अभियुक्तहरूलाई सुपुर्दगीका लागि चिनियाँ मुख्य भूभाग पठाउन सक्ने व्यवस्था गरिएको विधेयक स्थगित गर्ने घोषणा गरिएको भए पनि प्रदर्शनकारीहरूले हङ्कङमा सडक कब्जा गरिरहेका छन्।
आइतवार आयोजकहरूले २० लाख मानिस सडकमा ओर्लिएर ठूलो प्रदर्शन गरिएको बताएको छ।
प्रहरीले भने तीन लाख ३८ हजार मानिस प्रदर्शनमा उत्रिएका बताएको छ।
आखिर किन हङकङमा यो विरोध प्रदर्शन भइरहेको छ त? यसको घटनाक्रम यसप्रकार छ:
हङ्कङमा दशौँ लाखलाई चिढ्याउने विवाद
हत्याका सन्दिग्धलाई पक्राउपुर्जी
तस्बिर सर्वाधिकार BBC
ताइवानमा एक अभियोजनकर्ताले हङ्कङका चान तोङ-काईलाई भ्रमणमा रहेका बेला आफ्नी प्रेमिका पून हिउ-विङ को हत्या गरेको आरोपमा पक्राउपुर्जी जारी गरे।
चान पछि हङ्कङ फर्किए तर हङ्कङ र ताइवानबीच सुपुर्दगीसन्धि नभएकोले मुद्दा चलाउनका लागि उनलाई ताइवान पठाउन सकिएन।
सुपुर्दगीसम्बन्धी कानुनमा परिवर्तन गर्ने घोषणा
तस्बिर सर्वाधिकार BBC
मुख्यभूमि चीन, ताइवान र मकाउमा सुपुर्दगी रोक्ने अहिलेको व्यवस्था खारेज गर्ने प्रस्ताव गरिएको छ।
पहिलो प्रदर्शन
तस्बिर सर्वाधिकार Reuters
र्यालीमा कजवे बे पुस्तक भण्डारका पूर्वमालिक लाम विङ-कीसहित करिब १२ हजार मानिस सहभागी भए। लामले चिनियाँ सरकारको आलोचना गर्ने पुस्तक बिक्री गर्ने प्रकाशकका लागि काम गरेका थिए। उनलाई सन् २०१५ मा दक्षिणी चिनियाँ सहर शेन्जेनमा पक्राउ गरिएको थियो र गैरकानुनी रूपमा व्यापार गरेको आरोप लगाइएको थियो।
मुद्दा चलाउन चिनियाँ सरकारले आफूलाई सुपुर्दगी गराउन सक्छ र त्यस्ताे प्रस्ताव पारित हुनुअघि आफूले हङ्कङ छाडिसक्ने उनी बताउँछन्।
सरकारी प्रस्तावविरुद्ध दोस्रो प्रदर्शन
तस्बिर सर्वाधिकार Getty Images
आयोजकहरूका अनुसार र्यालीमा एक लाख ३० हजारले सहभागिता जनाए।
हङ्कङका वकिलहरूको मौन प्रदर्शन
तस्बिर सर्वाधिकार Anthony Kwan
झन्डै तीन हजार वकिल, अभियोजनकर्ता, कानुनका विद्यार्थी र प्राज्ञले मौन जुलुस निकाले र प्रस्ताव फिर्ता लिन माग गरे।
लाखौँ सहभागी जुलुस
तस्बिर सर्वाधिकार Getty Images
आयोजकका अनुसार हङ्कङ सरकारको प्रस्तावविरुद्ध झन्डै १० लाख मानिस प्रदर्शनमा सहभागी भए जुन २२ वर्षयताकै ठूलो थियो। प्रहरी र प्रदर्शनकारीबीच झडप भयो र १९ जना पक्राउ परे। लन्डन, प्यारिस, सिड्नी, भ्यानकुभर र न्यूयोर्कजस्ता सहरमा पनि त्यस्तै प्रदर्शन भए।
हङ्कङ सरकारले एउटा वक्तव्यमार्फत् आफूले फरक विचारको सम्मान गर्ने गरेको तर प्रस्तावलाई जुन १२ मा विधायिकामा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाउने भनेको थियाे। बेइजिङ समर्थक सांसदहरूले प्रस्तावको पक्षमा सात लाख अनलाइन हस्ताक्षर सङ्कलन गरिएको जनाएका छन्।
झडप
तस्बिर सर्वाधिकार Getty Images
सन् २०१४ मा जस्तै हङ्कङको मुख्य चौबाटोमा धर्ना दिएका हजारौँ प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गर्यो। प्रहरी, प्रदर्शनकारी र पत्रकार गरी कैयौँ घाइते भए।
हङ्कङकी नेत्री क्यारी लामले हिंसा समस्याको समाधान नभएको भन्दै निन्दा गरेकी छन्।