'पोस्टमोर्टम'की अग्रणी चिकित्सक जसले हरेक चरणका मृत्यु देखेकी छन्
- Author, स्वामीनाथन नटराजन
- Role, बीबीसी विश्व सेवा
चेतावनी : यस सामग्रीमा शव र 'पोस्टमोर्टम' अर्थात् शवपरीक्षणसम्बन्धी विवरणहरू छन्।

तस्बिर स्रोत, Dr Shirley Vasu
डाक्टर शर्ली वासुले आफ्नो अग्रणी कार्यका निम्ति कैयौँ अवार्डहरू जितेकी छन्। तर परिवारजन भने उनका कामका मसिना विवरणहरू सुन्न डराउँछन्।
तीन दशकसम्म डाक्टर वासुले एक्कासि ज्यान गुमाएका तथा हिंसात्मक र शङ्कास्पद तरिकाले मारिएका मानिसहरूका शवको परीक्षण गरिन्।
उनी भारतको दक्षिणी राज्य केरलाकी पहिलो महिला 'फरेन्सिक प्याथोलजिस्ट' हुन्। केरलामा ३.३ करोड मानिसको बसोबास छ।
भारतको उक्त हिस्सामा महिलाले यस्तो कार्य गर्नु सांस्कृतिक हिसाबले असामान्य मानिन्छ। मृत्युसम्बन्धी नकारात्मक धारणाले गर्दा महिलाहरू प्राय: मसानघाट जान खोज्दैनन्।
डाक्टर वासुले झन्डै २०,००० शवको परीक्षण गरेकी छन्। उनले भ्रूणदेखि १०० वर्षको छेकोका वृद्ध मानिसको शव पनि जाँचिन्। उनले हरेक उमेरका मानिसको मृत्यु देखेकी छन्।
तर ६८ वर्षीया यी डाक्टरका कैयौँ सम्झनाहरू मेडिकल पाठ्यपुस्तकभन्दा पनि आपराधिक 'थ्रिलर' उपन्याससँग मिल्ने खालका छन्।

पहिलो अनुभव
सन् १९८१ मा स्तानकोत्तर विद्यार्थीका रूपमा उनले पहिलो शव जाँचेकी थिइन्। उनका प्राध्यापकले उनलाई एउटा खोपडी र पाखुराका माथिल्ला हड्डीहरूको परीक्षण गर्न अह्राएका थिए। ती सबै एउटा झरनामा पानीमुनि १३ मिटर गहिराइमा फेला परेका थिए।
"ती हड्डीमा कुनै जैविक अवशेष थिएन," डाक्टर वासुले भनिन्।
अन्य दुई विद्यार्थीहरूसँगै उनले शवको परीक्षण गरिन्। खोपडी र मेरुदण्ड जोडिएको तरिका देखेर उनले मृतक पुरुष थिए भन्ने पत्ता लगाइन्। उनीहरूले मृतकको उमेर १४ देखि १५ को बीचमा भएको अनुमान लगाए।
"पाखुराको माथिल्लो हड्डीमा लागेका चोटहरूको प्रकारले शरीरलाई क्षतविक्षत पारेर काटिएको थियो भन्ने देखाउँछ," त्यसबेला उनले लेखिन्। "त्यो एउटा हत्या थियो।"
त्यसताका डाक्टर वासुसँग क्यामेरा थिएन। उनले त्यस हड्डीलाई एउटा फोटो स्टुडियोमा लिएर गइन् र टेबुलमा राखिन्। उनी फोटोग्राफरद्वारा दस्तावेजीकरण गराउन चाहन्थिन्।
तर, मानवअवशेष देखेर सातो उडेको फोटोग्राफरले पुलिसलाई बोलायो। वासुमाथि शङ्का हुनबाट जोगाउन उनका प्राध्यापकले हस्तक्षेप गर्नु परेको थियो।
पछि ती मृतक ४१ दिनदेखि हराइरहेका गाउँकै बालक हुन् भन्ने पत्ता लाग्यो। मुख्य शङ्कास्पद व्यक्ति मृतककै दाइ पर्ने एक १८ वर्षीय व्यक्ति थिए। यद्यपि अन्त्यमा उक्त मृत्युबारे कसैलाई पनि दोषी ठहर्याइएन।
शव परीक्षणका क्रममा के के हुन्छ?

तस्बिर स्रोत, Getty Images
शव परीक्षणको उद्देश्य मृत्युको समय र कारण थाहा पाउनु हो। मृतकको पहिचान नखुलेको अवस्थामा यस्तो परीक्षणमार्फत् पहिचान पनि प्राप्त गर्न खोजिन्छ।
डाक्टर वासुले सन् १९८२ मा कोझिकोड अस्पतालको फरेन्सिक विभागमा काम थालेकी हुन्। त्यहाँ उनले दैनिक दुईदेखि तीनवटा शवको परीक्षण गर्थिन्। एउटा शव परीक्षण गर्न डेढ घण्टा लाग्छ।असाध्यै व्यस्त भएको दिनमा उनले सात वटासम्म शव परीक्षण गरेकी छन्।
उनले नियमित रूपमा जलाइएका, क्षतविक्षत भएका, सडेगलेका, विकृत, कुल्चिएका तथा चिहानबाट खोतलेर ल्याइएकासम्मका शव जाँच गरिन्।
उनका अनुसार शव परीक्षण गर्दा सुरुमा "चोटपटक भए नभएको, कुनै दाग वा निसान भए नभएको र अन्य ध्यान दिनुपर्ने चिन्हहरू भए नभएको" हेरिन्छ।
त्यसपछि शरीरका भित्री भागको परीक्षण गरिन्छ। त्यसमा छाती, पेट र पिठ्यूँपछाडिको हड्डीका साथै तीभित्रका अङ्ग र संरचनाको जाँच हुन्छ। परीक्षणका निम्ति कोषिकाका नमुनाहरू लिइन्छ।
त्यसपछि बल्ल मस्तिष्कको जाँचका निम्ति खोपडी खोलिन्छ।
यदि मृतकमाथि गोली प्रहार भएको हो भने गोली भएको स्थान पत्ता लगाउन पूरै शरीरको एक्सरे गरिन्छ। बिरामीलाई क्षयरोग भएको खण्डमा र क्यान्सर उपचारका निम्ति रेडिओएक्टिभ सामग्रीहरू राखिएको रहेछ भने त्यस्ता सामग्रीको सम्पर्कमा आउँदा हुन सक्ने जोखिम घटाउनका निम्ति दुई जना डाक्टरद्वारा संयुक्त रूपमा शव परीक्षण गरिन्छ।
डाक्टर वासुले सम्झिएअनुसार प्रत्येक वर्ष उनको एक वा दुई त्यस्ता घटनासँग साक्षात्कार हुन्छ जसमा परिवारको कुनै सदस्यले केटाकेटीसहित अन्यलाई आत्महत्या गर्न सहमत गराएको हुन्छ।
"यो हाम्रो व्यवसायिक जीवनको हिस्सा हो," उनी भन्छिन्। लामो मौनतापछि उनले थपिन्, "केटाकेटीको शव देख्नुपर्दा दु:ख लाग्छ।"
'आपराधिक गर्भपतन'
केरलाको कोझिकोड अस्पतालमा काम गरेका बेला उनले युवा उमेरका गर्भवती महिलाको मृत्युमा वृद्धि भएको ख्याल गरिन्।
शव परीक्षणका क्रममा देखिएका असामान्य तथ्यहरूले डाक्टर वासुलाई यी मृत्युहरू "आपराधिक गर्भपतन"का क्रममा भएका हुन् भन्ने शङ्का लाग्यो।
"मैले गर्भाशयको मुखमा काटिएका चिन्हहरू देखेँ," उनले सम्झिइन्। "वास्तविक डाक्टरले त्यसो गर्दा त्यस्ता क्रूर निसानहरू छाड्दैनन्।"
चोट भएको स्थानमा भएको दुखाइका कारण ती महिलाहरू मृत्यु भएको हो भन्ने थाहा भयो।
पछि डाक्टर वासु काम गर्ने अस्पतालको स्त्रीरोग विभागका अवकाशप्राप्त सहयोगीहरूले अस्पतालबाट चोरिएका सामग्रीहरू प्रयोग गरेर घरैमा गर्भपतन गराउँदा रहेछन् भन्ने पत्ता लाग्यो। अन्त्यमा ६ जना वृद्ध महिलालाई समातेर जेल हालियो।
आपराधिक व्यवहारको प्रमाण उपलब्ध गराउनुका साथै शव परीक्षणबाट कसैको मृत्युमा गलत कुरा भएको छैन भन्ने कुरा पनि पत्ता लाग्छ।
आफ्नी ९८ वर्षीया आमा ओछ्यानबाट लडेर मरेपछि शङ्कास्पद व्यक्तिका रूपमा आफूमाथि छानबिन हुन्छ कि भनेर डराएका एक व्यक्तिलाई डाक्टर वासु राम्ररी सम्झिन्छिन्।
"बिस्तारै लडे पनि शिशु र वृद्धवृद्धाका निम्ति त्यो मृत्युको कारण बन्न सक्छ," उनी भन्छिन्, "उनी त्यस्तो कोणमा लडिन् जसले गर्दा उनको मस्तिष्क र मेरुदण्डबीचको सम्बन्ध खलबलियो।"

तस्बिर स्रोत, Getty Images
बाघले खाएको शरीर
सन् १९८० को दशकको अन्त्यमा डाक्टर वासु र अर्का डाक्टर बाघले खाएको महिलाको अवशेषको पोस्टमार्टम गर्न कोझिकोडबाट लगभग ११० किलोमिटर टाढा रहेको वायनाड बाघ संरक्षण क्षेत्रमा गए। ती महिलाको टाउको र घाँटी मात्र सकुशल थियो।
घटनास्थलको जाँचमा महिलाले आफ्नो साडीको पासो लगाएर रुखमा झुन्डिने प्रयास गरेको तर सारी च्यातिएपछि बाघको छेउमा खसेको देखायो।
तर शवको जाँचले कारण मृत्युको कारण आत्महत्या नभएको देखायो।
डाक्टर वासुले भनिन्, "हत्याराले उक्त घटनालाई ती महिलाले आफ्नो पहेँलो रङको साडी प्रयोग गरेर रुखमा झुन्डिएको तर सारी च्यातिएकाले भुइँमा खसेको जस्तो देखाउन खोजको थियो।"
"झुन्डिएको मामिलामा त्यसको निसान अलग्गै छुटिन्छ। यो स्पष्टत: घाँटी थिचिएको घटना थियो।"
जाँचबाट अपराधीले पहिले घाँटी थिचेर मारेको, त्यसपछि पीडितको सारी च्यातेको र रुखमा चढेर मृतकलाई हाँगामा झुन्ड्याएको पत्ता लाग्यो।
प्रहरीले उक्त घटनालाई एक माहुतेको उजुरीसँग भिडायो, जसका पत्नी र सहायक दुवै बेपत्ता भएका थिए।
अनुसन्धानकर्ताहरूले पछि उक्त सहायक माउतेलाई खोजे र उसको षड्यन्त्रको पर्दाफास गरे।
बहुसङ्ख्यक मृत्यु
प्राकृतिक प्रकोप वा कार दुर्घटनाजस्ता धेरै जनाको ज्यान जाने घटनामा पनि प्रत्येकको छुट्टाछुट्टै अनुसन्धान गर्नु पर्छ।
"प्याथालोजिस्टका निम्ति सामूहिक दुर्घटना भन्ने हुँदैन," डाक्टर वासु भन्छिन्, "एउटा 'प्याथालोजिस्ट'ले हरेक व्यक्तिले भोगेका भिन्न अवस्थालाई सम्बोधन गर्नुपर्छ।"
सन् २००१ मा उत्तर केरलामा एउटा रेल लिकबाट उछिट्टिएर नदीमा खस्यो। उक्त घटनामा ५९ जना मारिए। सञ्चारमाध्यमका प्रारम्भिक प्रतिवेदनले नदीमा डुब्न पुगेका कारण ती मानिसहरूको मृत्यु भएको बताए।
तर वासु र उनको समूहले शव परीक्षण गर्दा मृतकमध्ये एकजनाको मात्रै डुबेर मृत्यु भएको थाहा भयो। अन्यको टाउकोमा लागेको चोट र मालपत्ता तथा भग्नावशेषमा च्यापिएका कारण ज्यान गएको पत्ता लाग्यो।
त्यही वर्ष कोझिकोडको ५० किलोमिटर दक्षिणपूर्व मालापुरम भन्ने ठाउँमा बसमा आगो लाग्दा ४४ जनाको मृत्यु भयो। अधिकांश शवहरू जलेको अवस्थामा थिए भने डाक्टर वासुसँग डीएनएमा आधारित पहिचानका निम्ति उपयुक्त प्रविधि थिएन।
"हामीले भौतिक विशेषताहरूको प्रयोग गर्यौँ। शवको पहिचान गर्न शरीरको आकार–प्रकारका साथै उनीहरूको घडी, सिक्री, जुत्ता, कपडा तथा झोलाजस्ता निजी सामग्रीको विश्लेषण गर्यौँ," उनले सम्झिइन्।
शव परीक्षणबाट शरीरमा प्रयोग भएका धातुका प्लेट र पछिल्ला शल्यक्रियाका प्रमाणहरूमार्फत् समेत पहिचानको खुलासा भयो।
"एकजना अस्वाभाविक रूपमा अग्ला मानिस थिए। उनले एउटा प्रसिद्ध कृष्ण मन्दिरको लकेट लगाएका थिए र उनको पेट नपचिसकेको बिरयानीले भरिएको थियो," वासुले भनिन्।
पछि मृतकको साथीले उनीहरूले सँगै बिरयानी खाएको निधो दिएपछि ती मृतकको पहिचान भयो।
सुध्रिँदै गएको प्रविधि

तस्बिर स्रोत, AFP
आफ्नो ३४ वर्ष लामो पेशागत सेवाका क्रममा डाक्टर वासुले ठूलो प्राविधिक सुधारको अनुभव गरेकी छन्।
एउटा समय थियो जतिबेला उनी फर्मल्डिहाइड प्रयोग गर्न अभ्यस्त थिइन्, जुन विषाक्त हुन सक्छ भनेर हामीलाई अहिले थाहा छ। त्यतिखेर धुवाँ उत्पन्न गराउन फर्मल्डिहाइडलाई खुला रूपमा ट्रेमा राखिन्थ्यो।
"अहिले किटाणु मार्न हामीसँग यूभी लाईटहरू छन्," उनी भन्छिन्, "शवगृहहरूमा आजकल दोहोरो हावादानी र वायुको गुणस्तर नियन्त्रकहरू छन्।"
क्षति हुने क्रम सुस्त पार्नका निम्ति शवको भण्डारण गर्ने तरिका पनि सुध्रिएको छ।
डाक्टर वासु आउँदै गरेका प्रविधिहरूप्रति आशावादी छन्।
"सिङ्गापुर र जापान भर्चुअल शव परीक्षणतर्फ लागिसके। त्यस किसिमको परीक्षण चक्कु र रगतरहित हुन्छ।"
शवहरूलाई सिटी स्क्यानरमार्फत् स्क्यान गरिन्छ र "चिकित्सकहरूले त्यसमार्फत् छालादेखि हड्डीका हरेक पत्रहरूको जाँच गर्छन्।"
यो प्रविधि अब अमेरिका र युरोपमा का विभिन्न भागका साथै नयाँ दिल्लीको एउटा प्रमुख अस्पतालमा पनि उपलब्ध छ।
पट्यारलाग्दो काम

तस्बिर स्रोत, Dr Shirley Vasu
डाक्टर वासुले सन् २०१४ मा अन्तिम शव परीक्षण गरिन् र सन् २०१६ मा सेवानिवृत्त भइन्। हाल उनी एक निजी मेडिकल कलेजमा पढाउँछिन्।
उनले जे गरिन्, त्यसका निम्ति सन्तुष्ट छिन्। त्यसबाट अघि बढ्दा पनि उनलाई खुशी नै लागेको छ। उनी शवहरूबीच काम गर्दा नकारात्मक भावना पैदा हुने बताउँछिन्।
"म कुनै मुर्दाघरनजिक जान चाहन्नँ," उनी भन्छिन्, "यसले तपाईँको सारा शक्ति खिच्छ।"
उनलाई शव शरीक्षण गर्दै गर्दा राम्ररी खाना खान मन पर्दैनथ्यो। त्यसैले दिनभर आफ्नो दिमागलाई चालु राख्न उनी चकलेटमा निर्भर हुन्थिन्।
दक्षिण भारतमा मृत्युसँग जोडिएका स्थानबारे अनेक किसिमका सांस्कृतिक नकारात्मकताहरू जोडिएका छन्। माथिल्ला जातका महिलाहरू प्राय: मसानघाट जाँदैनन्, तर कुनै कुनै मृत्युसम्बन्धी अनुष्ठानमा भने सामेल हुन्छन्।
डाक्टर वासुले आफ्नो घरबाहिर बाथरुम बनाएकी थिइन् र कामबाट फर्केर घर छिर्नुअघि नुहाउने गर्थिन्।
श्रीमान् पनि डाक्टर भए पनि डाक्टर वासु "यसबारे कुरा गर्न श्रीमान् समेत निकै डराउने गरेको" बताउँछिन्। उनका छोराछोरी पनि कामसम्बन्धी प्रश्न सोध्नबाट पन्छिन्छन्।
उनका दुई दिदीबहिनीले न्यायाधीशका रूपमा काम गरिरसकेका छन् र डाक्टर वासुले अदालतमा उनीहरूसमक्ष बयानसमेत दिएकी छन्। तर उनीहरूले "कठघराबाहिर कहिल्यै पनि शव परीक्षणबारे नसोधेको'' डाक्टर वासु बताउँछिन्।
यी 'फरेन्सिक प्याथोलोजिस्ट'का अनुसार मृत शरीरहरूसँग रहेर काम गर्दा निश्चित रूपमा उनको दृष्टिकोणले आकार प्राप्त गरेको छ।
"शवगृहले तपाईंलाई नम्र बनाउँछ," उनी भन्छिन्, "तपाईँमा त्यस्तो घमण्ड आउँदैन। तपाईँ स्वच्छ जीवन जिउन चाहनुहुन्छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








