कोरोना भाइरस श्रीलङ्काः कोभिड-१९ बाट मृत्यु भएका मुस्लिमको शव बलपूर्वक जलाइदिएको आरोप

तस्बिर स्रोत, Nikita Deshpande
- Author, सरोज पाथिराना
- Role, बीबीसी न्यूज सिन्हाला
श्रीलङ्काको मुस्लिम समुदायले सरकारी अधिकारीहरूले कोरोनाभाइरस महामारीका कारण मृत्यु भएका मुस्लिमको इस्लामिक परम्पराविपरीत दाहसंस्कार गर्न बाध्य पारेको आरोप लगाएको छ।
इस्लाममा शव जलाउन वर्जित छ।
गत मे ४ मा ४४ वर्षीया फातिमा रिनोजालाई कोभिड-१९ भएको आशङ्कामा अस्पताल भर्ना गरियो।
श्रीलङ्काको राजधानी कोलम्बोमा बसोबास गर्ने उनलाई सास फेर्न गाह्रो भएको थियो।
उनका पति मोहमद शफीकका अनुसार फातिमालाई अस्पताल भर्ना गरिएकै दिन सरकारी निकायहरूबाट आफ्नो परिवारमाथि "आक्रमण" सुरु भएको थियो।
"प्रहरी र सैनिकहरू अन्य अधिकारीहरूसँग हाम्रो ढोकामा आए," उनले भने।
"हामीलाई जबरजस्ती बाहिर निकालियो र उनीहरूले सबैतिर (निःसङ्क्रामक) छर्के। हामी सबै डरायौँ तर उनीहरूले केही बताएनन्। तीन महिने बच्चाको पनि परीक्षण गरियो र उनीहरूले हामीलाई कुकुरलाई जसरी क्वारन्टीन स्थलमा लगे।"
उनको परिवारलाई एक रात राखेर दुई हप्ता अलग्गै बस्न निर्देशन दिँदै भोलिपल्ट छोडियो।
त्यति बेलासम्म उनीहरूले फातिमाको मृत्युको भएको सूचना पाइसकेका थिए।
हस्ताक्षर गर्न बाध्य
फातिमाको सनाखत गर्न उनका जेठा छोरालाई बोलाइयो।
कोभिड-१९ का कारण मृत्यु भएकाले परिवारलाई शव दिन नमिल्ने उनलाई बताइयो।
उनका अनुसार बरु शवको दाहसंस्कार गर्ने सहमतिका लागि उनलाई कागजपत्रमा बलपूर्वक हस्ताक्षर गराइयो।
"छोरालाई फातिमाको शरीरका अङ्ग थप परीक्षणका लागि छुट्याउनुपर्ने बताइयो।
यदि उनलाई कोरोनाभाइरस भएको भए किन शरीरको अङ्ग छुट्याउनुपर्यो?" शाफिक भन्छन्।
आफूहरूलाई पर्याप्त जानकारी नदिइएको उनको गुनासो छ।
फातिमाको परिवारले जस्तै सरकारले आफूहरूलाई भेदभाव गरेको गुनासो मुस्लिम समुदायका अन्य परिवारहरूले पनि गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका
विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ सम्बन्धी आफ्नो निर्देशिकामा शव गाड्न सकिने उल्लेख गरेको छ।
अधिकारीहरूले आफूहरूलाई शव जलाउन बाध्य पारेको श्रीलङ्काका मुस्लिमहरूको दाबी छ।
बहुसङ्ख्यक सिन्हाला समुदायले आफूहरूलाई तर्साउन अहिले पनि भेदभाव गरेको मुस्लिम समुदायको दाबी छ।

तस्बिर स्रोत, Nikita Deshpande
सन् २०१९ मा उग्रवादी इस्लामिक समूहसँग सम्बद्ध केही व्यक्तिहरूले श्रीलङ्काका विभिन्न होटल र गिर्जाघरमा शृङ्खलाबद्ध बम आक्रमण गर्दा २५० जनाभन्दा बढीको मृत्यु भएको थियो।
उक्त घटनापछि आफूहरूसँग नराम्रो व्यवहार भएको श्रीलङ्काली मुस्लिम समुदायको अनुभव छ।
गाड्नु 'जोखिमपूर्ण'
श्रीलङ्कामा कोभिड-१९ का कारण मुस्लिम समुदायका एक सदस्यको मार्च ३१ मा मृत्यु भएको थियो।
त्यति बेलासम्म देशमा कुल ११ जनाको मृत्यु भएको भए पनि सञ्चारमाध्यमले मुस्लिम समुदायले रोग फैलाएको आरोप लगाए।
सबै मृतकको शरीरलाई जलाइएको थियो।
सरुवारोग हेर्ने सरकारी निकायका प्रमुख डा. सुगत समरवीरका अनुसार कोभिड-१९ भएर मृत्यु भएका वा त्यसको आशङ्का भएका सबै मृतकको दाहसंस्कार गर्ने सरकारको नीति नै छ।
उनका अनुसार शव गाड्दा भू-गर्भमा भएको पानी प्रदूषित हुनसक्छ।
मुस्लिम समुदायका अगुवा र राजनीतिकर्मीहरूले सरकारले यो निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
'दाहसंस्कार हुने एक मात्र देश'
संयुक्त राष्ट्रसङ्घका १८२ सदस्यराष्ट्रमध्ये मुस्लिम समुदायका मानिसलाई भूमिमा नगाडेर दाहसंस्कार गरिने श्रीलङ्का एक मात्र देश भएको पूर्वमन्त्री अलि जाहिर मौलानको दाबी छ।
बीबीसी सिन्हालासँग कुरा गर्दै शव गाड्नु जनस्वास्थ्यका लागि हानिकारक भएको वैज्ञानिक प्रमाण सरकारले देखाइदिए आफूहरूले त्यो निर्णय मान्ने बताए।
श्रीलङ्का मुस्लिम कङ्ग्रेसका एक वरिष्ठ नेता पनि उनको भनाइसँग सहमत छन्।
श्रीलङ्कालाई जातीय आधारमा अझ विभाजित गर्न राजनीतिक उद्देश्यसहित सरकारले दाहसंस्कार गर्न बाध्य पारेको उनको भनाइ छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

'भिन्न व्यवहार'
फातिमाको मृत्यु भएकै दिन ६४ वर्षीय अब्दुल हमीद मोहम्मद रफाइदीनले पनि कोलोम्बोमा आफ्नी बहिनीको घरमा प्राण त्याग गरे।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनका कान्छा छोरा नौशाद रफाइदीनका अनुसार सोही दिन उनीहरूका एक सिन्हाला छिमेकीको पनि मृत्यु भएको थियो।
लकडाउनमा हिँडडुलका लागि लगाइएको प्रतिबन्धका कारण प्रहरीले दुवै मृतकको शरीरलाई सँगै अस्पताल लैजान भन्यो।
शवगृहमा चिकित्सकले नौशादलाई भाइरस सर्न सक्छ भन्दै पिताको शव छुन दिएनन्। तर उनलाई कोभिड-१९ पुष्टि भएको थिएन।
लेखपढ गर्न नजान्ने नौशादलाई केही कागजपत्रमा हस्ताक्षर गर्न भनियो। ती कागजपत्रमा मृतकको दाहसंस्कार गर्नका सहमति गराइएको थियो।
सहमत नहुँदा परिवारलाई केही गर्लान् भन्ने डरले आफूले हस्ताक्षर गरेको उनी बताउँछन्।
तर उनका छिमेकीसँग फरक व्यवहार भयो। अर्का व्यक्तिका आफन्तले मृतकलाई अन्तिम श्रद्धाञ्जलि दिन र शव गाड्न पाएको उनी बताउँछन्।
तर नौशाद र केही नातेदारले मात्र उनका पिताको अन्तिम संस्कारमा सहभागी हुने अनुमति पाए।
पत्नीको मृत्यु भएको छ हप्तापछि शाफीक त्यति बेला के भएको थियो भन्ने विषय बुझ्न थालेका छन्।
कोभिड-१९ परीक्षण गर्ने प्राविधिकहरूका अनुसार फातिमाको मृत्यु कोरोनाभाइरसका कारण भएकै थिएन।
अस्पतालले दिएको जानकारीविपरीत यो सूचनाले परिवारलाई झन् अलमलमा पारिदिएको छ।
"हामी मुस्लिमहरू मृतकको दाहसंस्कार गर्दैनौँ," शाफिक भन्छन्।
"यदि उनीहरूलाई उनको मृत्यु कोरोनाभाइरसका कारण भएको हैन भन्ने थाहा थियो भने उनलाई किन जलाइयो?"








