हङ्‌कङ तनावः प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप

चीन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्वीर

हङ्‌कङमा प्रदर्शनका क्रममा प्रहरी र प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूबीच हिंसात्मक झडपहरू भएका छन्।

प्रत्यक्ष प्रजातन्त्रको माग गर्दै प्रदर्शनकारीहरूले लगातार १७ औँ हप्ता प्रदर्शन गरेका हुन्।

विद्यार्थीहरूको नेतृत्वमा अम्ब्रेला मुभमेन्ट भनिने आन्दोलन गरिएको पाँच वर्ष पुगेको अवसरमा दशौँ हजार प्रदर्शनकारी शनिवार हङ्‌कङको संसद्‌नजिकै भेला भएका थिए।

पाँच वर्षअघि गरिएको उक्त आन्दोलनको उद्देश्य पनि अहिलेको जस्तै थियो।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो।

जवाफमा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गर्नुका साथै पेट्रोल बम हानेका थिए।

यसअघि शनिवार बिहान सन् २०१४ को आन्दोलनका अगुवामध्येका नेता जोस्‌अ वाङ्कले आउँदो हङ्‌कङको संसदीय चुनावमा आफू उठ्ने घोषणा गरेका थिए।

तनावको कारण

सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकले बलात्कार र हत्याजस्ता अपराधका सन्दिग्धलाई मुख्यभूमि चीन, ताइवान र मकाउसामु सुपुर्दगी गर्न सकिने प्रस्ताव गरेको थियो।

हङ्‌कङ सन् १९९७ यता 'एक देश, दुई प्रणाली' अन्तर्गत चीनको अङ्ग रहिआएको छ।

चीन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फाइल तस्वीर

त्यसले गर्दा विशेष प्रशासनिक एकाइले न्यायिक स्वतन्त्रतासहित मुख्य भूमिजस्तो नदेखिने स्वतन्त्रता उपभोग गर्दै आएको छ।

तर प्रदर्शनकारीहरू सुपुर्दगी विधेयकले हङ्‌कङलाई योजनाबद्ध ढङ्गबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको भनेर भय प्रकट गर्छन्।