कोरोना भाइरस नेपाल: जाजरकोट जिल्लामा क्वारन्टीन बनाउन लाग्दा गाउँलेले विद्यालय भवन किन भत्काए

तस्बिर स्रोत, Courtesy: Rajendra Karki
- Author, प्रकाश पन्त
- Role, बीबीसी न्यूज नेपाली
क्वारन्टीन बनाउन लागिएको जाजरकोटको भेरी नगरपालिकाको वडा नम्बर ६ स्थित एउटा विद्यालय भत्काउने स्थानीय बासिन्दाहरूले उक्त विद्यालय फेरि जस्ताको जस्तै बनाउने सहमति व्यक्त गरेका छन्।
नगरपालिकामा समाविष्ट भएको भए पनि उक्त स्थान ग्रामीण भेगमा पर्छ।
भारतबाट स्वदेश फर्किएका मानिसलाई क्वारन्टीन राख्न लागिएपछि जेठ १५ गते गाउँलेहरूले कृष्ण प्राथमिक विद्यालयको भवन भत्काएका थिए।
उक्त काममा सहभागी भएका व्यक्तिविरुद्ध प्रहरी मुचुल्कासहित उजुरी दिने तयारी भइरहेका बेला स्थानीय बासिन्दाले विद्यालय भवन जस्ताको तस्तै बनाउने सहमति गरेको अधिकारीहरूले बताए।
उक्त वडाका वडाध्यक्ष शशी बुढाले "भत्काएको विद्यालय भवन गाउँलेले नै बनाउने र विद्यालय स्थापनाको लागि वडाले आवश्यक पहल गर्ने सहमति भएपछि प्रहरीलाई जाहेरी नदिएको" जानकारी दिए।
उनले भने, "गाउँको कुरा गाउँमै मिलाइयो। हप्ता दिनभित्र भवन निर्माण गर्न गाउँले सहमत भए। काम पनि सुरु गरिसकेकोले कारबाहीबाट पछि हट्यौँ।"
विद्यालय नहुँदा त्यहाँका बालबालिका पढ्नबाट वञ्चित भएकोले विद्यालय स्थापनाको लागि सक्दो पहल गर्ने उनले बताए।
गाभिएको विद्यालय
विद्यार्थी सङ्ख्या अपुग भएको भन्दै दुई वर्षअघि भेरी नगरपालिकाले कृष्ण प्राथमिक विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभेको थियो।
विसं २०६४ सालमा स्थापना भएको उक्त विद्यालयको चारकोठे भवन गाउँलेहरूले श्रमदानबाट निर्माण गरेका थिए।
तात्कालिक जिल्ला शिक्षा कार्यालयले सञ्चालन अनुमति मात्रै दिएको विद्यालय चार वर्षसम्म प्रत्येक घरले महिनामा १०० रुपैयाँ उठाएर शिक्षकलाई तलब खुवाउँदै चलाएका थिए।
पैसा उठाएर शिक्षक व्यवस्थापन गर्न नसकिने भएपछि २०६७ सालमा विद्यालयलाई पाँच कक्षाबाट तीन कक्षासम्म मात्र पढाइ हुने बनाइएको थियो।
त्यहाँ एक स्थायी र अर्को एक राहत दरबन्दीका शिक्षक रहेका थिए।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ


गाउँलेको चित्त दुखाइ
राज्यको लगानीबिना धेरै वर्षसम्म दु:ख गरी सञ्चालन गरेको विद्यालय आफूहरूको असहमति हुँदाहुँदै नगरपालिकाले गाभेपछि चित्त दुखेको गाउँलेहरूको गुनासो छ।
दुई वर्षअघि वैशाख २० गतेदेखि रिक्त रहेको विद्यालय भवनमा नगरपालिकाले एक्कासि क्वारन्टीन बनाउन खोजेपछि विद्यालयको काठ र ढुङ्गा निकालिएको उनीहरूको दाबी छ।
स्थानीय बासिन्दा नैनबहादुर ओली भन्छन्, "हाम्रा बालबच्चाको लागि विद्यालय बनाएका थियौँ । तर हामीले गरेको लगानी काम लागेन, त्यसैले काठ र ढुङ्गा निकालेर सुरक्षित राखेका छौँ।"
राज्यको लगानीबाट बनेको अर्को दुई कोठे भवन र शौचालय भने केही नचलाएको उनले बताए।

तस्बिर स्रोत, Courtesy: Rajendra Karki
नगरपालिकाले उक्त विद्यालयमा भएको शिक्षक दरबन्दी काटेर अन्यत्र लगेकोमा पनि गाउँलेको गुनासो छ।
विद्यालय गाभेर अन्यत्र लगिएपछि किटेनी, तिमिले, चन्दासैनी, दूधेपानी, चोत्री बिसाउन र नाउलाका ४७ घरका बालबालिका विद्यालय जानबाट वञ्चित भएको गुनासो गाउँलेको छ।
ती बस्तीबाट अन्य विद्यालयमा जान र आउन बालबालिकालाई दुईदेखि अढाइ घण्टा लाग्ने उनीहरू बताउँछन्।
विद्यालय टाढा भएपछि पढ्ने उमेर भएका २०/२५ जना बालबालिका घरमै बस्न बाध्य भएको गाउँलेको दाबी छ।
नगरपालिकाको भनाइ
भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती आवश्यक विद्यार्थी सङ्ख्या नभएकोले विद्यालय गाभ्नु परेको बताउँछन्।
उनी भन्छन्, "खाली भवन, गाउँदेखि एकान्त र दुईवटा वडाको पायक पर्ने ठाउँमा पर्ने भएकोले भारतबाट आएका व्यक्तिलाई राख्न क्वारन्टीन बनाउन लाग्दा केहीले अवरोध गर्दै विद्यालय भवन नै भत्काइदिए।"
सार्वजनिक सम्पत्ति हानि गर्ने व्यक्तिलाई कारबाही गर्ने उनले बताए।
'डरले भत्काए'
भारतबाट आएका व्यक्तिलाई राख्दा कोरोनाभाइरस सर्ने भन्दै गाउँलेले क्वारन्टीन व्यवस्थापनका लागि लिएका सामग्री फालेर भवन भत्काएको वडाध्यक्ष बुढा बताउँछन्।
विद्यालय भवन भत्किएपछि भगवती आधारभूत विद्यालयमा क्वारन्टीन बनाइएको वडा नम्बर ५ का वडाध्यक्ष श्यामलाल जैसीले बताए।
सञ्चारमाध्यममा समाचार आएपछि उक्त घटनाले ठूलो चर्चा पाएको थियो।
अहिले भारतबाट हजारौँ मानिसहरू घर फर्किएकाले उनीहरूलाई क्वारन्टीनमा राख्न स्थानीय सरकारले विद्यालयहरू प्रयोग गरिरहेका छन्।








