कोरोना भाइरस नेपाल: परीक्षण शुल्क घट्यो, अब तीन खाले मानिसको मात्र निःशुल्क परीक्षण

परीक्षण

तस्बिर स्रोत, EPA

स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निःशुल्क परीक्षण गर्ने निर्णय गरेको छ।

आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावलोकन गरिएको अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, "अब सङ्क्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्ने व्यक्तिहरूको मात्र निःशुल्क परीक्षण गर्ने निर्णय भएको छ।"

अन्य व्यक्तिहरूले शुल्क तिरेर परीक्षण गराउन सक्नेछन्।

सरकारले निशुल्क परीक्षण गर्ने व्यवस्था रहेकाले कतिपयले आशङ्काकै भरमा परीक्षण गराउन खोज्ने र भनसुन बढी हुने गरेका खबरबीच मन्त्रालयले नयाँ निर्णय लिएको हो।

डा. अधिकारीको भन्छन्, "परीक्षणले दिने प्रतिफल र त्यसमा लाग्ने लागतलाई पनि हेर्नुपर्ने भएकाले यसअघि उदार भएर गरिँदै आएको परीक्षण व्यवस्थालाई समयसापेक्ष बनाउनुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो।"

घट्यो शुल्क

तीन प्रकारका व्यक्तिबाहेक अन्य व्यक्तिले परीक्षण गराउन चाहेमा शुल्क तिर्नुपर्ने छ।

शुल्क लिएर परीक्षण गर्न ११ वटा निजी अस्पताललाई अनुमति दिइएको छ।

त्यस्तै उपत्यकाका तीनवटा र अन्य छवटा प्रदेशमा छवटा सरकारी अस्पतालमा पनि शुल्क तिरेर परीक्षण गराउन सकिन्छ।

स्वास्थ्यकर्मी

तस्बिर स्रोत, RSS

सहप्रवक्ता डा. अधिकारीका अनुसार परीक्षणको व्यवस्था परिमार्जन गरिएसँगै शुल्क पनि घटाइएको छ।

आइतवारदेखि लागु

अब अधिकतम कुल ४,४०० रुपैयाँ लिएर परीक्षण गर्नुपर्नेछ। यसअघि ५,५०० रुपैयाँमा सेवा शुल्क थप गरी लिन पाउने व्यवस्था थियो।

परीक्षणको अनुमति प्राप्त निजी र सरकारी दुवैथरी अस्पतालमा घटाइएको शुल्क तिरेर परीक्षण गराउन सकिने छ।

सहप्रवक्ता डा. अधिकारीले भने, "निर्धारण गरिएको नयाँ शुल्कभन्दा धेरै कसैले पनि लिन नपाउने मन्त्रालयको निर्णय छ।"

उक्त निर्णय आइतवारदेखि नै लागु भएको उनले जानकारी दिए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर