४,००० वर्ष अघि नै गर्भ बसे नबसेको पत्ता लगाउन पिसाबको परीक्षण गर्ने प्रचलन

दम्पती गर्भ परीक्षण गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गर्भवती भएको परीक्षण घरमै गर्ने भनेको 'ह्युमन कोरिओनिक गोनाडोट्रोपिन' पिसाबमा छ कि छैन भनेर जाँच्ने हो
    • Author, हेलेन किङ
    • Role, द कन्भरसेशन

गर्भवती भएको परीक्षण घरमा नै गर्ने उपाय भनेको त्यसका लागि निर्मित विशेष साधन प्रयोग गरेर 'ह्युमन कोरिओनिक गोनाडोट्रोपिन' भनिने होर्मोन पिसाबमा छ कि छैन भनेर जाँच्ने हो।

अहिले कोही महिला गर्भवती भइन् कि भइनन् भनेर जाँच्न निकै सहज छ। एउटा सानो लट्ठी जस्तो उपकरणमा पिसाब फेर्ने र त्यहाँ केही सङ्केत देखिन्छ कि भनेर हेर्ने।

घरमा गर्भ रहे नरहेको परीक्षण गर्ने त्यस्तो सजिलो र छिटो तरिका सन् १९६०को दशकमा पहिलो पटक व्यापारिकरूपमा बजारमा उपलब्ध भएको थियो।

गर्भवती महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कसैलाई निश्चित खानेकुरा प्रतिको चाहना प्रबल भयो भने गर्भ बसेको भन्ने सोचिन्थ्यो

उनीहरूले 'ह्युमन कोरिओनिक गोनाडोट्रोपिन' एचसीजी होर्मोन पिसाबमा रहे नरहेको जाँच्ने हो जुन होर्मोन महिलाको अण्डामा पुँसेचन भएपछि सालनाल बन्न थाल्दा शरीरका कोषहरूले उत्पन्न गर्छन्।

गर्भ रहे नरहेको रक्त परीक्षण प्रक्रियाबाट ११ दिनपछि नै पत्ता लाग्न सक्छ र त्यसको केही दिनपछि पिसाबको परीक्षणले पत्ता लाग्न सक्छ।

तर परीक्षणले देखाउँदैमा शतप्रतिशत बच्चा भइहाल्छ भन्ने चाहिँ होइन किनभने हरेक पाँचमध्ये एउटा गर्भ खेर जाने गरेको बताइन्छ।

र पनि गर्भको परीक्षण 'पोजिटिभ' आउने बित्तिकै आमा बन्ने या बाबु बन्ने प्रक्रियाको यात्रा सुरु भयो भन्ने अर्थमा हेरिन्छ।

पहिले पहिले गर्भ पत्ता लगाउने तरिका अलि फरक थियो।

कसैको मासिकश्राव हुन रोकियो या कसैलाई निश्चित खानेकुरा प्रतिको चाहना प्रबल भयो भने गर्भ बसेको भन्ने सोचिन्थ्यो।

गर्भ बसेको लामो समयसम्म पनि त्यस्ता लक्षणहरू कुनै रोग या 'मेनोपज' रजोनिवृत्तिका कारण भएको हो कि भन्ने ठ्याक्कै पत्ता लगाउन मुस्किल थियो।

पत्ता लगाउने तरिका

पिसाब परीक्षण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्राचीन ग्रीसमा पनि गर्भ रहे नरहेको पत्ता लगाउन पिसाबको परीक्षण गरिन्थ्यो

प्राचीन ग्रीसमा महिलाहरू स्वयंले आफू गर्भवती भएको थाहा पाउँछन् भन्ने विश्वास गरिन्थ्यो। किनभने उनीहरू यौन संसर्ग गरेपछि गर्भाशय बन्द भएको महसुस गर्छन् भनिन्थ्यो, जुन वास्तवमा असम्भव कुरा हो।

विशेषगरी त्यस्तो असाध्यै प्रारम्भिक अवस्थामा पुँसेचन हुने वा पुँसेचन भएको अण्ड गर्भाशयको भित्तामा टाँसिने प्रकृया नै भइसकेको हुँदैन।

तर ऐतिहासिक कालदेखि नै मानिसहरू गर्भ रहे नरहेको पत्ता लगाउने एक या अर्को विभिन्न परीक्षणहरू गरिरहन्थे।

इशापूर्व चौथो शताब्दीको हिप्पोक्रेटिक चिकित्सा सम्बन्धी लेखोटमा महिलाहरूलाई सुत्नुअघि एक विशेष प्रकारको मदिराको मिश्रण पिउन लगाउनु पर्छ भन्ने उल्लेख भएको पाइन्छ। वाइन, पानी र मह मिसाएर बनाइएको त्यस्तो पेय पदार्थ पिउँदा ती महिलाको पेट दुःखेमा र पेटमा गड्याङ्गगुडुङ्ग भएमा उनी गर्भवती भएको मानिन्थ्यो।

युनिभर्सिटी अफ अकल्यान्डका इतिहासका प्राध्यापक किम फिलिप्सले “सिक्रेट्स अफ विमिन” अर्थात् “महिलाका गोप्य कुरा” नामक इशाको तेह्रौँ शताब्दीमा लेखिएको चिकित्सा विज्ञानसम्बन्धी सामग्रीको अध्ययन गरेका छन्। त्यसमा यदि कोही महिलाको स्तन जमिनतिर घोप्टिएका छन् भने उनी गर्भवती भएको मानिन्थ्यो भन्ने लेखिएको छ।

“पुँसेचनका बेला महिलाको रक्त वक्षस्थलतिर प्रवाह हुन जाने भएकाले त्यस्तो हुने विश्वास गरिन्थ्यो।"

पिसाबको भूमिका

अहिले गर्भ रहे नरहेको पक्का गर्नमा पिसाब परीक्षणको महत्त्वपूर्ण स्थान छ।

महिलाको पिसाब परीक्षण गरेर गर्भवती भए नभएको पत्ता लगाउने प्रकृया आधुनिक तरिका हो जस्तो लाग्न सक्छ तर वास्तविकता त्यस्तो होइन।

खासमा, पपाइरस भनिने प्राचिन समयको इजिप्टेली कागतमा लेखिएका कम्तीमा तीन प्राचीन लेखले ४,५०० वर्ष अगाडि नै गर्भ परीक्षणका लागि पिसाबको प्रयोग हुने गरेको देखाएका छन्।

ती पपाइरस लेखमा बताइए अनुसार गर्भवती हुन सक्छु कि सक्दिनँ भन्ने जाँच्न चाहेकी महिलाले वा गर्भ बसिसकेको हुनसक्ने महिलाले गहुँ र जौको बीउमा लगातार केही दिनसम्म पिसाब गर्ने गर्दथे।

त्यस क्रममा यदि जौ पहिले उम्रेमा छोरा जन्मिन्छ भन्ने ठानिन्थ्यो र गहुँ पहिले उम्रेमा छोरी जन्मिने मानिन्थ्यो। यदि कुनै पनि बिउ उम्रिएन भने महिला गर्भवती नरहेको मानिन्थ्यो।

इतिहासका विभिन्न कालखण्डमा पिसाबको प्रयोग गरेर अनेकथरी परीक्षण हुने गरेको पाइन्छ।

मध्यकालीन समयका कैयौँ चिकित्सासम्बन्धी लेखका अनुसार महिलाको पिसाबमा डुबाइएको सियो कालो वा रातो रङ्गको बन्न पुग्यो भने ती महिला गर्भवती भएको मानिन्थ्यो।

१६ औँ शताब्दीमा निडल अर्थात् सियोलाई अपभ्रंश भएर नेटल अर्थात् सिस्नो भनियो र यदि रातभर पिसाबमा डुबाएको सिस्नोका पातमा यदि बिहानै राता थोप्लाहरू देखिए भने ती महिला गर्भवती भएको मानिन्थ्यो।

उमारेको गहुँ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्राचीन इजिप्टमा गर्भवती भएको हो वा होइन जाँच्न महिलाहरूलाई जौ वा गहुँमा पिसाब फेर्न लगाइन्थ्यो

यी सबै परीक्षण चिकित्सकको सुपरिवेक्षणमा वा व्यक्ति आफैले पनि गर्न सकिन्थ्यो। सन् १५१८ मा स्थापना भएको 'द रोयल कलेज अफ फिजिसियन्स अफ लन्डन' ले महिलाहरूलाई चिकित्सक वा उपचारकको काम गर्नमा रोक लगाएको थियो। त्यस्ता काममा युरोस्कोपी भनिने पिसाबको चिकित्सकीय जाँच पनि पर्दथ्यो तर रोक लगाइएको भएपनि केही महिलाले त्यस्तो जाँच गर्ने अभ्यासलाई जारी नै राखे।

१७औँ शताब्दकीको सुरुतिर “मिस्ट्रेस फिलिप्स” नाम गरेकी एक महिला-सम्भवतः सुढेनी महिलाविरुद्ध गर्भ रहे नरहेको जाँच गर्न युरोलोजी प्रकृयाको प्रयोग गरेको भनेर अदालतमा मुद्दा चलाइएको थियो।

सन् १५९० मा लन्डनमा अवैधानिकरूपमा डाक्टरी अभ्यास गरेकी क्याथरिन चेयरको गर्भ पत्ता लगाउने आफ्नै उपाय थियो। उनी “मानिसहरूका लुगा साबुन र रेड रोज वाटर अर्थात् रातो गुलाफजल”ले धोएर गर्भ रहे नरहेको पत्ता लगाउने गरेको दाबी गर्थिन्।

आधुनिक उपायहरू

अहिले पिसाब जाँचकाबारे जे जति थाहा छ त्यो लामो समयदेखि निरन्तर हुँदै आएको प्रक्रियाको अङ्ग हो।

सत्रौँ शताब्दीसम्मका औषधी विज्ञान सम्बन्धी लेखहरूमा पनि पिसाबमा आधारित विभिन्न परीक्षणका कुरा गरिएका छन्।

सन् १६६५ मा छापिएको 'कम्प्लीट मिडवाइभ्स प्राक्टिस' मा यदि महिलाको पिसाबलाई एउटा बन्द भाँडोमा केही दिनसम्म राख्ने हो भने त्यहाँ केही जीवित अवयव देखिने लेखिएको छ।

अर्को तरिका महिलाको पिसाब उमालेर गर्ने परीक्षण थियो यदि त्यसमा सेतो धर्का उत्पन्न भयो भने महिला गर्भवती भएको मानिन्थ्यो।

सन् १९३० मा आएर गहुँ र जौका बिउमा पिसाब गरेर प्राचिन इजिप्टमा हुने गरेका परीक्षणलाई जादुका अविश्वसनीय कुरा भनेर बेवास्ता गर्न नमिल्ने भनेर पहिलो पल्ट स्वीकार गरिएको विवरणहरू पाइन्छ।

गर्भवती महिलाको पिसाबमा गरिएको अनुसन्धान परीक्षणमा ७० प्रतिशत जति पटकमा बिउहरू साँच्चिकै उम्रिने गरेको पाइयो। तर त्यसले बालक वा बालिका के जन्मिने हो भन्ने निर्धारण भने नगर्ने पाइयो।

पुरुष र गर्भवती नभएकी महिलाको पिसाब प्रयोग गर्दा भने त्यसमा कुनै प्रभाव नपरेको पाइयो।

निश्चितरूपमा गर्भवती महिलाको पिसाबमा केही विशेष तत्त्व हुने देखियो।

बिसौँ शताब्दीमा गरिएको अनुसन्धानमा ती सबै ऐतिहासिक परीक्षणमा बिउहरू वा सियोको प्रयोगले गरिएका परीक्षणहरू रोज वाटर वा स्तनको परीक्षणभन्दा बढी नै विश्वसनीय रहेको देखियो।

खरायो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खरायोमा गर्भवती महिलाको पिसाबको सुइ लगाइयो त्यसपछि उनीहरूको गर्भाशयमा केही परिवर्तन भयो कि भएन भनेर परीक्षण गरिएको थियो

मुसा खरायो र भ्यागुता

सन् १९२० र १९३० मा पिसाबको प्रयोग गरेर गरिने अन्य विभिन्न प्रकारका परीक्षणहरू पनि अगाडि आए।

पहिले मुसा र खरायोमा गर्भवती महिलाको पिसाबको सुइ लगाइयो त्यसपछि ती जनावरलाई मारेर तिनीहरूको गर्भाशयमा केही परिवर्तन भयो कि भएन भनेर जाँच गरियो।

पछि जिउँदा भ्यागुताहरूमा पनि महिलाको पिसाबको सुई लगाइएको थियो। यदि ती महिला गर्भवती रहेको भए ती भ्यागुताहरूले अण्डा पारिहाल्थे। यो विषयको अनुसन्धान सन् १९५० को दशकसम्म निरन्तर जारी रहे। तर यी सबै तरिका महँगा थिए र शत प्रतिशत विश्वसनीय पनि थिएनन्।

ती मुसा वा भ्यागुताका लागि पनि उपयुक्त रहेनन्।

सन् १९६० को दशकमा एन्टीबडीमा गरिएको नयाँ कामले भने अहिले व्यापक रूपमा प्रयोग गरिने परीक्षणसम्म पुर्‍यायो।

महिलाहरूको इतिहासमा गर्भावस्थाको विषयले सधैँ महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

गर्भवती हुन सक्ने सक्षमताको अवस्था उत्तराधिकारी र सम्पत्ति हस्तान्तरणका विषयमा अत्यावश्यक हुने गर्दथ्यो।

र गर्भ रहे नरहेको परीक्षण गर्न थालिएको गतिविधिको इतिहासले देखाएको छ – आफूले अपनाएको प्रक्रियाले पक्का नतिजा दिन्छ भन्ने यकिन गर्ने उपकरण नभएको बेलामा पनि मानिसहरूले गर्ने गरेका परीक्षणहरू सही दिशामा नै उन्मुख रहेका थिए।

*यो बीबीसी मुन्डोमा प्रकाशित लेखको नेपाली भावानुवाद हो।

*हेलेन किङ ओपन युनिभर्सिटी यूकेमा क्लासिकल स्टडिजकी इमेरिटस प्राध्यापक हुन्।

*यो सामग्री द कन्भरसेशनमा अंग्रेजी भाषामा प्रकाशित मूल लेखको अनुवाद हो जुन क्रिएटिभ कमन्स लाइसेन्स अनुसार साभार गरिएको छ। मूल अङ्ग्रेजी भाषाको लेख पढ्न यहाँ जान सक्नुहुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।