हङकङ प्रदर्शन: सुपुर्दगी विधेयक स्थगित तर प्रदर्शन जारी

हङकङ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सुपुर्दगी विधेयक विपक्षमा हङकङमा हजारौँ मानिसहरू प्रर्दशनमा उत्रिएका छन्

हङकङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरेपनि आइतवार लाखौं मानिसहरूले प्रदर्शन जारी राखेका छन्।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्न सकिने प्रावधान भएको विधेयकको विरोधमा लाखौं नागरिकहरू गएको सप्ताहदेखि सडकमा उत्रिएका छन्।

हङकङको सरकारकी मुख्य कार्यकारी क्यारी लामले शनिवार अति विवादास्पद बन्न पुगेको सो विधेयक स्थगित गरेको घोषणा गरेकी हुन्।

तर प्रदर्शनकारीहरूले विधेयक रद्द हुनुपर्ने माग गरेका छन्। केहीले लामको राजीनामा समेत मागेका छन्।

आइतवार बिहान हङकङको भिक्टोरिया स्क्वायरमा कालो वस्त्र लगाएर वा हातमा सेतो फूल लिएर ठूलो सङ्ख्यामा प्रदर्शनकारी जम्मा भएका छन्।

हङकङ विरोध

तस्बिर स्रोत, Getty Images

ठूलो सङ्ख्यामा जम्मा भएका प्रदर्शनकारीका कारण धेरै सडक बन्द भएका छन् र ट्रेन स्टेशनहरू भिड भएको छ।

धेरै प्रदर्शनकारीले शनिवार ठूलो ब्यानर राख्ने क्रममा खसेर मृत्यु भएको एक प्रदर्शनकारीको सम्झनामा सेतो फूल बोकेका हुन्।

केही प्रदर्शनकारीहरूले लामको घोषणामा शङ्का व्यक्त गरेका छन्।

"क्यारी लामले हङकङका नागरिकहरूको अनुभूतिलाई वेवास्ता गरेकी छिन्," ६७ वर्षीय प्रदर्शनकारी माले भने। उनले लामले गत हप्ता लाखौं मानिसहरू सडकमा उत्रिदा पनि केही नभएको भान पारेको बताए।

"हामी प्रहरीले अमानवीय तरिकाले पिटेका विद्यार्थीहरूको पक्षमा प्रदर्शन गरिरहेकाछौँ, उनीहरूले न्याय पाउनुपर्छ।"

हङकङ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, क्यारी लामले आम विरोध प्रदर्शनपछि विधेयक स्थगित गरेको घोषणा गरिन्

हङकङ सरकारले ताइवानमा एक हत्याकाण्ड भएपछि सुपुर्दगी विधेयकले छिद्रहरू बन्द गर्ने र हङकङ अपराधीहरूका लागि सुरक्षित स्थल नहुने तर्क गरेको थियो।

लामले भनिन्, यो संसद अधिवेशन अन्त्य हुनु अगावै विधेयक पारित गर्नुपर्ने हतार "शायद अब छैन।"

आलोचकहरूले चीनको त्रुटीग्रस्त न्याय प्रणालीमा हङकङका मानिसहरूलाई समस्यामा पार्ने बताएका थिए र त्यसले हङकङको न्यायिक स्वतन्त्रता थप खस्किने बताएका थिए।

हङकङ ब्रिटेनको उपनिवेश राज्य थियो र त्यसलाई सन् १९९७ मा चीनलाई "एक देश दुई प्रणाली"का रूमा फिर्ता गरिएको थियो।

विवाद के थियो?

परिवर्तनमा मूख्य भूमि चीन ताइवान र मकाउबाट अपराधिक सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयमा आधारित भएर सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको छ।

ताइवानमा विदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर यो विधेयक ल्याइएको थियो।

ल्याम सहित हङकङका अधिकारीहरूले शहरलाई अपराधीहरूबाट बचाउन त्यस्तो कानून आवश्यक रहेको बताउँछन्।

तर कैयौँले चिनियाँ राज्यका राजनीतिक विपक्षीहरूलाई लक्षित बनाउन प्रयोग हुन सक्ने त्रास व्यक्त गर्छन्।