कोरोना भाइरस नेपाल: भारतबाट नेपालीहरू फर्किने क्रम बढ्दो, सीमामा गरिएन परीक्षण

बाँके
तस्बिरको क्याप्शन, फाइल तस्बिर
    • Author, विमला चौधरी
    • Role, बीबीसी न्यूज नेपाली, नेपालगन्ज

पश्चिम नेपालको भारतसँग जोडिएका सीमामा अलपत्र नागरिकहरूको आदानप्रदानपछि नाका पूर्ण रूपमा बन्द गरिएको अधिकारीले बताएका छन्।

नेपालगन्जको जमुनाहा नाकाबाट बुधवार बेलुकीदेखि बिहीवार बिहानसम्म २,७३८ नेपाली भित्रिएको र २,८११ भारतीय नागरिक उता गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिए।

बिहीवार बिहान ४ बजेबाट उक्त नाका पूर्णरूपमा बन्द गरिएको प्रहरी नायव उपरीक्षक सिंहले बताए।

यसरी नेपाल प्रवेश गरेकाहरूलाई स्थानीय निकायको जिम्मा लगाई क्वारन्टीन र स्वास्थ्य जाँचको व्यवस्था गरी घर पठाउन आग्रह गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरू उद्योग, होटल र कलकारखाना बन्द भएपछि नेपाल भित्रिन बाध्य भएको बताउँछन्।

कति नेपाली आए

गत हप्ता पश्चिम नेपालका विभिन्न नाकाबाट ६,००० भन्दा बढी नेपाली स्वदेश भित्रिएको बताइएको छ।

ती नेपालीहरूको ठेगाना पहिचान गरी सम्बन्धित स्थानीय तहको जिम्मा लाइएको र उनीहरूलाई क्वारन्टीनमा राखी स्वास्थ्य जाँच गरेपछि मात्रै घर पठाउन आग्रह गरिएको बाँके प्रहरी प्रवक्ता सिंहले बताए।

उनले भने, "भारतबाट आएका नागरिकहरूलाई महेन्द्र बहुमुखी क्याम्पसमा ल्याएर ठेगाना पहिचान गर्दै पठाउने गरिएको छ।"

बाँकेबाहेक अन्य जिल्लाका नागरिकलाई भने सम्बन्धित जिल्लाका प्रशासन प्रमुखलाई सम्पर्क गरी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस नेपाल: लकडाउनको दुई महिना बिताएपछि सर्वसाधरण भन्छन्, ‘अव के खाने, कहाँ जाने’

नाकामा परीक्षण भएन

यसअघि भारतबाट नेपाल प्रवेश दिइएकालाई सीमामै आरडीटी प्रविधिबाट कोरोनाभाइस परीक्षण गरेर सम्बन्धित जिल्लामा पठाइएको थियो।

तर यो पटक भने जमुनाहा नाकाबाट आउनेलाई जाँच नगरी पठाइएको अधिकारीले बताएका छन्।

विश्व स्वाथ्य सङ्गठनको मापदण्डअनुसार क्वारन्टीनमा बसेको सातदेखि १० दिनको बीचमा पीसीआर जाँच गर्नुपर्ने भएकाले अहिले परीक्षण नगरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।

श्रेष्ठले भने, "भारतबाट आएका सबै सम्बन्धित पालिकाको स्वाथ्यकर्मीको निगरानीमा क्वारन्टीनमा बस्छन्। एक हप्तापछि सबैको पीसीआर परीक्षण हुन्छ।"

अहिले प्रदेश नं ५ मा सर्वाधिक सङ्क्रमित फेला फरेका छन्। त्यहाँ क्वारन्टीनमा पनि हजारौँको सङ्ख्यामा भारतबाट फर्किएका मानिसहरू छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण
कोरोनाभाइरस ब्यानर

गौरीफन्टामा आरडीटी परीक्षण

सुदूरपश्चिम प्रदेशमा भने सामान्य ज्वरो र किटले भ्याएसम्म आरडीटी जाँच गरेर सम्बन्धित पालिकाहरुको क्वारन्टीनमा पठाउने गरिएको अधिकारीहरूले बताएका छन्।

प्रदेशको गौरीफन्टा नाकाबाट प्रवेश गरेकाहरूको आरडीटी जाँच गरेर मात्र सम्बन्धित जिल्लामा पठाउने गरिएको प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।

गौरीफन्टा नाकाबाट जेठ २, ३ र ७ गते मात्र करिब ३,००० जनालाई प्रवेश गराइएको जिल्ला प्रशासन कार्यालय धनगढीका सूचना अधिकारी शिवराज जोशीले बताए।

जोशीले भने, "सबैलाई जिल्ला स्वास्थ्य कार्यालयमा उपलब्ध किटले भ्याएसम्म आरडीटी जाँच गरेर पठाउने प्रयास गरिएको छ।"

भारतको पलियामा रोकिएका करिब ५०० नेपालीलाई शुक्रवार दिउँसोसम्म प्रवेश गराउने पनि जोशीले जानकारी दिए।

बाँके
तस्बिरको क्याप्शन, बाँकेबाट भारत फर्किन लागेका भारतीय नागरिकहरू

कर्णालीले सबैको परीक्षण गर्ने

कर्णाली प्रदेशले भने आरडीटी परीक्षण गरेर मात्र भारतबाट आएका नागरिकलाई क्वारन्टीन राख्ने बताएको छ।

कर्णाली प्रदेशमा प्रवेश गर्नेलाई तीन स्थानमा आरडीटी प्रविधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।

मन्त्री रावलले भने, "सल्यान, जाजरकोट, रुकुम जानेलाई सल्यानको सल्लीबजारमा, दैलेखदेखि माथिल्लो जिल्लामा जानेलाई गुराँसेमा र सुर्खेत लगायतका जिल्लाकालाई बबइमा जाँच गरेर प्रवेश गराएका छौँ।"

आरडीटीमा पोजेटिभ देखिए पीसीआर परीक्षणका लागि पठाउने र त्यसको रिपोर्टको आधारमा उपचारको व्यवस्था गरिने रावलले बताए।

हुम्ला, डोल्पा र मुगुका बासिन्दालाई जिल्लामा जान कठिन भएकाले सुर्खेतस्थित प्रदेशकै क्वारन्टीनमा राखेर पठाउने जानकारी दिँदै मन्त्री रावलले अन्यलाई सम्बन्धित स्थानीय पालिकाको क्वारन्टीनमा राख्ने बताए।

मन्त्री रावलले बिहीवार जमुनाहाबाट प्रवेश गरेकामध्ये १,९३० जना कर्णाली प्रदेशका बासिन्दा भएको बताए।