कोरोना भाइरस नेपालः क्वारन्टीनलाई किन मानिसहरू 'कैदखाना' भन्दैछन्

दैलेख सदरमुकामस्थित नारायण बहूमुखी क्याम्पसमा रहेको क्वारन्टीनको एउटै कोठामा बसेकाहरू

तस्बिर स्रोत, Jyoti Katuwal

तस्बिरको क्याप्शन, दैलेख सदरमुकामस्थित नारायण बहुमुखी क्याम्पसमा रहेको क्वारन्टीनको एउटै कोठामा बसेकाहरूले त्यहाँ मापदण्ड पालना नभएको बताएका छन्
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित एउटा क्वारन्टीनमा बस्दै आएका एक पुरुषले बुधवार आत्महत्या गरे।

उनीसँगै बस्दै आएका मानिसहरूका अनुसार आरडीटी परीक्षणमा पोजिटिभ रिपोर्ट देखिएका उनी पीसीआर परीक्षण रिपोर्टको प्रतीक्षामा थिए।

केही दिनअघि कैलालीको एउटा क्वारन्टीनमा बसिरहेकी एक महिलामाथि बलात्कारको प्रयास भएको भन्दै उनका आफन्तले प्रहरीमा उजुरी गरेको घटना सार्वजनिक भयो।

यसै हप्ता दैलेखको त्रिभुवन उच्च माध्यमिक विद्यालयस्थित क्वारन्टीनमा बस्दै आएका मानिसहरूले परीक्षण रिपोर्ट आउन ढिलो भएको जुलुस निकालेपछि त्यसलाई रोक्न पुगेका एक प्रहरी झडपका क्रममा घाइते नै भए।

समस्यैसमस्या

अपवादबाहेक देशभरि रहेका अधिकांश क्वारन्टीनको व्यवस्थापनसँग जोडिएका यी प्रतिनिधि घटना मात्रै हुन्।

यसअघि क्वारन्टीनबाट मानिसहरू भागेको, केही ठाउँका क्वारन्टीनमा दिनभरि बस्ने र राति घर जाने लगायतका समाचार पनि नआएका होइनन्।

कैलालीको लम्की बहुमुखी क्याम्सस्थित क्वारन्टीन
तस्बिरको क्याप्शन, कैलालीको लम्की बहुमुखी क्याम्सस्थित क्वारन्टीन

क्वारन्टीनमा पाइने खानेकुरा, पिउने पानी, सुत्ने ओछ्यान र शौचालय लगायतका बारेमा नियमितजसो गुनासाहरू सुन्ने गरिन्छ।

बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीबाटै प्रतिनिधित्व गर्ने सांसद विमला राई पौडेलले क्वारन्टीनहरूको अवस्था पीडादायी भएको बताइन्।

क्वारन्टीनहरू खासगरी महिला बालबालिका तथा वृद्धवृद्धाका लागि उपयुक्त नभएको भन्दै कोठामा चुकुल समेत छैन भन्ने खालका फोनहरू पनि आउन थालेको उनले उल्लेख गरिन्।

सामाजिक सञ्जालमा पनि क्वारन्टीन व्यवस्थापनमा देखिएको अस्तव्यस्ततालाई लिएर चर्को आलोचना भइरहेको छ। कतिपयले नेपालका क्वारन्टीनहरू "कैदखानाजस्तो" भएको टिप्पणी पनि गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधवारसम्म देशभरिका विभिन्न क्वारन्टीनमा १,२५,७९८ जना छन्।

कैलालीको लम्की बहुमुखी क्याम्पसमा बनाइएको क्वारन्टीनमा बस्दै आएका लम्किचुहा नगरपालिकाका-१ का ५६ वर्षीय अजय न्यौपाने छतमा सुत्ने गरेका छन्।

"परीक्षण गरिसकिएका र नगरिएका सबैलाई यहाँ मिसाएर राखिएको छ। क्वारन्टीनमै बसिरहेका व्यक्तिबाट सर्छ भन्ने डरले म कौसीमा सुत्ने गरेको छु," बिहीवार बीबीसी न्यूज नेपालीसँग फोनमा कुरा गर्दै उनले भने।

coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार ४ गते बुधवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • ७,८४८कुल सङ्क्रमण

  • ७४प्रभावित जिल्ला

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ५,७४६

  • चिकित्सकीय निगरानीमा अलग्गै६,६४०

  • देशभरि क्वारन्टीनमा१,१६,२१५

  • अहिलेसम्म निको१,१८६

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

एउटै शौचालय धेरैले प्रयोग गर्ने गरेको र खानेपानीको हकमा पनि एकै ठाउँ सबै जानुपर्ने बाध्यताबीच सङ्क्रमण फैलिने जोखिम निकै रहेको न्यौपाने बताए।

"क्वारन्टीन बसाइ पूरा गरेर मानिसहरू गएपछि कुनै प्रकारको सरसफाइ नगरी त्यसैमा फेरि अरूलाई बस्न लगाउने गरिएको छ," उनले थपे।

न्यौपानेका अनुसार आरडीटीमा पोजिटिभ रिपोर्ट देखिएपछि अहिले पीसीआर रिपोर्टको प्रतीक्षामा रहेको उनी छन्।

तर तत्काल रिपोर्ट आउनेमा विश्वस्त नदेखिएका उनले भने, "कति मान्छे रिपोर्ट कुरिरहेको एक महिना पनि भइसक्यो। मेरो त बल्ल तीन दिन भयो।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण
कोरोनाभाइरस ब्यानर

तर क्वारन्टीन व्यवस्थापनमा संलग्न जिम्मेवार व्यक्तिहरू चाहिँ मापदण्डअनुसार सक्दो गरिरहेकै दाबी गर्छन्।

"खाने, सुत्ने र बस्ने आवश्यक व्यवस्था गरेका छौँ। सबै गरे पनि सबैको चित्त बुझ्ने कहाँ हुन्छ र कतिपयलाई खानेकुराको स्वाद नमिलिरहेको हुन्छ, कतिपय के नमिलेको भन्छन्," लम्किचुहा अस्पताल विकास समितिका सदस्य गङ्गाराम उपाध्यायले बीबीसी न्यूज नेपालीसित भने।

परीक्षणदेखि क्वारन्टीन व्यवस्थापनसम्मका विषयमा खासगरी सङ्घीय सरकारबाट आवश्यक सहयोग नपाएको स्थानीय जनप्रतिनिधिहरूले गुनासो गर्दै आएका छन्।

बुधवार आत्महत्याको घटना भएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-५ का वडाध्यक्ष कमल पौडेलका अनुसार स्थानीय सरकारहरूले अहिलेसम्म जे गरेका छन् ती आफ्नै "बलबुता"मा गरेका छन्।

"तपाईँलाई मैले साँच्चै भन्नुपर्दा अहिलेसम्म हाम्रो वडाले सङ्घीय सरकार वा प्रदेश सरकारको तर्फबाट हामीले एउटा मास्कसम्म पाएका छैनौँ," पौडेलले भने।

स्थानीय सरकारहरूबाट मानिसहरूले धेरै अपेक्षा गरे पनि आफूहरूको भूमिका सीमित रहेको उनको भनाइ छ।

"हामीले खाने बस्ने लगायत व्यवस्था छौँ। परीक्षणका लागि नमुना सङ्कलनसम्म गरेका छौँ। अब परीक्षण गर्ने र रिपोर्ट कहिले दिने कुरामा हामी केही गर्न सक्दैनौँ," पौडेलले थपे।

"मिडियामा बोलेर मात्रै हुँदैन। सङ्घीय र प्रदेश सरकारबीच मैले त कुनै समन्वय नै भएको देख्दिनँ।"

डोल्पाको एउटा विद्यालयमा निर्माण गरिएको क्वारन्टीन

तस्बिर स्रोत, RAM CHANDRA NEUPANE

तस्बिरको क्याप्शन, डोल्पाको एउटा विद्यालयमा निर्माण गरिएको क्वारन्टीन

हवाईमार्ग र स्थलमार्गबाट आउने नेपालीहरूबीच सरकारले नै विभेद गरेको वडाध्यक्ष पौडेलको गुनासो छ।

स्वयं सरकारी अधिकारीहरूकै अनुसार नेपालमा क्वारन्टीनमा बसिरहेका व्यक्तिहरूमै सङ्क्रमणका धेरै घटना देखिएका छन्।

उदाहरणका लागि केही साताअघि बाँकेको नरैनापुर क्वारन्टीन केही समयअघि कोरोनाभाइरस सङ्क्रमणको हटस्पट बन्न पुगेको थियो।

त्यहाँ ११८ जना व्यक्तिमा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भयो भने बाँकी ११७ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

नेपाली अधिकारीहरूले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तोकेका मापदण्ड अनुसारकै क्वारन्टीन बनाइएको दाबी गरे पनि त्यहाँ बस्नेहरूको गुनासो र सरकारी दाबीबीच तालमेल देखिँदैन।

के छ डब्ल्यूएचओ मापदण्ड?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्वारन्टीनमा यस्ता सुविधा हुनुपर्छः

  • पर्याप्त भेन्टिलेशन भएको, सरसफाइ गर्न पाउने र शौचालय भएको एक जना बस्न मिल्नेगरी बनाइएको फराकिलो कोठा हुन्छ। छुट्टै कोठा नभएको अवस्थामा एक मिटरको दूरीमा ओछ्यानहरू हुनुपर्छ
  • सङ्क्रमण नियन्त्रणका लागि उपयुक्त वातावरणीय उपाय प्रयोग गर्नुपर्छ
  • क्वारन्टीनमा खानेकुरा, पानी र सरसफाइको उपयुक्त व्यवस्था हुनुपर्छ
  • क्वारन्टीनमा बस्नेहरूका झोला लगायत सामानको सुरक्षा सुनिश्चितता हुनुपर्छ
  • उपलब्ध स्थितिमा व्यक्तिको उपचारको उपयुक्त व्यवस्था गरिनुपर्छ
  • क्वारन्टीनमा बसिरहेका मानिसहरूले बुझ्न सक्ने भाषामा कुराकानी गर्ने व्यवस्था हुनुपर्छ ताकि आफूले पाउने सुविधा लगायतका विषयबारे उनीहरूले बुझ्न सकून्
  • क्वारन्टीनमा बसिरहेका मानिसहरूले क्वारन्टीनबाहिर रहेका परिवारका सदस्यसँग कुरा गर्न सक्ने हुनुपर्छ
  • सम्भव भए इन्टरनेट, समाचार पढ्न हेर्न/पाउने र मनोरञ्जन गर्न पाउने व्यवस्था मिलाइनुपर्छ
  • उनीहरूलाई मनोवैज्ञानिक सहायता उपलब्ध गराइनुपर्छ