कोरोना भाइरस नेपाल: एकै दिन १२ सयभन्दा बढी सङ्क्रमित, १४ जनाको मृत्यु

तस्बिर स्रोत, Science Photo Library
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप १,२२१ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३८,५६१ पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।
आइतवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यो अवधिमा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको बताए।
यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ।
आइतवार काठमाण्डू जिल्लामा सर्वाधिक ३७२ सङ्क्रमित फेला परेका हुन्। ललितपुर १२ र भक्तपुरमा ४५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।
उनका अनुसार अहिले देशभरि १७,५१८ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,६१२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,९०० जना घरमै छन्।
अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।
मृतक को हुन्?
आइतवार मृत्यु पुष्टि भएकाहरूमा चार जना महिला र १० जना पुरुष रहेका छन्।
तीमध्ये महोत्तरीका तीन जना, सुनसरी र रूपन्देहीका दुई-दुई जना रहेका छन्।

मृत्यु हुने महिलाहरूमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाण्डूकी ७२ बर्षीया व्यक्ति रहेका छन्।
पुरुषहरूमा सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय, रौतहटका ३० वर्षीय, ललिपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६२ वर्षीय एवम् रुपन्देहीका ५७ र ६७ वर्षीय व्यक्ति रहेका छन्।
सङ्क्रमित कुन जिल्लामा बढी?
आइतवार सङ्क्रमण पुष्टि भएकाहरूमा सबैभन्दा बढी काठमाण्डू जिल्लाका ३७२ जना रहेका छन्।
त्यस्तै बाराका ८२ जना, धनुषाका ७५ जना, रूपन्देहीका ६१ जना, मोरङका ४९ जना, बझाङका ४७ जना र पर्साका ४६ जनामा सङ्क्रमण भएको छ।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टाको अवधिमा १२,७१७ वटा नमुनाको परीक्षण गरिएको थियो।
सो अवधिमा २६७ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।
देशभरि क्वारन्टीनमा ७,७९७ जना छन्।
सङ्क्रमितमध्ये गम्भीर लक्षण देखिएका २१७ जना भेन्टिलेटरमा छन्।
मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










