‘मैले दश हजार प्रसूति गराएँ, एक जना शिशुको पनि मृत्यु भएन’

आफ्नो क्लिनिकमा उभिरहेकी कथिजा
तस्बिरको क्याप्शन, कथिजाले पुराना सम्झनाहरूले आफूलाई खुसी राख्ने अपेक्षा गरेकी छन्
    • Author, प्रमिला कृष्णन
    • Role, बीबीसी तमिल

दक्षिण भारतकी एकजना नर्सले ३३ वर्ष सेवा गरेपछि अवकाश लिन लागेकी छन्। उनले महिला स्वास्थ्यमा आफूले देखेका रूपान्तरण र फेरिएका व्यवहारको चर्चा गरेकी छन्।

“मैले सफलतापूर्वक १० हजार जना बच्चाहरूको जन्म गराएँ। ती सबै प्राकृतिक जन्म हुन् र मेरो कारणले कुनै पनि एउटा मृत्यु भएको छैन,” कथिजा बीबीले आफ्नो ३३ वर्ष सेवा अवधिमा सर्वाधिक जोखिममा रहेका क्षणमा महिलाहरूलाई सघाएको सम्झँदै भनिन्।

उनकै समयमा भारत उच्च मातृ मृत्युदर भएको देशबाट विश्वव्यापी औसतको नजिक रहेको देशमा रूपान्तरण भएको छ। उनले सानो परिवारको चाहना राख्ने परिवारहरू पनि देखेकी छन् जहाँ बालिकालाई तिरस्कार गर्ने भन्दा पनि उत्तिकै महत्त्व दिइन्छ।

सन् १९९० मा दक्षिण भारतको एउटा सरकारी स्वास्थ्य केन्द्रमा काम गर्न थाल्दा कथिजाको सात महिनाको बच्चा पेटमा हुर्किरहेको थियो।

“म आफैँ सात महिनाकी गर्भवती थिएँ तर मैले अरू महिलाहरूलाई सहयोग गरिरहेकी थिएँ। सन्तान जन्माएपछि दुई महिनाको छोटो सुत्केरी बिदा लिएर म काममा फर्किएँ,” उनी सम्झन्छिन्। “मलाई थाहा छ, सन्तान जन्माउनुअघि प्रसव वेदनाको चरणमा महिलाहरू निक्कै कठिन अवस्थामा हुन्छन् र उनीहरूलाई ढुक्क बनाउनु मेरो प्राथमिकता हो।”

झन्डै पाँच फिट अग्ली यी नर्स शान्त स्वभावकी छन्। उनको क्लिनिक तमिलनाडु राज्यको भिल्लुपरमभन्दा १५० किलोमिटर दक्षिणमा पर्छ। त्यसमा शल्यक्रिया गर्नका लागि उपकरणहरू छैन त्यही भएर उनले कुनै जटिलताहरू पहिचान गरिन् भने तुरुन्तै गर्भवती आमाहरूलाई जिल्ला अस्पताल पठाउने गर्छिन्।

एउटा गौरवशाली अनुभव

कथिजाको प्रेरणा उनकी आमा जुलैका हुन् जो आफ्नो गाउँमा परिचारिका थिइन्। “म सुइ लिएर सानोमा खेल्ने गर्थेँ। अस्पतालको गन्धसँग म ज्यादै परिचित थिएँ।”

नवजात शिशुसँग कथिजा

तस्बिर स्रोत, Kathija Bibi

तस्बिरको क्याप्शन, आफ्नो अनुभवले पेशामा सहयोग पुर्‍याएको उनी ठान्छिन्

उनले सानो उमेरमा नै आफ्नी आमाको काम र दुर्गम क्षेत्रका कम साक्षर महिलाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने कुराको महत्त्व बुझिन्।

त्यो बेलामा निजी अस्पतालहरू दुर्लभ थिए र सबै पृष्ठभूमिका महिलाहरूले राज्यको प्रसूति गृहबाटै सबै किसिमका सेवा लिने गरेका थिए।

“जब मैले सुरु गरेँ, त्यतिबेला एक जना चिकित्सकमात्रै थिए, सातवटा सहयोगी र अरू दुई जना नर्सहरू थिए,” कथिजा भन्छिन्। “सुरुका केही वर्ष काम ज्यादै धेरै थियो। म आफ्ना बच्चाहरूलाई पनि समय दिन पाउँदिन थिएँ। म परिवारका समारोहहरूमा पनि भाग लिन पाउँदिन थिएँ। तर ती दिनहरूले मेरा लागि धेरै शिक्षा दिए।”

सन् १९९० मा भारतमा प्रति १ लाख जीवित शिशु जन्मिएको अवस्थामा मातृ मृत्युदर ५५६ रहेको थियो। त्यही वर्ष भारतमा प्रत्येक १ हजार जीवित शिशु जन्मँदा बाल मृत्युदर ८८ रहेको थियो। पछिल्लो सरकारी आँकडाले मातृमृत्युदर प्रति लाख जीवित जन्ममा ९७ र शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा २७ रहेको छ।

प्रसुति वार्डमा कथिजा
तस्बिरको क्याप्शन, तीन दशकमा प्रसुति वार्डमा कैयौँ उपकरण थपिएका छन्

कथिजाले ग्रामीण स्वास्थ्य कार्यक्रममा सरकारको लगानी र उच्च महिला साक्षरता दरलाई पछिल्लो प्रगतिको कारणका रूपमा चित्रण गरिन्। यो रूपान्तरण चलिरहँदा अग्रणी भूमिका खेलेकी उनले भारतको उच्च जन्मदर आफ्नै आँखाले देखेकी छिन्।

साधारण दिनमा उनले एउटा वा दुई वटा प्रसूति गराउँथिन् तर उनी आफ्नो सर्वाधिक व्यस्त दिन अझै पनि सम्झिन्छिन्। “सन् २००० को मार्च ८ मेरो जीवनकै सबैभन्दा व्यस्त दिन थियो,” उनले भनिन्। त्यो अन्तर्राष्ट्रिय महिला दिवसको दिन थियो र मानिसहरू क्लिनिकमा आउँदा उनलाई अभिवादन गरिरहेका थिए। “मैलै दुई जना महिलाहरू प्रसव वेदनामा मलाई पर्खिरहेको देखे। मैले उनीहरूलाई सघाएँ। त्यसपछि थप ६ जना महिलाहरू हाम्रो क्लिनिकमा आए।”

कथिजासँग आफूलाई सघाउन एक जना मात्रै सहयोगी थिए तर त्यस बेलाको तनाव चाँडै नै बिर्सिएको उनले सुनाइन्। “जब त्यो दिन म काम सकेर हिँड्न लागेकी थिए, नवजात शिशुहरू एक पछि अर्को गर्दै रोइरहेका थिए। त्यो बेला आनन्द लागेको थियो। हाम्रो स्वास्थ्य चौकीमा भिड लागेको थियो र सबै जना खुसी थिए।”

कोभिड खोप दिदैँ कथिजा

तस्बिर स्रोत, Kathija Bibi

तस्बिरको क्याप्शन, कोभिड १९ विरूद्धको खोप दिँदै कथिजा

उनी आफूले ५० जुम्ल्याहा र एक जोडी तिम्ल्याहा प्रसूति गराएको बताउँछिन्। सन् ९० को दशकको सुरुवातमा पेट ठूलो भएकी एक जना महिला चिच्याइरहेकी थिइन्। कथिजाले जुम्ल्याहा हुनसक्ने ठानेकी भएपनि उनको क्लिनिकमा अल्ट्रासाउन्ड स्क्यानर थिएन्।

“पहिलो शिशु जन्मिएको केही मिनेटमा ती पहिला फेरी प्रसव वेदनामा गइन र उनले दोस्रो सन्तान जन्माइन्।” जब ती नवजात शिशुहरूलाई सफा गर्न कथिजा गइन्, फेरि ती आमा पीडाले कराउन थालिन्।

“मलाई धेरै तनाव भयो, त्यो मेरो लागि नयाँ थियो र म तयार थिइन,” उनले भनिन्, “ती महिलाको अवस्थाको कारणले उनलाई जिल्ला अस्पतालमा पठाउन पनि सम्भव थिएन्।” कथिजाले उनलाई शान्त पार्ने उद्देश्यले नरम ढङ्गले ती महिलाको टाउको मालिस गरिदिइन् र तेस्रो शिशुको जन्म भयो।

जिल्ला प्रशासनले कथिजाले १० हजार शिशु जन्माउन सघाएको पुष्टि गरेको छ। उनले मुख्य मन्त्रीबाट सम्मान समेत पाएकी थिइन्।

पीडा र क्षति

धनी परिवारका महिलाहरू हाल निजी अस्पतालमा जान रुचाउने कथिजा बताउँछिन्। अहिले पहिलो पटक नै शल्यक्रियामार्फत् सन्तान जन्माउने प्रवृत्ति देखिएको उनको भनाइ छ।

उनले भनिन्, “मेरी आमाले सन्तान जन्माउने बेलामा कैयौँले ज्यान गुमाएको देख्नुभयो। शल्यक्रियाले धेरै जनाको ज्यान पनि बचाएको छ।”

उनले थपिन्, “जब मैले काम सुरु गरेँ त्यसबेला महिलाहरू शल्यक्रियाबाट आत्तिने गर्थे। अहिले धेरै जना स्वाभाविक रूपमा बच्चा जन्माउन डराउँछन् र शल्यक्रियाको पक्षमा छन्।”

आफ्ना नाति नातिनासँग कथिजा

तस्बिर स्रोत, Kathija Bibi

तस्बिरको क्याप्शन, परिवारका सदस्यसँग कथिजा

उनले आफ्नै घरमा पनि त्यस्तो परिवर्तन देखिन्। उनलाई आफ्नी बुहारीले पनि स्वाभाविक ढङ्गले सन्तान जन्माऊन् भन्ने लागेको थियो तर अस्पताल लैजानु पर्ने भयो।

उनी भन्छिन्, “मलाई लाग्छ मैले उनलाई हेरेको भए शल्यक्रिया रोक्न सकिन्थ्यो। म चिकित्सक वा स्वास्थ्यकर्मीहरूलाई दोष दिन चाहन्नँ। तर वास्तवमै धेरै वटा घटनामा शल्यक्रिया गर्नु आवश्यक हुँदैन र गर्भवती महिलाहरूले पूर्ण रूपमा सहयोग पाए स्वाभाविक ढङ्गले नै बच्चा जन्माउन सक्छन् भन्ने मलाई लाग्छ।”

ग्रामीण भारतमा पछिल्लो तीन दशकमा आयमा सुधार हुँदा त्यसले आफ्नै चुनौती ल्याएको छ। “गर्भावस्थामा मधुमेह पहिला दुर्लभ समस्या हुने गर्थ्यो तर अहिले त्यो आम समस्या बनेको छ।”

कथिजाले समाजमा देखेको अर्को ठूलो परिवर्तन भनेको हिजो आज धेरै जना श्रीमान् आफ्ना श्रीमतीहरूसँगै सन्तान जन्माउने बेलामा अस्पतालमा आउने गरेका छन्। “मैले राम्रो र नराम्रो दुवै समय देखेको छु। कतिपय श्रीमान् छोरी जन्मँदा श्रीमतीलाई भेट्न समेत आउँदैनन्। दोस्रो वा तेस्रो सन्तानका रूपमा पनि छोरी नै जन्मिए कैयौँ महिलाहरू रोएको रोयै गर्छन्।”

स्थानीय बजारमा तरकारी किन्दै कथिजा
तस्बिरको क्याप्शन, उनले यति प्रसुति सेवा दिएकी छन् कि स्थानीय स्तरमा सबैले उनलाई चिन्छन्

सन् १९९० को दशकमा भारतमा छोरा वा छोरी पत्ता लगाएर गरिने गर्भपतन र शिशु हत्या व्यापक रूपमा प्रकाशमा आएका थिए र त्यसपछि सरकारले बच्चाको लिङ्ग अभिभावकहरूलाई भन्न बन्देज नै लगाएको थियो। तमिलनाडु सरकारले बेवास्ता गरिएका छोरीहरूका लागि एउटा विशेष योजना नै ल्याएको थियो। तर अहिले परिस्थिति फेरिएको कथिजा बताउँछिन्। उनका अनुसार अधिकांश जोडीहरुले लिङ्गलाई ध्यान नदिएर दुई वटा मात्रै बालबालिका जन्माउने इच्छा राख्ने गरेका छन्।

यो बीचमा कथिजाले सात वर्षअघि आफ्ना श्रीमान् गुमाइन्। उनकी छोरी सफ्टवेअर इन्जिनियरका रूपमा कार्यरत छन् भने छोरा दुबईमा मेकानिकल इन्जिनियरको काम गर्छन्। कथिजाकी बुहारी उनले बाँकी जीवन आफ्ना नाति नातीनासँग बिताऊन् भन्ने चाहन्छिन्। तर ६० वर्षको उमेरमा जून ३० तारिखमा अवकाश पाएकी उनको कुनै निश्चित योजना छैन।

तर आफूले गुमाउने कुरा उनलाई थाहा छ।

उनले थपिन्, “म कुनै पनि शिशु जन्मने बित्तिकैको तिखो र मन छुने आवाजको सधैँ प्रतीक्षा गर्नेछु। तपाईँलाई थाहा छ, प्रसव वेदनामा गएका महिलाहरू पनि सबै कुरा बिर्सिएर मुस्कुराउन थाल्छन् जब उनीहरूले आफ्नो बच्चा रोएको देख्छन्। त्यस्तो अवस्था देख्नु मेरोलागि आनन्दको अनुभव हो। यो वर्षहरू मेरा लागि यादगार यात्राहरू थिए।”