक्रिया सुरु भइसकेको दूतावासका अधिकारीले बताए।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार शनिवार राति केही नेपाली साथीहरूसँगै रहेका उनको सुतेकै अवस्थामा निधन भएको थियो।

बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै लम्सालले भने, "हामीले शव नेपाल फर्काउने पहल गरिरहेका छौँ। वुहानमा आवागमन नियन्त्रित भएकाले समस्या भएको हो।"

वुहानको अवस्था

श्वाप्रश्वास सम्बन्धी स्वास्थ्य समस्या उत्पन्न गराउने कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्।

कोरोनाभाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ।

६ सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ।

लम्सालले खड्काको शव नेपाल पठाउन वुहानको अवस्था सामान्य हुनुपर्ने देखिएको बताए।

नेपालीमा सङ्क्रमण देखिएको छैन

बेइजिङस्थित नेपाली दूतावासका अनुसार हालसम्म चीनमा रहेका नेपालीमा कोरोनाभाइरस सङ्क्रमण भएको सूचना आएको छैन।

दूतावास
तस्बिरको क्याप्शन, बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको सूचना

तर दूतावासले चीनमा रहेका सबै नेपालीलाई उक्त भाइरसबाट बच्ने उपायहरू अपनाउन र आवश्यक परे सहायताका लागि सम्पर्क गर्न सूचना जारी गरेको छ।

दूतावासले बिहीवार जारी गरेको सूचनामा बेइजिङस्थित दूतावासका साथै ग्वाञ्जाओ, ल्हासा र हङ्कङस्थित नेपाली महावाणिज्य दूतावास तथा साङ्घाईस्थित अवैतनिक नेपाली महावाणिज्य दूतसँग सम्पर्कमा रहन भनिएको छ।

नेपाली दूतावासका उपप्रमुख लम्सालका अनुसार चीनका विभिन्न सहरहरूमा करिब ८ हजार नेपालीहरू रहेका छन्।

नेपालीको सङ्ख्या

कोरोनाभाइरस प्रभावित वुहानमा भने ७० देखि ८० को सङ्ख्यामा नेपाली नागरिकहरू रहेको लम्सालले बताए।

लम्सालले भने, "वुहानमा रहेका नेपालीहरूसँग हामी सम्पर्कमै छौँ। उनीहरूको अवस्था सामान्य रहेको छ। कसैलाई सङ्क्रमण भएको थाहा छैन।"

उनका अनुसार केही नेपालीले नेपाल फर्कन चाहेको भन्दै सम्पर्क गरेका छन्।

वुहान

तस्बिर स्रोत, Getty Images

तर अहिले वुहानबाट नेपाल फर्काउन सक्ने अवस्था नरहेको उनले बताए।

चीनमा वसन्त ऋतु र नयाँ वर्षको बिदा सुरु हुन लागेकाले कतिपय नेपालीहरू पहिले नै नेपाल फर्किसकेको उनले जानकारी दिए।

चीनबाट नेपालमा उक्त भाइरस फैलनसक्ने जोखिमबारे आफूहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको उनले बताए।

चीनले उक्त घातक भाइरस फैलनबाट रोक्न आफ्ना तीनवटा सहरको यातायात सेवामा बन्देज लगाइसकेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस: नेपाल जोखिममा छ?