कोरोना भाइरस सङ्क्रमणः कोभिड-१९ र साधारण रुघाखोकी कसरी छुट्याउने? के गर्ने र के नगर्ने?

- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली, झापा
कोरोनाभाइरस सङ्क्रमणका प्रारम्भिक लक्षण तथा साधारण रुघाखोकीका लक्षणहरू मिल्दाजुल्दा भएकाले कस्तो अवस्थामा अस्पताल जाने भन्ने कुराले सर्वसाधारणलाई अन्योलमा पारेको छ।
केही सातायता देशका विभिन्न स्थानमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बेला सर्वसाधारणलाई कोरोनाभाइरस सङ्क्रमण र रुघाखोकी छुट्याउन अप्ठ्यारो परेको देखिएको छ।
तर घरबाहिर ननिस्केका तथा कोभिड-१९ पुष्टि भएको वा सम्भावित सङ्क्रमितको संसर्गमा नआएका व्यक्तिमा रुघा वा खोकी लागेमा स्वास्थ्यकर्मीको सल्लाहमा घरमै उपचार गर्न सकिने विज्ञहरूले बताएका छन्।
'कोभिड-१९ मा सुक्खा खोकी'
अहिले सबै प्रदेशमा कोरोनाभाइरस पुगेको पुष्टि भइसकेको छ।
बाँके, पर्सा, उदयपुर, कपिलवस्तु, झापा र रौतहट जिल्लमा बढी प्रभावित भएका छन्।
तर मौसम परिवर्तन भइरहेको अवस्थामा साधारण रुघाखोकीको समस्या पनि सर्वसाधारणले भोगिरहेका छन्।
कोभिड-१९ सँग केही समान लक्षण भएकाले सर्वसाधारणहरू रुघाखोकी लाग्दा पनि त्रसित हुने गरेका छन्।
कोरोनाभाइरस सङ्क्रमणका लक्षणका बारेमा बताउँदै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बाँस्तोलाले भने, "कोभिड-१९ मा मुख्यतया सुक्खा खोकी लाग्छ।"

"सुक्खा खोकी लागेको पाँच दिनजतिमा निमोनिया हुनसक्छ। त्यसपछि केही व्यक्तिहरुलाई साह्रो हुनसक्छ र भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ।"
अन्य व्यक्तिमा साधारण लक्षण पनि नदेखिने उनले बताए।
छालामा समस्या आउने तथा गन्ध थाहा नपाउने पनि कोभिड-१९ का लक्षण भएको डा. बाँस्तोला बताउँछन्।
घरबाहिर नगए कम जोखिम
घरबाहिर ननिस्केका, कोरोनाभाइरस सङ्क्रमण फैलिएको स्थानबाट आएका मानिसको सम्पर्कमा नआएका, सङ्क्रमितको नजिक नगएका व्यक्तिमा रुघा वा खोकी लागेमा चिकित्सकको सल्लाहमा घरमै उपचार गर्न सकिने डा. बाँस्तोलाले बताए।
तर सङ्क्रमण फैलिएको स्थानबाट आएका व्यक्ति, सङ्क्रमित व्यक्तिसँगको सम्पर्क तथा घरका सदस्य सङ्क्रमण फैलिएको स्थानमा गएर घर फर्केका छन् भने कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्ने उनी बताउँछन्।
उनले भने, "अहिलेको परिस्थितिमा यदि रोगग्रस्त क्षेत्रका मानिसहरूसँग सम्पर्क भएको छ र लक्षण देखियो भने चिकित्सकको सल्लाह लिनु नै राम्रो हुन्छ।"
"अझ सास फेर्न गाह्रो हुने, उच्च ज्वरो आउने लक्षण छ भने त अस्पताल जानैपर्छ।'


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

अधिकांश सङ्क्रमितमा लक्षण छैन
सुरुसुरुमा केही लक्षण देखिएको भए पनि अहिले कोभिड-१९ पुष्टि भएका अधिकांश व्यक्तिमा सामान्य लक्षण पनि नदेखिएकाले लक्षणका आधारमा बिरामीलाई दिइनुपर्ने औषधि दिनु नपरेको चिकित्सकहरू बताउँछन्।
कोशी अस्पताल विराटनगरको कोभिड-१९ उपचार केन्द्रका चिकित्सक डा. दीपक सिग्देलले लक्षण नदेखिएका तर सङ्क्रमण देखिएका व्यक्तिलाई पनि आइसोलेशनमा राख्नैपर्ने बताए।
उनले भने, "सङ्क्रमितलाई त आइसोलेशनमा राख्नैपर्छ। त्यो पनि विशेष आइसोलेशनमा। कोठामा राख्छौँ, बाहिर निस्कन दिँदैनौँ।"
"खानेकुरा खान दिने हो। बिरामीलाई अप्ठ्यारो पर्यो भने पीपीई लगाएर जाँच गर्न जाने हो। उहाँहरूलाई दिइएको खानेकुरा (बाँकी भए) र खान दिएका सामान जलाउनुपर्छ। सरफफाइमा विशेष ध्यान दिने हो।"

रुघाखोकी लाग्दा कस्तो सावधानी?
घरमा कसैलाई रुघा लागे वा कोरोनाभाइरस सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण पाइए परिवारका अन्य व्यक्तिसँग भौतिक दूरी बढाउन चिकित्सकको सुझाव छ।
आवश्यकताअनुसार मास्क लाउन, भरसक अलग भान्छाकोठा र शौचालय प्रयोग गर्न वा बिरामीलाई भौतिक दूरी कायम गरेर खाना दिने तथा छुट्टै कोठामा सुत्ने व्यवस्था गर्न मेची अस्पतालका चिकित्सक डा. पिताम्बर ठाकुरले सुझाव दिएका छन्।
उनले भने, "यति कुरा घरमा गरे कोभिड-१९ पनि फैलिने सम्भावना कम हुन्छ।"
तर रुघाखोकीसँगै सास फेर्न अप्ठ्यारो हुने र अन्य लक्षण देखिए तुरुन्त अस्पताल जान उनको सुझाव छ।








