कोरोना भाइरस नेपाल: कोभिड-१९ पुष्टि हुने क्रम जारी, सङ्क्रमितको कुल सङ्ख्या २८१ पुग्यो

शनिवार स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या २८१ पुगेको छ।

मन्त्रालयले शनिवार साँझ थप दुई जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि गरेको छ।

योसहित शनिवार मात्रै साँझसम्म १३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

शुक्रवार १८ जना सङ्क्रमित फेला परेका थिए।

सुत्केरीको मृत्युबारे के भन्छ सरकार?

काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भई घर फर्किएकी सिन्धुपाल्चोककी एक २९ वर्षीया महिलाको कोरोनाभाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

शनिवार दिउँसो नियमित पत्रकार सम्मेलनकाबेला के कारणले उनको मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका प्रवक्ताले बताएका थिए। (यो विवरण शनिवार साँझ ०९:१० मा अद्यावधिक गरिएको हो।‍- सम्पादक)

वैशाख २३ गते अस्पताल भर्ना भएकी उनले भोलिपल्ट बच्चा जन्माएको र वैशाख २५ गरे घर फर्किएकी थिइन्।

"घरमा गइसकेपछि ज्वरो श्वासप्रश्वासमा समस्या लगायतका शारीरिक समस्या भएपछि उहाँले स्थानीय अस्पतालमा उपचार गराउनुभएको कुरा हामीलाई जानकारीमा आएको छ," देवकोटाले भने।

"स्थिति जटिल बन्दै जाँदा थप उपचारका लागि धुलिखेल अस्पताल आउँदै गर्दा उहाँको मृत्यु भएको खबर हामीले पाएका छौँ। यस सम्बन्धमा हामीले विस्तृत विवरण लिइरहेका छौँ र कोभिड-१९ सँग सम्बन्धित थप परीक्षणहरू भइरहेका छन्।

उनका अनुसार ती परीक्षण र अन्य विवरण प्राप्त भइसकेपछि मात्र मन्त्रालयले आधिकारिक रूपमा कोभिड-१९ सँगको सम्बन्धित मृत्यु हो वा हैन भनेर निर्क्योल गरेर बताउनेछ।

कहाँ कति सङ्क्रमित छन्?

हालसम्म २६ वटा जिल्लामा सङ्क्रमण भेटिएको छ। तर कर्णाली प्रदेशमा कतै पनि कोभिड-१९ पुष्टि भएको छैन।

अहिलेसम्म प्रदेश नं ५ मा १०९ र प्रदेश नं २ मा १०८ सङ्क्रमित फेला परेका छन्।

प्रदेश नं ५ मा सङ्क्रमण पुष्टि भएका सबै जना अहिले आइसोलेशनमा छन् भने प्रदेश नं २ मा केही व्यक्ति निको भएर अस्पतालबाट फर्किएका छन्।

सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ३६ जनामा, वाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका पाँच जना छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिवार अपराह्णसम्म १६,३६६ व्यक्ति देशका विभिन्न स्थानमा क्वारन्टीन छन्।

तीमध्ये प्रदेश नं ५ मा सबैभन्दा धेरै १०,२२२ जना र वाग्मती प्रदेशमा सबैभन्दा कम २०० जना छन्।

मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म पीसीआर विधिवाट जम्मा २६,६९१ वटा र आरडीटी विधिबाट ६५,७४९ वटा परीक्षण गरिएको छ।

अहिले काठमाण्डू उपत्यकामा ३२ जनासहित देशभरि कुल ३२० जना आइसोलशनमा छन्। यो सङ्क्रमित र सम्भावित व्यक्तिसहितको सङ्ख्या भएको मन्त्रालयले जनाएको छ।