कोरोना भाइरस: औषधि परीक्षणमा सहभागी हुन नेपाल पनि इच्छुक, यसरी अघि बढ्दैछ प्रक्रिया

तस्बिर स्रोत, Getty Images
विश्व स्वास्थ्य सङ्गठनमार्फत् भइरहेको कोरोनाभाइरस उपचारमा प्रयोग गर्न सकिने औषधिको परीक्षणमा नेपाल पनि सहभागी हुनेगरी प्राविधिक तयारी अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले 'सोलिड्यारिटी ट्रायल' अर्थात् ऐक्यबद्धता परीक्षण अभियानअन्तर्गत नेपालमा पनि कोभिड-१९ को नियन्त्रण र उपचारमा प्रयोग भइरहेका औषधिहरूलाई परीक्षणका लागि अनुमति दिन लागिएको जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठन नेपालका एक अधिकारीले सम्भावित औषधिको परीक्षणका लागि नेपाललाई प्राविधिक सहयोग उपलब्ध गराइरहेको भन्दै कुन औषधि परीक्षण गरिने भन्ने सरकारसँगको परामर्शबाट निर्धारण हुने जानकारी दिएका छन्।
अहिले ३५ देशमा कोभिड-१९ भएका ३,५०० भन्दा बढी मानिसलाई उक्त औषधिको परीक्षणमा सहभागी हुन छानिएको बताइन्छ।
के गर्दैछ परिषद्?
अहिले १०० वटाभन्दा बढी देश 'सोलिड्यारिटी ट्रायल'मा सहभागी भएका वा सहभागी हुन इच्छुक भएको बताइन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवाली विश्व स्वास्थ्य सङ्गठनको ऐक्यबद्धता समूह अन्तर्गतको परीक्षणलाई अनुमति दिने प्रकिया अन्तिम चरणमा रहेको जानकारी दिए।

तस्बिर स्रोत, NHRC
"अहिले हामी अनुसन्धानको लागि नैतिक स्वीकृति दिने अन्तिम चरणमा छौँ। परिषद्ले स्वीकृति दिएपछि उक्त अनुसन्धान अघि बढ्छ," उनले भने।
उनले परिषद्ले अनुमति दिएपछि सम्झौतामा हस्ताक्षर हुने र औषधिहरू विश्व स्वास्थ्य सङ्गठनले बाहिरबाट मगाउने भएकाले कति समयमा अनुसन्धान ठ्याक्कै अघि बढ्छ आफूले भन्न नसक्ने बताए।
उनले अनुसन्धानमा प्रयोग गरिने औषधि सम्झौता हस्ताक्षरका क्रममा तय हुने भन्दै त्यससम्बन्धी प्रोटोकल र अनुसन्धानमा प्रयोग हुने नमुनाको पनि निर्धारण गरिने उल्लेख गरे।
नेपाली अधिकारीहरूका अनुसार परीक्षणमा हाईड्रोक्सीक्लोरोक्वाईन, क्लोरोक्वाईन र रेम्डेसिभिरजस्ता औषधि प्रयोग गर्न सकिने भन्नेबारे छलफल भइरहेको छ।
अन्य देशमा हाईड्रोक्लोरोक्वाईन, क्लोरोक्वाईन, रेम्डेसिभिर, लोपिनोभिर, रिटोनोभिर र इन्टर्फेरनजस्ता औषधिहरूको परीक्षण हुँदै आएको छ।
सदस्यसचिव डा. ज्ञवालीले डब्ल्यूएचओसँगको समझदारीका आधारमा कुनै एक औषधि नेपालमा परीक्षण हुने बताए।
के भन्छ डब्ल्यूएचओ?
औलोको उपचारमा प्रयोग हुने हाईड्रोक्लोरोक्वाईनले घातक परिणाम दिन सक्ने चिकित्सकहरूले बताएका छन्। त्यसपछि डब्ल्यूएचओले सावधानी अपनाउन भन्दै केही दिन उक्त औषधिलाई परीक्षणमा प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको थियो।
तर अघिल्लो सातामात्रै डब्ल्यूएचओले उपलब्ध तथ्याङ्कहरूले परीक्षणसम्बन्धी मापदण्ड परिमार्जन गर्नुपर्ने कुनै आवश्यकता नरहेको देखाएको उल्लेख गरेका छन्।

तस्बिर स्रोत, Getty Images
नेपालस्थित डब्ल्यूएचओका प्रवक्ता सुजनगोविन्द अमात्यका अनुसार नेपाल सरकारले औषधिहरूको परीक्षणमा सहभागी हुने इच्छा व्यक्त गरेको छ।
उनले भने, "अहिले विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले नेपाल सरकारलाई परीक्षणमा सहभागी हुन प्राविधिक सहायता उपलब्ध गराइरहेको छ। अनुसन्धानमा प्रयोग गरिने औषधि नेपाल सरकारसँगको छलफलपछि निर्धारण हुनेछ।"
डब्ल्यूएचओले कोभिड-१९ को अप्रमाणित कुनै पनि किसिमका उपचार विधि प्रयोग गर्न बिरामीहरूलाई सिफारिस नगर्न चिकित्सक वा स्वास्थ्य समूहलाई अनुरोध गर्दै आएको छ।
प्रक्रिया कस्तो छ?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले नैतिक स्वीकृतिबाहेक अभिलेखीकरण पनि गरिनुपर्ने भन्दै डब्ल्यूएचओले पनि 'क्लिनिकल ट्रायल रजिस्ट्री'मा आफूलाई दर्ता गराउनुपर्ने बताए।

तस्बिर स्रोत, Getty Images
डब्ल्यूएचओसँग परिषद् सम्पर्कमा रहेको उल्लेख गर्दै अनुसन्धानको ढाँचासहित विविध विषयहरू टुङ्गिन बाँकी रहेको उनले बताए।
उनी भन्छन्, "अहिलेसम्म कुनै पनि औषधिलाई नेपालमा परीक्षण गर्नका लागि अनुमति दिएका छैनौँ। मन्त्रालय र परिषद् मिलेर निर्देशिका बनाएका छन् र कसैले अध्ययन गर्न चाहनुहुन्छ भने निर्देशिकाको आधारमा दिन सकिने भन्ने कुरा छ।"
अधिकारीहरूले निर्देशिकामा भएका व्यवस्थाअनुसार अनुसन्धान प्रस्ताव स्वीकृत गराएर नेपालमा देशभित्र र बाहिरका व्यक्तिगत, समूहगत वा औषधि निर्माण गर्ने निकायले विभिन्न औषधिको परीक्षणहरू गर्न सक्ने बताउँछन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ










