कोरोना भाइरस नेपालः प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्ने योजना असफल, स्वास्थ्य मन्त्रालय भन्छ 'आवश्यक छैन'

कोरोनाभाइरस

असार १५ गते सम्ममा पीसीआर परीक्षणको दायरा व्यापक बनाउँदै प्रतिदिन १०,००० पुर्‍याउने सरकारले घोषणा गरेको थियो। तर तदनुरूप काम हुन नसकेको भन्दै आलोचना भइरहेको बेलामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने तत्काल त्यतिको सङ्ख्यामा परीक्षणको आवश्यकता नदेखिएको बताएको छ।

केही सातायता प्रतिदिन सरदार ६,००० वटा परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमको भनाइ छ।

कुनै बेला देशभरि क्वारन्टीनमा झन्डै दुई लाख मानिस थिए। तर अहिले उक्त सङ्ख्या घटेर ६० हजारको हाराहारीमा आएको र त्यसमा पनि केहीको नमुना सङ्कलन गरिसकिएका कारण परीक्षणको दायरा बढाउनुपर्ने अवस्था नदेखिएको उनी बताउँछन्।

"अब कन्ट्याक्ट ट्रेसिङको मात्रै गर्नुपर्नेछ। भएका प्रयोगशाला समेत पूरा क्षमतामा नचलाउनुपर्ने जस्तो अवस्था छ," उनले भने।

"अहिलेको अवस्थामा प्रतिदिन १०,००० पुर्‍याउनुपर्ने देखिँदैन। आवश्यक पर्ने देखियो भने हामी त्यस अनुसार काम गर्ने छौँ।"

"परीक्षणमा त राज्यको पैसा पनि जान्छ नि। एउटा परीक्षणको नै ५,००० देखि ५,५०० सम्म खर्च हुन्छ। त्यति धेरै खर्च गर्ने र? त्यसो भएर हामीले त्यसतर्फ त्यति धेरै जोड दिएका छैनौँ," उनले भने।

कोरोनाभाइरस

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, कोरोनाभाइरस

तत्कालका लागि परीक्षणको सङ्ख्या र दायरा बढाउनुपर्ने अवस्था नरहे पनि १० वटा प्रयोगशाला थप गर्ने निर्णय भएको तर त्यसमा पनि हतार भने नगरेको गौतम बताउँछन्।

हाल नेपालका विभिन्न स्थानमा २३ वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला छन्।

त्यस्तै हालसम्म दुई लाख टेस्ट किट प्रयोग भएको र कुल छ लाख परीक्षण गर्ने लक्ष्यनुसार आफूहरूसँग चार लाख टेस्ट किट बाँकी भएको सरकारी भनाइ छ।

सङ्क्रामक रोग विशेषज्ञहरूले नेपालमा परीक्षणको दायरा आवश्यकताअनुरूप नबढाइएको बताइरहँदा मन्त्रालयले भने सङ्क्रमितहरूको सम्पर्कमै नआएका व्यक्तिहरूको परीक्षण गर्न जरुरी नरहेको र सरकारले कोरोनाभाइरसमा मात्रै ध्यान केन्द्रित गर्न नसक्ने बताएको छ।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार १५ गते सोमवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • १३,२४८कुल सङ्क्रमण

  • ७७प्रभावित जिल्ला

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ७,७९१

  • चिकित्सकीय निगरानीमा अलग्गै १०,०८५

  • देशभरि क्वारन्टीनमा५७,३६८

  • अहिलेसम्म निको३,१३४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

"राज्यले कोरोनाभाइरस सङ्क्रमितहरूको उपचार मात्रै गरेर हुन्छ? अरू रोगको उपचार गर्नुपर्दैन?" उनले प्रश्न गरे। "सीमित स्रोतसाधन पानी बगाए जस्तो बगाउन त मिलेन नि।"

तर सरकार आफैँले नेपालमा अगस्ट महिनाको पहिलो हप्तासम्ममा ३० हजारदेखि ४० हजार सङ्क्रमित हुने प्रक्षेपण गरेको छ।

सरकारले निजी अस्पतालहरूलाई पनि परीक्षणको स्वीकृति दिने निर्णय गरेको भए पनि परीक्षण सुरु भइसकेको छैन।

हाल निजी प्रयोगशालाको मापदण्ड पुगे नपुगेको केन्द्रीय प्रयोगशालाले हेरिरहेको गौतमको भनाइ छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के भन्छन् विज्ञ?

सरकारी अधिकारीहरूले परीक्षणको दायरा बढाइहाल्नुपर्ने अवस्था नरहेको बताइरहँदा विज्ञहरूले भने ढुक्क हुन सक्ने अवस्था नरहेको बताइरहेका छन्।

विश्वका केही देशहरूमा कहीँ सङ्क्रमण उत्कर्षमा पुगेर घट्न थालेको त कहीँ लगभग नियन्त्रणमा आएर लकडाउन खुकुलो पार्दै लगिएको भए पनि नेपालमा भने सङ्क्रमण बढ्दो चरणमा रहेको र विभिन्न सङ्केत हेर्दा सङ्क्रमण समुदायमा फैलिएको जस्तो देखिएको केही दिनअघि बीबीसी न्यूज नेपालीसँग कुरा गर्दै सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बताएका थिए।

उनका अनुसार नेपालले सङ्क्रमणको दर नियन्त्रण गर्न सफल देखिएका श्रीलङ्का र भियतनामजस्ता राष्ट्रबाट धेरै कुरा सिक्न सक्ने अवस्था छ।

"ती दुई मुलुकले विदेशबाट आएका व्यक्तिलाई निगरानीमा राख्न जोड दिएका छन्," सुवेदीले भने।

"परीक्षणको दायरा बढाउनुका साथै उनीहरूले क्वारन्टीनमा ध्यान दिएको र त्यसको परिणाम अहिले देखिएको छ।"

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका अनुसार दक्षिण एशियाली मुलुक श्रीलङ्कामा २,००० जनाभन्दा केही बढी सङ्ख्यामा सङ्क्रमित छन्।

त्यहाँ हालसम्म कोभिड-१९ सङ्क्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण

नेपालको अवस्था कस्तो छ?

अहिले नेपालमा कोभिड-१९ बाट १३,००० जनाभन्दा बढी सङ्क्रमित भइसकेका छन्।

त्यसमध्ये ३,१०० जनाभन्दा बढी निको भइसकेका छन् भने मृत्यु हुनेहरूको सङ्ख्या २९ छ।

सोमवारसम्म क्वारन्टीनमा ५७,३६८ जना ए। उनीहरूमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

अधिकांश सङ्क्रमितहरू युवा र पुरुष छन्।

कोरोनाभाइरस परीक्षण