हङ्‌कङ आन्दोलन: प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार, रातभरि झडप

हङ्ककङ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सोमवार बिहानीपख विश्वविद्यालयका प्रवेशद्वारहरूमा आगो लागेको थियो

हङ्‌कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच एउटा विश्वविद्यालय परिसरमा आइतवार रातभरि झडप भयो।

उनीहरूबीच सोमवार बिहान फेरि झडप भएपछि तनाव चर्किएको छ।

प्रदर्शनकारीहरूले पेट्रोल बम, ढुङ्गा र अरू घातक हतियार प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ।

राति पोलिटेक्निक यूनिभर्सिटी (पोलियू) भित्र प्रहरी प्रवेश गर्न खोजेपछि सयौँ प्रदर्शनकारीहरूले प्रतिरोध गरेका थिए।

प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम र बाण प्रहार गरेपछि विश्वविद्यालयका प्रवेशद्वारहरूमा आगो लागेको थियो।

अहिले प्रहरीले पोलियूलाई घेरेको छ।

आफूमाथि त्यस्तो आक्रमण नरोकिए गोली प्रहार गर्ने चेतावनी सुरक्षाकर्मीहरूले दिएका थिए।

हङ्ककङ

तस्बिर स्रोत, Getty Images

हङ्ककङ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरूले प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार गरेका थिए

महिनौँदेखि चलिरहेको सरकारविरोधी आन्दोलनका कारण हङ्‌कङ अस्तव्यस्त भएको छ।

चीनको अर्धस्वशासित भूभागका रूपमा रहेको हङ्‌कङमा आन्दोलन सुरु भएयता अहिले प्रदर्शनले सबैभन्दा उग्र रूप लिएको छ।

प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लाग्ने गरेको छ भने उग्र प्रदर्शनकारीहरूले प्रहरीलाई तारो बनाउने गरेका छन्।

प्रदर्शनकारीहरू केही दिनदेखि पोलियूमा कब्जा जमाएर बसेका छन्।

सोमवार भएको झडपमा प्रदर्शनकारीले प्रहार गरेको बाण खुट्टामा लागेर एक प्रहरी अधिकारी घाइते भएका छन्।

हङ्कङमा प्रदर्शनकारीहरू

तस्बिर स्रोत, AFP

विश्वविद्यालय कब्जा गरेर बसेका प्रदर्शनकारीहरूलाई तत्काल सो स्थान छोड्न प्रहरीले आइतवार राति आग्रह गरेको थियो।

विश्वविद्यालय प्रशासनले पनि उनीहरूलाई बाहिर जान आग्रह गरेको छ।

तर सयौँको सङ्ख्यामा रहेका उनीहरू बाहिर निस्किन मानेनन्। रातभरि प्रहरी र प्रदर्शनकारीबीच फाट्टफुट्ट झडप भइराख्यो।

हङ्ककङ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, प्रहरीको सञ्चार हेर्ने एक अधिकारीलाई खुट्टामा बाण लागेको थियो

प्रहरीले स्थानीय समयानुसार बिहान ५:३० बजेतिर पुन: विश्वविद्यालय परिसरलाई आफ्नो नियन्त्रणमा लिने प्रयास गर्‍यो।

तर उनीहरूमाथि पेट्रोल बमहरू प्रहार गरियो। त्यसबाट त्यहाँ आगो फैलियो।

पछि केही प्रदर्शनकारीहरू बाहिर निस्किन खोजेका थिए। तर प्रहरीले अश्रुग्यास प्रहार गरेपछि उनीहरू भित्रै फर्किए।

आइतवार फेसबुकमार्फत् प्रहरी प्रवक्ता लुई लाऊले आन्दोलनकारीहरूलाई सुरक्षाकर्मीमाथि पेट्रोल बम, बाण वा अन्य घातक हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए।

"यदि उनीहरूले त्यस्तो खतरनाक गतिविधि जारी राखे भने हामीसँग गोली प्रहार गर्नु समेत आवश्यकताअनुसार न्यूनतम बल प्रयोग गर्नुको विकल्प हुँदैन," उनले भने।

त्यसअघि विश्वविद्यालयनजिकै एउटा कार सुरक्षाकर्मीहरूतिर जोतिएर आएकाले गोली हानिएको प्रहरीले जनाएको छ।

हङ्ककङ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो

सरकारले मुख्यभूमि चीनलाई हङ्‍कङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्‌कङ आन्दोलित भएको थियो।

सरकारले उक्त योजना फिर्ता लिएको भए पनि अहिले आन्दोलनको माग र स्वरूप बदलिएको छ।

बृहत् प्रजातान्त्रिक अधिकार दिइयोस् र प्रहरीलाई उत्तरदायी बनाइयोस् भन्ने मागसहित आन्दोलन चर्किएको छ।

भर्खरै प्रशासनले हङ्‌कङ एक दशकमा पहिलो पटक आर्थिक मन्दीबाट प्रभावित भएको पुष्टि गरेको छ।

केही समययता हङ्‍कङस्थित विश्वविद्यालयहरू प्रहरी र प्रदर्शनकारीहरूबीच सङ्घर्ष हुने स्थान बनेका छन्।

हङ्‌कङको प्रशासनलाई चीनको समर्थनप्राप्त छ।

हङ्‌कङ सन् १९९७ सम्म ब्रिटेनको उपनिवेश थियो।

अहिले 'एक चीन, दुई प्रणाली' अन्तर्गत हङ्‌कङ चीनको अर्धस्वयात्त भूभागको रूपमा रहेको छ।