क्यान्सरका बिरामीको पाठेघर 'सारेर' बच्चा जन्माउने क्षमता कायम राख्न सघाउने शल्यक्रिया

क्यारेम आफ्ना श्रीमानसँग

तस्बिर स्रोत, Carem dos Santos

तस्बिरको क्याप्शन, पाठेघर सार्ने शल्यक्रिया गरेको केही समयपछि क्यारेमले प्राकृतिक रूपमा सन्तान जन्माइन्

विशेषत: प्रजनन अङ्गहरूमा नै असर नगरेसम्म क्यान्सरले मानिसमा बाँझोपन निम्त्याउँदैन। यद्यपि रेडिओथेरपी पद्धतिबाट उपचार गराउँदा डिम्ब (अण्डा)को नाश हुन सक्छ वा यसले नजिकका अन्य तन्तुहरूमा क्षति पुर्‍याउन सक्छ, जसका कारण बाँझोपन हुन सक्छ।

यही तथ्यलाई ध्यानमा राखेर ब्रजिलको इन्स्टिट्यूट अफ रोबटिक सर्जरी अफ पारानाका अनुसन्धाता एवं अङ्कलजी सर्जन रेटन रिबेइरोले एउटा विधिको विकास गरे। अझै पनि प्रयोगात्मक चरणमा रहेको यो विधिलाई विश्वव्यापी रूपमा 'यूटेराइन ट्रान्स्पोजिशन' अर्थात् 'पाठेघर स्थानान्तरण'का रूपमा चिनिन्छ।

यस प्रविधिको उद्देश्य क्यान्सर उपचारका निम्ति रेडिओथेरपी गराइरहेका महिलाहरूको प्रजनन क्षमता जोगाइराख्नु हो।

दक्षिणी सहर क्यूरिटिबास्थित इरास्टो गार्टनर अस्पतालको अनुसन्धानसम्बन्धी प्रावधानअन्तर्गत विकसित यस विधिले प्रजनन अङ्गहरूलाई उपचारको क्रममा सुरक्षित राख्न पेटको माथिल्लो भागमा स्थानान्तरण गर्छ। उपचारको अन्त्यमा पाठेघर, नली र डिम्बाशयलाई तिनको पूर्ववत् स्थानमा फर्काइन्छ।

तेत्तीस वर्षीया क्यारेम डस सान्टोसले पनि यो विधिबाट पाठेघर स्थानान्तरण गराएकी छन्। उनी शृङ्गार कलाकार हुन्।

सन् २०१८ को जुन महिनामा उनको कटिमा लिपोसर्कोमा (शरीरको बोसोयुक्त तन्तुमा देखिने दुर्लभ ट्यूमर) देखियो। क्यान्सरको उपचार गर्न उनको शल्यक्रियाका साथै रेडिओथेरपी गर्नुपर्ने बताइयो। यद्यपि विकिरणले उनको पाठेघरलाई असर गर्न सक्थ्यो र भविष्यमा उनी गर्भधारण गर्न अक्षम पनि हुन सक्थिन्।

शल्यक्रियापछि क्यारेम

तस्बिर स्रोत, Carem dos Santos

तस्बिरको क्याप्शन, २८ वर्षको उमेरमा क्यारेममा क्यान्सर निदान भयो

"मेरा प्रेमी वा सन्तान थिएनन्, तर मैले ३० वर्षको उमेरपछि पारिवारिक जीवन सुरु गर्ने सोचेकी थिएँ। त्यसैले यो खबर निकै दु:खद थियो। रेडिओथेरपी गर्ने चिकित्सकले मलाई यो अवस्थामा के गर्न सकिन्छ भनेर सोच्न केही समय दिए," उनी सम्झन्छिन्।

उक्त अवधिमा उनले क्यूरिटिबामा भविष्यमा गर्भधारणका निम्ति अङ्ग जोगाउने उद्देश्यले पाठेघर स्थानान्तरणका लागि भइरहेको अध्ययनबारे थाहा पाइन्।

"ती डाक्टर निकै स्पष्ट थिए। उनले अध्ययन अझै जारी रहेको र हालसम्म कुनै महिला गर्भवती भएकाले म गर्भवती हुन्छु भन्ने कुरा सुनिश्चित गर्न नसक्ने बताए। तर मैले आफैलाई सुनेँ र शल्यक्रिया गरेँ," सान्टोस बताउँछिन् ।

शल्यक्रियापछिको पहिलो १५ दिन निकै पीडादायी भएको उनी सम्झन्छिन्। त्यसबाहेक कुनै जटिलता देखिएन।

रेडिओथेरपीपछिको तीन महिनामा उनका अङ्गलाई पुरानै स्थानमा ल्याइयो।

पछि फोक्सो र फोक्सोलाई ढाक्ने पातलो झिल्लीमा क्यान्सर देखियो। उनले उपचार गरिन्।

"सन् २०२१ मा मैले अहिले पति बनेका व्यक्तिलाई भेटेँ। अलि पछि उपचार प्रक्रिया सक्किने बेला मैले आफू गर्भवती भएको थाहा पाएँ," उनले भनिन्।

"आज म ती दिनहरू सम्झन्छु र सोच्छु, 'हे ईश्वर! मैले आफ्नो जीवनभरिकै उत्कृष्ट निर्णय गरेँ' किनभने म मातृत्वमा रमाएकी थिएँ। साहस र विश्वास मेरा लागि महत्त्वपूर्ण कुरा थिए र हामीले यसबारे कुरा गर्न आवश्यक छ। यो धेरै महिलाहरूको सपना हो," उनले भनिन्।

छोरासँग क्यारेम

तस्बिर स्रोत, Carem dos Santos

तस्बिरको क्याप्शन, क्यारेम पाठेघर सार्ने विधि प्रयोगपछि सन्तान जन्माउने पहिलो महिला हुन्

पाठेघरको मुखको क्यान्सर

सन् २०२० मा ३३ वर्षीया नवविवाहिता एन्जेलिका होडेकर अजम्बुजाको नियमित स्वास्थ्य परीक्षणको क्रममा पाठेघरको मुखमा क्यान्सर देखियो। उनी हेअरड्रेसर हुन्।

"डाक्टरले पहिलो प्राथमिकताका रूपमा पाठेघर, नली र डिम्बाशयहरू फाल्न सुझाव दिएका थिए। तर मेरो पाठेघरको मुखमा मात्र क्यान्सर थियो। त्यसले अन्य अङ्गमा असर पारेको थिएन। त्यसैले मैले विकल्प रोजेँ," उनी भन्छिन्।

बिरामी हुनुबाहेक भविष्यमा आमा बन्ने आफ्नो रहर पूरा नहुने खबर सुरुमा स्वीकार गर्न गाह्रो भएको एन्जेलिका बताउँछिन्।

"म स्तब्ध भएकी थिएँ। कोही आमा बन्न नचाहनु गलत होइन। तर जब कसैले तपाईँले सन्तान जन्माउन नसक्ने र तपाईँसँग विकल्प नभएको बताउँछ, त्यसले हामीलाई निकै दु:खी बनाउँछ," उनी भन्छिन्।

उनले शल्यक्रियामार्फत् आफ्नो पाठेघरको मुखको भाग हटाइन् र त्यसपछि कठिन निर्णयको घडी आयो।

"मैले गर्भवती हुनका लागि उपचार रोक्ने या सन्तान जन्माउने अवसर गुमाउनेमध्ये एउटा रोज्नु थियो किनकि मैले रेडिओथेरपी गर्नु थियो," उनले भनिन्।

गर्भावस्थामा क्यारेम

तस्बिर स्रोत, Angelica Hodecker Azambuja

तस्बिरको क्याप्शन, एन्जेलिकाका लागि पाठेघर सार्ने विधि अपनाउनु जीवनको उत्कृष्ट निर्णय हो

यद्यपि आफूलाई सुझाइएका विकल्पमा उनले चित्त बुझाइनन् र उनी अरू विकल्प खोज्न थालिन्। त्यतिबेला उनले पाठेघर स्थानान्तरणबारे थाहा पाइन्। "सुरुमा त म अलमलमा थिएँ किनभने यो नयाँ अध्ययन थियो र यसले काम गर्छ कि गर्दैन भन्ने टुङ्गो थिएन," उनी भन्छिन्।

अन्योलका बीच एन्जेलिकाले शल्यक्रिया गराइन् र त्यसको १५ दिनपछि उनको कीमोथेरपी र रेडिओथेरपी भयो।

"कीमो र रेडिओथेरपी सकिएको एक सातापछि पुनः मेरो अङ्ग स्थानान्तरणको शल्यक्रिया भयो, मार्चमा। अनि मलाई निकै राम्रो महसुस भयो। म बिस्तारै निको हुँदै गएँ," उनी भन्छिन्।

सन् २०२१ मा परीक्षण गर्दा उनको रोग कम हुँदै गएको देखियो। उनले सन्तान जन्माउन प्रयास गर्ने समय आएको निष्कर्ष निकालिन्। अर्को वर्ष प्राकृतिक रूपमा नै गर्भ रहँदा उनी आश्‍चर्यमा परिन्।

"गर्भाशय सार्नु मेरा लागि उत्कृष्ट विकल्प थियो र त्यो विकल्प अपनाउनु हाम्रो (उनी र उनका पतिको) उत्कृष्ट निर्णय रह्यो," पाँच महिने इजाबेलकी आमा एन्जेलिका भन्छिन्।

आफ्नो सन्तानसँग एन्जेलिका

तस्बिर स्रोत, Angelica Hodecker Azambuja

तस्बिरको क्याप्शन, एन्जेलिकाले आफूले प्राकृतिक रूपमा सन्तान जन्माउन सक्छु भन्ने ठानेकी थिइनन्

पाठेघर स्थानान्तरण गर्ने विधिले कसरी काम गर्छ?

यो रोबटिक प्रविधिमार्फत् गरिने कम गहिरो शल्यक्रिया हो। यस प्रक्रियाले पाठेघर, फलोपिअन ट्यूब र डिम्बाशयलाई तिनको मूल स्थानबाट हटाउँछ र अस्थायी रूपमा पेटको माथिल्लो भागमा लगेर राख्छ। कटिको वरपर रेडिओथेरपी पद्धति प्रयोग गर्ने क्रममा ती अङ्गहरूको सुरक्षा यसको प्रमुख उद्देश्य हो।

रेडिओथेरपी प्रत्यक्ष रूपमा पाठेघरमा केन्द्रित नभए पनि यसले बाँझोपन र शीघ्र रजोनिवृत्तिजस्ता समस्या निम्त्याउन सक्छ। यस विधिको विकासको नेतृत्व गरेका एवं ब्रजिलका शल्यचिकित्सक रिबेरोका अनुसार उक्त शल्यक्रिया कम जोखिमपूर्ण हुन्छ र सामान्यतया विधि अपनाइएको एक वा दुई दिनपछि सेवाग्राही घर जान सक्छन्।

शल्यक्रियापछिको केही अवधिसम्म पीडा र असहज महसुस हुने भए पनि "पाठेघर अस्थायी रूपमा असामान्य अवस्थामा रहँदा समेत बिरामीले तुलनात्मक रूपमा सामान्य जीवन बिताउन सक्ने" उनी बताउँछन्।

यहाँ नयाँ ठाउँमा राख्दा समेत पाठेघर र डिम्बाशयले सामान्य रूपमा काम गर्ने कुरा उल्लेखनीय छ। अनि उपचार सत्रको अन्त्यमा प्रजनन अङ्गहरूलाई यथास्थानमा फर्काइन्छ। मलद्वार, आन्द्रा, मूत्रथैली, योनि र त्यसको बाहिरी भागको ट्यूमर उपचारका लागि रेडिओथेरपी आवश्यक पर्ने बिरामीलाई स्थानान्तरणको सुझाव उपयुक्त हुनसक्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'स्तनपान गराउँदा आमाको शरीरको आकार बिग्रन्छ, स्तन ठूलो हुन्छ' यो भ्रामक धारणा कि सत्य?

मांसपेशी, बोसो र टेन्डनजस्ता नरम तन्तुहरूमा हुने घातक ट्यूमरमा विकिरणको प्रभावका कारण बाँझोपन निम्तिन सक्छ।

इजरेलिटा अल्बर्ट आइन्स्टाइन अस्पतालको स्त्रीरोगमा रोबटिक शल्यक्रिया कार्यक्रमका संयोजक रेनाटो मोरेट्टी मार्केसले स्थानान्तरण गर्न नहुने अवस्थाबारे जानकारी दिएका छन्।

"क्यान्सरले पाठेघर, नली र डिम्बाशयमा असर नगर्नु अत्यावश्यक कुरा हो। यदि बिरामीको डिम्बाशयले काम गरिरहेको छैन भने पाठेघर सार्न सम्भव छैन किनकि त्यसलाई पोषित गर्ने कुनै तरिका हुँदैन। यदि बिरामीले पेल्भिक रेडिओथेरपी पाइसकेको छ भने यो शल्यक्रिया गर्न सम्भवै हुँदैन," मार्केस भन्छन्।

उनी हस्पिटल म्यूनिसिपल भिला सान्टा क्याटरिनाको स्त्रीरोग अङ्कलजी विभागका संयोजक पनि हुन्।

जीवनको गुणस्तर

रिबेरोले क्यान्सर उपचारको उद्देश्य बिरामीलाई सन्चो बनाउनु मात्र नभई उनीहरूको जीवनको गुणस्तर उपचार सुरु हुनुअघिकै जस्तो बनाउनु भएको कुरामा जोड दिए। यही नै स्थानान्तरण शल्यक्रियाबारे अध्ययन गर्नुको मुख्य कारण भएको बताए।

"दश वर्षअघि हामीले जुनसुकै हालतमा क्यान्सरको उपचार गर्ने प्रयास गर्‍यौँ र त्यस लक्ष्यमा धेरै अघि बढ्यौँ। आज हामी क्यान्सरका बिरामीलाई ठिक बनाउन मात्र होइन, उसको जीवन सामान्य बनोस् भन्ने पनि चाहन्छौँ। उदाहरणका लागि, यदि तपाईँको खुट्टामा ट्यूमर छ भने हामी खुट्टा नै फाल्ने होइन, त्यसलाई ठिक बनाउने र बिरामीलाई हिँड्न सकिराख्ने बनाउन चाहन्छौँ।"

उनका अनुसार अङ्कलजीमा यो अति महत्त्वपूर्ण मान्यता हो।

इजरेलिटा अल्बर्ट आइन्स्टाइन अस्पतालको स्त्रीरोगमा रोबटिक शल्यक्रिया कार्यक्रमका संयोजक मार्केसका लागि प्रजननका अन्य विकल्पहरू पनि छन्। उदाहरणका लागि, इनभिट्रो फर्टिलाइजेशन (आईभीएफ) प्रविधि।

"तर सायद इनभिट्रो फर्टिलाइजेशन शारीरिक प्रक्रिया हो, जसमा इन्डोमेट्रिअम भनिने पाठेघरको भित्री भागलाई सुरक्षित राखिन्छ र डिम्बाशयको प्राकृतिक कार्यलाई कायम गरिन्छ। यसले बिरामीहरूलाई तत्काल गर्भधारणको अवसर दिन्छ। तसर्थ यो उत्तम विकल्प हुन सक्छ।"

प्रयोगात्मक चरण

विभिन्न शल्यक्रिया भइसके पनि पाठेघर स्थानान्तरण अझै यसको प्रारम्भिक र प्रयोगात्मक चरणमा छ।

यस विधिलाई सन् २०१६ मा स्त्रीरोग अङ्‍लजीसम्बन्धी एक अन्तर्राष्ट्रिय सभामा प्रस्तुत गरिएको थियो। उक्त अध्ययनको प्रतिवेदन अहिले प्रकाशनको चरणमा छ।

पहिलो शल्यक्रिया सन् २०१५ को अक्टोबरमा ब्रजिलमा रेइटर रिबेरोले गरेका थिए। त्यसयता जर्मनी, रुस, आर्जेन्टिना, कोलम्बिया, अमेरिका, इजरेललगायत अन्य देशहरूमा पनि यस विधिको प्रयोग भएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'संसारले यो देख्नुपर्छ': युद्धक्षेत्रमा कार्यरत प्रसूति चिकित्सकको दैनिकी

पाठेघर सार्ने शल्यक्रिया गरेका दर्जनौँ बिरामीहरूमध्ये २० जना ब्रजिलका छन्।

यद्यपि केही शल्यक्रिया असफल भएको इतिहास पनि छ। रक्तनलीमा रगत जमेपछि पाठेघर 'मर्ने' हुँदा बिरामीको अङ्गले पोषण प्राप्त नगरेपछि त्यसो भएको हो।

मर्केज भन्छन्,"उनले रेडिओथेरपीका कारण यसै पनि पाठेघर गुमाउन सक्थिन्। त्यसैले यसको स्थानान्तरण उनको प्रजनन अङ्ग जोगाउन सकिने एउटा अवसर हुन सक्छ।"

यो प्रयोगात्मक अध्ययन भने विकसित चरणमा छ।

"हामी लामो अवधिसम्म धेरै सङ्ख्यामा बिरामीहरूको मूल्याङ्कन गर्नुपर्ने अवस्थासहित अध्ययनको तेस्रो चरणमा छौँ। केही बिरामी छन् जसले कम उमेरका कारण हालसम्म गर्भवती हुने प्रयास गरेका छैनन्," रिबेरो भन्छन्।

उनका अनुसार ब्रजिलका चार अस्पतालहरूलाई न्याश्नल रिसर्च एथिक्स कमिटी (कोनेप)ले यो शल्यक्रिया गर्ने अनुमति दिएको छ।

"यो कोनेपद्वारा स्वीकृत प्रक्रिया हो र ठूला अस्पतालहरूमा गरिन्छ भन्ने कुरा स्पष्ट पार्नु राम्रो हुन्छ किनकि मानिसहरूले साँच्चै आफूले यो गर्ने या नगर्ने भनेर प्रश्न गर्न सक्छन्," रिबेरो बताउँछन्।

"अनि हो, यो म गर्न सक्छु।"