तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: भारतमा सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा बढी, खुला सीमा भएको नेपालमा कस्तो छ तयारी
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या चीनभन्दा माथि पुगेकोपछि भारतसँग खुला सीमा भएको नेपालमा 'खतरा' बढेको केही विज्ञहरूले बताएका छन्।
खुला सीमाका कारण भारतमा रहेका नेपालीहरूका साथै तुलनात्मक रूपमा कम सङ्क्रमित रहेको भन्दै केही भारतीयहरू नै पनि नेपालमा आउन सक्ने हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ।
नेपाल र भारतबीच 'रोटीबेटी' अर्थात् निकै घनिष्ठ पारिवारिक सम्बन्ध विकसित भएका कारण पनि आवतजावत गर्न सहज छ।
दुई देशका नागरिकबीच आवागमन नियन्त्रण गर्ने प्रयास प्रभावकारी हुन नसक्दा नेपालका लागि समस्या बढ्न सक्ने उनीहरूको धारणा छ।
अहिले भारतबाट नेपालीहरू फर्किने क्रम बढेको र सीमावर्ती जिल्लामा सङ्क्रमित भेटिएकाले नेपालले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न विलम्ब गर्न नहुने धारणा धेरैको छ।
के भारत र चीनको अवस्था?
विश्वव्यापी रूपमा कोभिड-१९ बारे तथ्याङ्क अद्यावधिक गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ८६ हजार पुग्न लागेको छ।
कोरोनाभाइरस सङ्क्रमण गत वर्ष चीनको वुहान राज्यबाट फैलिन सुरु भएको हो। चीनमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८४ हजार नाघेको छ।
नेपालमा हालसम्म कोरोनाभाइरसबाट २७८ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मृत्यु हुनेहरूको सङ्ख्याको हिसाब हेर्ने हो भने चीन अगाडि छ। त्यहाँ ४,६३७ जनाले ज्यान गुमाएका छन्। भारतमा उक्त सङ्ख्या २,७५३ छ।
तर चीनमा कोभिड-१९ नियन्त्रणमा आएको सङ्केत देखिन थालेको भए पनि भारतमा भने यो निकै तीव्र गतिमा फैलिरहेको छ।
धेरै सङ्क्रमित हुने राष्ट्रहरूको सूचीमा भारत अहिले ११औँ स्थानमा छ। त्यसबाट सङ्क्रमणको गतिको सङ्केत गर्ने विज्ञहरू बताउँछन्।
नेपालमा भने हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको पुष्टि भएको छैन। तर पछिल्ला केही हप्ताहरूमा सङ्क्रमितहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।
सरकारले काठमाण्डू उपत्यकामा जेठ ५ भित्र १०,००० जनाको परीक्षण गर्ने बताएसँगै उक्त सङ्ख्यामा व्यापक वृद्धि हुन सक्ने अनुमान गरिएको छ।
नेपालको तयारी कस्तो छ?
मुलुकका विभिन्न सहरमा सङ्क्रमण बढेसँगै नेपालमा पनि अस्पताल तथा विभिन्न पूर्वाधार अपुग रहेको बताइएको छ।
तर स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार नेपालमा अहिलेका सङ्क्रमितहरूमा सामान्य सङ्केत मात्रै देखिएको छ र उनीहरूलाई अस्पतालमा विशेष उपचारको आवश्यकता थिएन।
"तर सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले उनीहरूलाई अस्पताल ल्याउन खोजिएको हो," उनले भने। "तर सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गयो भने तीमध्ये पनि अस्पताल नै भर्ना गर्नुपर्ने आवश्यकता रहेकाहरूलाई मात्रै हामी भर्ना गर्नेछौँ।"
केही स्थानबाहेक अन्यत्र शय्या उपलब्ध भएको उनको दाबी छ।
पछिल्लो छ महिनाको विश्वव्यापी तथ्याङ्क हेर्दा दुईदेखि तीन प्रतिशत मानिस मात्रै अस्पताल नै बस्नुपर्ने गरी बिरामी हुने देखिएको डा. कार्की बताउँछन्।
"अहिलेसम्म स्वास्थ्य मन्त्रालयअन्तर्गत झन्डै २५,००० देखि २६,००० बेड (शय्या) हामीसँग छ। त्यसमा कति बेड आइसोलेसनका लागि अर्थात् सङ्क्रमितको उपचारका लागि अलग्गै राख्न सक्छौँ भनेर हेर्दा झन्डै ३,००० हुनेरहेछ," उनले भने।
सङ्क्रमण व्यापक रूपमा फैलिएको अवस्थामा सबै अस्पतालमा आफैँ कोभिड-१९ को उपचार गर्ने अस्पतालमा परिणत हुने उनको भनाइ छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
"तर हाम्रो अहिलेसम्मको अनुमान भनेको त्यो अवस्था आउँदैन भन्ने हो। उदाहरणका लागि गम्भीर रूपमा बिरामी भएकालाई मात्रै अस्पताल लाने हो भने पनि ९०,००० देखि एक लाख सङ्क्रमित हुँदा अस्पताल पुग्ने करिब ३,००० हो," उनले थपे।
उनका अनुसार नेपाल अहिलेसम्म सङ्क्रमण रोकथाम गर्न सक्ने अवस्थामा छ। पछि गएर विभिन्न सामग्री तथा उपकरण चाहिन सक्ने र त्यसका लागि हाल तयारी भइरहेको अधिकारीहरूको भनाइ छ।
"विभिन्न देशबाट त्यस्ता सामाग्री ल्याउन पहल गरिरहेका छौँ। सरकार सरकारबीच सहमति गरेर खरिद गर्ने हाम्रो योजना छ," कार्कीले भने।
नेपालका लागि अर्को समस्या सङ्क्रमितहरूले उठबस गरेकाहरूको कन्ट्याक्ट ट्रेसिङ पनि रहेको अधिकारीहरू स्वीकार्छन्।
"यसमा सङ्क्रमित व्यक्ति इमान्दार हुनुपर्छ। नागरिकको यसमा ठूलो दायित्व छ," उनले भने।
उपचार कस्तो हुन्छ?
डा. कार्कीका अनुसार अस्पतालमा भर्ना भएकाहरूलाई अलग्गै राखिन्छ र उनीहरूको नियमित जाँच गरिन्छ।
सबैभन्दा बढी ज्वरो नाप्ने गरिन्छ। त्यसबाहेक श्वासप्रश्वासको समस्या हुनेहरूलाई भेन्टिलेटरमा राखेर उपचार गरिन्छ।
शरीरको अवस्था हेरेर नियमित समयमा खाना खुवाइन्छ।
"तर अहिलेसम्म भेन्टिलेटर चाहिने बिरामी हामीकहाँ छैनन्," उनले भने।
जनशक्तिको अवस्था के छ?
चिकित्सकहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण श्वासप्रश्वास म्बन्धी रोग भएकाले सङ्क्रमितमध्ये पाँचदेखि १० प्रतिशतलाई सघन उपचार कक्षमा राख्नुपर्ने हुनसक्छ।
केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ। आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नका लागि तालिमप्राप्त जनशक्तिको आवश्यकता पर्ने नेपलिज सोसाइटी अफ क्रिटिकल केअर मेडिसिनका महासचिव डा. हेमराज पनेरुको भनाइ छ।
बीबीसीसँग गत महिना कुराकानीका क्रममा उनले सङ्क्रमणको दर बढे हाल उपलब्ध जनशक्तिले थेग्न नसक्ने अवस्था आउने बताएका थिए।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका अनुसार देशभरि १,४४३ जना स्वास्थ्यकर्मीहरू सघन उपचार सेवामा कार्यरत छन्।
क्रिटिकल केअर नर्सेज् असोसिएशन अफ नेपालले गत चार वर्षमा १५० नर्सलाई सघन उपचारसम्बन्धी तालिम दिइएको बताएको छ।
सरकारले हालै मात्र एक हजार थप स्वास्थ्यकर्मीलाई त्यस्तो तालिम दिने तयारी गरे पनि त्यो सम्भव नभएको अधिकारीहरूले बीबीसीलाई बताएका थिए।