प्रोस्टेट क्यान्सरका लुकेका कोषिका पत्ता लगाउन सघाउने विशेष खालको रङ्ग

तस्बिर स्रोत, Cancer Research UK
- Author, अरेलिआ फोस्टर
- Role, स्वास्थ्य संवाददाता, बीबीसी न्यूज
यूनिभर्सिटी अफ अक्स्फर्डमा कार्यरत ब्रिटिश वैज्ञानिकहरूले प्रोस्टेट ग्रन्थिमा हुने क्यान्सरका कोषिकाहरू पत्ता लगाउन र तिनलाई हटाउन एउटा 'फ्लोरेसन्ट डाई' अर्थात् विशेष खालको चम्किलो रङ्ग सहयोगी हुन सक्ने बताएका छन्।
क्यान्सर रोगको पुनरावृत्ति हुने जोखिम हटाउन क्यान्सरबाट पूरै मुक्त हुनु आवश्यक हुन्छ।
उनीहरूले प्रयोग गरेको चम्किलो रङ्ग क्यान्सरका कोषिकाहरूमा हुने प्रोटीनमा मात्र टाँसिन्छ।
तेइस बिरामी सहभागी भएको एउटा सानो परीक्षणमा उक्त रङ्गले क्यान्सर भएका भाग पत्ता लगाउन शल्यचिकित्सकहरूलाई सघायो।
चिकित्सकहरूले खाली आँखा वा रोग निदान गर्ने अन्य विधिबाट क्यान्सरयुक्त ती भाग चिन्न सकेका थिएनन्।
वैज्ञानिकहरू अब 'क्यान्सर रिसर्च यूके' (सीआरयूके) को आर्थिक सहयोगमा ठूलो परीक्षण गर्ने योजनामा छन्।
प्रोस्टेट क्यान्सरको शल्यक्रिया गराएका २३ मध्ये केही बिरामीमा यो विधिबाट चिकित्सकहरूले उक्त ग्रन्थिनजिकैको मांशपेशी र 'लिम्फ नोड' मा क्यान्सरका कोषिका फेला पारेका थिए। परम्परागत विधिबाट त्यस्ता कोषिकाहरू पत्ता लगाउन छुटेको हुन सक्ने उनीहरू ठान्छन्।
यूकेमा पहिलो पटक मानिसमा क्यान्सर पत्ता लगाउन 'फ्लोरेसन्ट डाई' प्रयोग गरिएको हो। यो अध्ययनको परिणामबारे 'युरोपियन जर्नल अफ न्यूक्लिअर मेडिसिन एन्ड मोलिक्युलर इमिजिङ' मा एउटा शोधपत्र प्रकाशित भएको छ।
'प्रमोट स्टडी' भनिएको अझ ठूलो परीक्षणले यो विधि अन्य उपायभन्दा कति प्रभावशाली छ भन्ने तुलनात्मक अध्ययन गर्ने छ।

तस्बिर स्रोत, Cancer Research UK
किन उत्साहजनक?
यो अध्ययनका नेतृत्वकर्ता प्राध्यापक फ्रेडी ह्याम्डीले बीबीसीसँग कुरा गर्दै यो विधि सबै बिरामीका लागि उपयोगी हुन्छ भन्ने निर्क्योल गर्ने बेला भइनसकेको ठान्छन्। तर उनी यसलाई निकै "उत्साहजनक" मान्छन्।
"धेरै बिरामीमा हामीले अरू तरिकाले पत्ता लगाउन नसक्ने क्यान्सर फेला पार्यौँ," उनले भने।
"शल्यक्रिया गर्दागर्दै हामीले प्रोस्टेट क्यान्सर पहिलो पटक त्यति स्पष्ट रूपमा देख्न सक्यौँ," प्रा ह्याम्डीले भने।
"यो विधिबाट हामी सबै क्यान्सर हटाउन सक्छौँ, ट्यूमरबाट फैलिएका र पछि क्यान्सर बनेर फेरि देखा पर्न सक्ने सम्भावना भएका कोषिकाहरू समेत।"
"हामीले पत्ता लगाउन नसक्ने क्यान्सर पनि उत्तिकै महत्त्वपूर्ण छ।"
यो विधि प्रयोग गर्दा शल्यक्रियाका क्रममा स्वस्थ तन्तुहरूलाई जोगाउन सकिने र प्रोस्टेट क्यान्सरको शल्यक्रिया गरेपछि कहिलेकाहीँ देखा पर्न सक्ने दुष्प्रभावको सम्भावनालाई घटाउन सकिने प्रा ह्याम्डीको विश्वास छ।
प्रोस्टेट क्यान्सरको शल्यक्रिया गरेका केही बिरामीमा 'इरेक्टाइल डिस्फङ्शन' भनिने लिङ्ग राम्ररी उत्तेजित नहुने तथा पिसाब रोक्न नसकिने समस्या देखा पर्ने गरेको छ।

शल्यक्रिया गरेका बिरामी के भन्छन्?
वेस्ट योर्क्शरको ब्र्याड्फर्डका डेभिड बट्लर पनि यो परीक्षणमा सहभागी भए।
"यसबाट मेरा लिम्फ नोडहरूमा र मूत्रथैलीमा क्यान्सर पुगेको पत्ता लाग्यो," उनी भन्छन्।
शल्यक्रियापछि उनले रेडिओथेरपी गराए र उनी अहिले क्यान्सरमुक्त छन्।
"म आफूलाई निकै भाग्यमानी मान्छु," उनी भन्छन्।
पुरुषहरूमा पत्ता लाग्ने क्यान्सरमध्ये प्रोस्टेट क्यान्सरको सङ्ख्या विश्वभरि दोस्रो स्थानमा छ।
सीआरयूकेमा अनुसन्धान तथा नवप्रवर्तन विभागका कार्यकारी निर्देशक डा इअन फाउक्स भन्छन्, "फैलिन थालेको क्यान्सर पत्ता लगाउन हामीलाई अझ राम्रो साधन चाहिन्छ। यो अध्ययनबाट विकसित क्यान्सरका कोषिका देख्न सघाउने रङ्ग र इमेजिङ प्रणालीको संयोजनले भविष्यमा प्रोस्टेट क्यान्सरको उपचार कसरी गर्ने भन्ने तरिकामा आधारभूत परिवर्तन ल्याइदिन सक्छ।"
अब गरिने परीक्षण सफल भए यो रङ्गलाई अरू खालका क्यान्सरको शल्यक्रिया गर्दा पनि प्रयोग गर्न सकिने सीआरयूकेले ठानेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








