कोरोना भाइरस नेपाल: सङ्क्रमितको दर बढ्दै जाँदा सरकारलाई विगतको कमजोरी नदोहोर्‍याउन विज्ञहरूको सुझाव

कोरोनाभाइरस नमुना सङ्ककलन

तस्बिर स्रोत, EPA

पहिला भारतसँग सीमा जोडिएका जिल्लाहरूमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढी भएकोमा केही सातादेखि काठमाण्डू उपत्यकामा पनि सङ्क्रमित फेला पर्ने क्रम बढेको छ।

उपत्यकामा शुक्रवार १०६ जनामा कोभिड पुष्टि भयो जुन २४ घण्टाको अवधिमा देशभरि थपिएका कुल सङ्क्रमितको झन्डै एकचौथाइ सङ्ख्या हो।

सरकारले सङ्क्रमणदर बढिरहेको भन्दै काठमाण्डू उपत्यकामा अस्पतालमा बिरामी भर्नाका लागि आवश्यक शय्या र उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव हुनसक्ने बताएको छ।

शुक्रवार काठमाण्डू, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी भएको बैठकमा पनि उपत्यकाका अस्पतालमा शय्याको अभाव हुने चिन्ता व्यक्त भएको थियो।

तर विज्ञहरूले भने सङ्क्रमणपछिको उपचारमा भन्दा पनि सङ्क्रमण रोकथामकै लागि कन्ट्याक्ट ट्रेसिङ र क्वारन्टीनस्थलको व्यवस्थापनमा जोड दिन सुझाएका छन्।

यो परिस्थितिमा सर्वसाधारण जनता आत्तिनेगरी चेतावनी दिनुभन्दा योजनाबद्ध रूपमा रोग नियन्त्रणका लागि काम हुनुपर्ने उनीहरूको ठम्याइ छ।

अब के गर्नुपर्छ?

कोभिड प्रभावित जिल्लाबाट भित्रिने मानिसको सङ्ख्या बढेकाले काठमाण्डू उपत्यकामा सङ्क्रमितहरूको सङ्ख्या र गम्भीर बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको बताइन्छ।

यस्तो बेला सरकारले जनतालाई अस्पतालमा शय्या र स्वास्थ्यकर्मीको अभाव हुनसक्ने भन्दै चेतावनी दिनुको सट्टा सङ्क्रमण नियन्त्रणमै जोड दिनुपर्ने विज्ञहरू बताउँछन्।

"विगत छ महिनामा सरकारको ध्यान खासगरी प्रयोगशाला थप्न र परीक्षणको सङ्ख्या बढाउनमा देखिन्छ। अहिले सङ्क्रमित बढ्न नदिनका लागि सरकारले सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरूलाई परीक्षणमा ल्याउने नै हो," जनस्वास्थ्यविज्ञ तथा ह्याम्स अस्पतालमा कार्यरत डा. किरणराज पाण्डेले भने।

बिरामीको सङ्ख्या बढ्दै गएपछि काठमाण्डूकै अस्पतालले पनि थेग्न नसक्ने कुरा आफूहरूले सरकारलाई छ महिना अघिदेखि नै भन्दै आएको उनले बताए।

"सरकारले अहिले उपत्यका भित्रिने मानिसको पीसीआर परीक्षण गर्ने त हो नै, त्यससँगै भित्रिनेहरूमा सङ्क्रमण देखिन सक्ने कुरा पनि ख्याल गरेर क्वारन्टीनमै राख्ने व्यवस्था गर्नुपर्छ हो," उनले भने।

स्वाब सङ्कलन गरिँदै

तस्बिर स्रोत, EPA

के भन्छ सरकार?

स्वास्थ्य मन्त्रालयले बिहीवार र शुक्रवार पाँच-पाँच जनाको कोभिड-१९ का कारण मृत्यु भएको पुष्टि गरेको थियो। गम्भीर लक्षण भएका बिरामी र मृतकको सङ्ख्या बढ्न थालेको भन्दै मन्त्रालयले बैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ।

"काठमाण्डू उपत्यकालगायत घना बस्ती भएका क्षेत्रहरूमा कोरोना सङ्क्रमणमा वृद्धि भइरहेकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भाना रहेको छ। सङ्क्रमण बढ्दै गएमा हाम्रा अस्पतालले धान्न सक्दैन र हाम्रा स्वास्थ्यकर्मीहरू पनि अपुग हुनसक्छन् र अकालमा ज्यान जान सक्छ," स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार आफ्नो दैनिक प्रेस ब्रीफिङमा भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार महिनामा साउन महिनाको अन्त्यतिर कोरोनाभाइरस महामारी नेपालमा उत्कर्षमा पुग्ने बताएका थिए। त्यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले पनि नेपालमा सङ्क्रमतिको सङ्ख्या साउन महिनामा सङ्क्रमितको सङ्ख्या उच्च हुने पूर्वानुमान गरेका थिए।

"हाम्रो अनुमान अहिले देखिएको २२,००० भन्दा धेरै हुन्छ भन्ने थियो। तर बेलैमा सङ्क्रमण नियन्त्रणका लागि भएका प्रयासहरूले काम गरेर अनुमानित सङ्ख्याभन्दा कम भएको हो," मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने।

उनका अनुसार त्यति बेला अनुमान गरेर नै सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि खासगरी चीन र भारतबाट उल्लेख्य सामानहरू मगाइएको थियो।

"व्यक्तिगत सुरक्षा सामग्रीदेखि परीक्षणका सामग्रीलाई हामीले प्राथमकितामा राखेर करिब दुई महिनाअघि मगाएका थियौँ। चीनमा हाम्रो मागअनुसार धेरै आएका छन्," डा. अधिकारीले भने।

"उपचारका क्रममा चाहिने भेन्टिलेटर, आईसीयू बेड, मोबाइल अस्पताललगायतका सामग्री भने प्रक्रियामै छ।"

कस्तो योजना चाहिन्छ?

अहिलेको अवस्थामा १,५०० गम्भीर बिरामीहरूको उपचार गर्ने अवस्था रहेको सरकारले दाबी गरेको छ।

तर बिरामीको चाप अत्यधिक बढेपछि ठूलो सङ्ख्यामा भेन्टिलेटर र आईसीयू आवश्यक हुने तर सरकारले दाबी गरेअनुरूप क्षमता रहेको आफूले नदेखेको जनस्वास्थ्यविद्हरूले बताएका छन्।

नेप्लिज सोसाइटी अफ क्रिटिकल केअर यूनिटले वैशाखमा सार्वजनिक गरेको एउटा अनौपचारिक सर्वेक्षणअनुसार काठमाण्डू उपत्यकामा रहेका ४७ अस्पतालमा आईसीयू शय्या ५२७, भेन्टिलेटर २९३, आइसोलेशन कक्ष ५८ र आईसीयूमा काम गर्ने नर्सहरूको सङ्ख्या ७६७ भएको देखाउँछ।

तर कोरोनाभाइरसबाट सङ्क्रमित हुने बिरामीहरूको अवस्था गम्भीर हुँदै गए ती पूर्वाधार र जनशक्ति अपुग हुने चिकित्सकहरू बताउँछन्।

जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, "सरकारले अभाव भएको कुराको व्यवस्था गर्ने हो। साउनको मध्यतिर सङ्क्रमण उत्कर्षमा पुग्छ भनेर अनुमान गर्ने अनि त्यसका लागि स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था नगरेर सर्वसाधारणलाई चेतावनी दिनु ठिक होइन।"

उनका अनुसार स्वास्थ्यकर्मीको अभाव हुने देखिए कहाँ कार्यरत वा अध्ययनरत चिकित्सकहरूलाई कुन क्षेत्रमा खटाउने भन्ने योजना बनाउनुपर्छ।

"भर्खरै एमबीबीएस गरेका वा एमडी गर्दै गरेका डाक्टरलाई कुन क्षेत्रमा खटाउने भन्ने योजना बनाउनुपर्छ," उनले भने।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार चिकित्सकहरूको अभाव हुनसक्ने अवस्था ख्याल गरेर निजी अस्पतालका चिकित्सकहरूको पनि सहयोग लिनेगरी छलफल भइरहेको छ।

"भोलि विशेषज्ञता भएका चिकित्सकहरूको पनि अभाव हुँदै गए उनीहरूलाई पनि खटाउनुपर्ने हुनसक्छ भनेर त्यसका लागि पनि छलफल भएको छ," उनले भने।

काठमाण्डू उपत्यकामा अझै पनि सङ्क्रमण नियन्त्रण गर्न सकिने र त्यसका लागि क्वारन्टीनको क्षमता र स्तर यथाशीघ्र बढाउनुपर्ने डा. पाण्डेको धारणा छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर