कोरोना भाइरस नेपालः कोभिड-१९ का गम्भीर बिरामीमा प्रभावकारी औषधि डेक्सामेथासोन अन्य अवस्थामा खतरनाक हुन सक्ने चेतावनी

तस्बिर स्रोत, Getty Images
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
ब्रिटेनमा कोरोनाभाइरसका गम्भीर बिरामीमा डेक्सामेथासोन नामक औषधिले देखाएको सकारात्मक असरबारे चर्चा भइरहँदा नेपालमा त्यसको प्रयोगबारे सचेत हुनुपर्ने चिकित्सकहरूले बताएका छन्।
चिकित्सकहरूका अनुसार केही रोगको गम्भीर अवस्थामा विशेषज्ञ चिकित्सकको सल्लाह तथा निगरानीमा मात्रै बिरामीलाई डेक्सामेथासोन दिन मिल्छ।
यसअघि कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन यो औषधिले मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्।
नेपालमा चिकित्सकहरूले ब्रिटेनमा गरिएको अनुसन्धानबाट आशा पलाए पनि अहिले नै हौसिनुपर्ने अवस्था नरहेको बताएका छन्।
आशा पलायो तर पर्खनुपर्छ
श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ डा. अर्जुन कार्कीले बुधवार बीबीसी न्यूज नेपालीसँग भने, "अलिकति आशा चाहिँ पलायो। तर कतिपय रोगका गम्भीर बिरामीको हकमा यसले काम गर्ने भएकोले कोभिड-१९ हुँदैमा सबैलाई प्रयोग गर्ने होइन।"
"अध्ययनको विस्तृत नतिजा नआएसम्म नेपालमा त्यतिकै प्रयोग गर्ने कुरा हुँदैन। विश्व स्वास्थ्य सङ्गठन र अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले पनि केही बोलेको छैन।"
"खास ठाउँमा देखिएको प्रारम्भिक नतिजाले मात्रै केही भन्न मिल्दैन। अहिले केही समय पर्खिनु नै बुद्धिमानी हुन्छ," डा. कार्कीले थपे।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका छाती रोग विशेषज्ञ तथा कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दास पनि डा. कार्कीसँग सहमत छन्।

डेक्सामेथासोन प्रयोग आफैँमा खतरामुक्त नभएको बताउँदै डा. दासले भने, "कोभिड-१९ ले गराएको ज्वरो होइन भने यसको प्रयोग खतरनाक हुन सक्छ।"
"यसले मधुमेह, रक्तचाप र अरू ब्याक्टेरीअल सङ्क्रमण भए त्यसलाई पनि बढाउन सक्छ। यसले अल्सर पनि गराउन सक्छ।"
डा. कार्कीका अनुसार डेक्सामेथासोनले रोगप्रतिरोधक क्षमतालाई पनि कमजोर बनाउँछ।
के हो डेक्सामेथासोन?
चिकित्सकहरूका अनुसार यो स्टेरोइडमा आधारित एक प्रकारको औषधि हो जुन विभिन्न रोगमा प्रायः प्रयोग भइरहेको छ।
डा. दास भन्छन्, "निमोनिया, निश्चित प्रकारको बाथ रोग र ब्याक्टेरीअल मेनेन्जाइटिस लगायतका बिरामीमा यसको प्रयोग गरिन्छ।"
डा. कार्कीका अनुसार बिरामीको सम्पूर्ण पक्षको विश्लेषण गरेपछि विशेषज्ञ चिकित्सकले सघन उपचार कक्षमा दिने औषधि भएकोले आफैँले प्रयोग गर्न मिल्दैन।
निमोनियाको बिरामी हकमा पनि यसले मृत्युदर घटाएको र बिरामीलाई भेन्टीलेटरमा जानबाट रोक्न सघाएको डा. दासले बताए।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

नेपालमा डेक्सामेथासोन सामान्यतया भारतबाट आयात गर्ने गरिएको र नेपालमै पनि उत्पादन हुने सरकारी अधिकारीहरू बताउँछन्।
सघन उपचार कक्षमा गम्भीर बिरामीहरूलाई नसामार्फत् डेक्सामेथासोन औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ।
नेपालमा उपलब्धताबारे औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने, "बजारमा चक्की र इन्जेक्सन दुवै स्वरूपमा डेक्सामेथासोन पाइन्छ। हामीकहाँ न्याश्नल हेल्थ केयरले उत्पादन गर्छ।"
उनका अनुसार नेपालमा वार्षिक कति मात्रामा डेक्सामेथासोन खपत हुन्छ भन्नेबारे यकिन तथ्याङ्क चाहिँ छैन।
ब्रिटिश अध्ययनले के भन्छ?
ब्रिटिश अनुसन्धानकर्ताहरूका अनुसार डेक्सामेथासोनले भेन्टीलेटरमा राखिएका बिरामी आठमा एकजना र अक्सिजन दिइएका २५ मा एक जनाको जीवन जोगाउने देखिएको छ।
अनुसन्धानकर्ताहरूले यदि उक्त औषधि सुरुदेखि युकेमा पाइएको भए ५,००० जीवन जोगिने थियो भनी उल्लेख गरेका छन्।
कोभिड-१९ को सङ्क्रमणमा भेन्टीलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई घटाउनुलाई ठूलो उपलब्धि मानिएको छ।








