क्यान्सर के हो, राजा चार्ल्सलाई क्यान्सर भएको विषयमा हामीलाई के थाहा छ

तस्बिर स्रोत, Reuters
राजा चार्ल्सलाई एक किसिमको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले भनेको छ।
बढेको प्रस्टेटको उपचारका क्रममा हालै उनलाई क्यान्सर पनि भएको पत्ता देखिएको थियो। राजाले त्यसको उपचार थालिसकेका छन्।
उनलाई अहिले सार्वजनिक गतिविधिमा सक्रिय नहुन भनिएको छ।
राजा चार्ल्सलाई कस्तो क्यान्सर भएको हो?
दरबारले उनलाई कस्तो क्यान्सर भएको भनेर केही बताएको छैन।
उनको उपचार कहाँ भइरहेको छ भनेर पनि खुलाइएको छैन।
तर उनलाई प्रस्टेट क्यान्सर भने नभएको भनिएको छ।

तस्बिर स्रोत, Reuters
राजा कति वर्षका भए? उनका उत्तराधिकारी को हुन्?
राजा चार्ल्स तृतीय ७५ वर्षका भए।
सन् २०२२ को सेप्टेम्बरमा उनकी आमा रानी एलिजबेथको द्वितीयाको देहान्तपश्चात् उनी राजा बनेका हुन्।
रानी एलिजबेथले ७० वर्ष शासन गरेकी थिइन्।
राजा चार्ल्सको उत्तराधिकारी उनका जेठा छोरा प्रिन्स अफ वेल्स विलियम हुन्।
विलियम ४१ वर्षका छन्।
उनको क्यान्सर र प्रस्टेट उपचारसँग कस्तो सम्बन्ध छ?
प्रस्टेट बढेपछि राजा चार्ल्सको हालै उपचार गरिएको थियो। उनलाई प्रस्टेटको क्यान्सर भएको थिएन।
यद्यपि उपचारका क्रम "बेग्लै चिन्ताको विषय" पत्ता लाग्यो र त्यसको निदान क्यान्सर भनेर गरियो।
उनले बहिरङ्ग बिरामीका रूपमा क्यान्सरको उपचार गराउने छन्।

तस्बिर स्रोत, Reuters
के हो क्यान्सर?
शरीरको कुनै भागमा कोषहरू अनियन्त्रित रूपमा विभाजित वा वृद्धि हुन थाल्दा त्यसबाट क्यान्सर हुन्छ।
त्यस्ता कोष अन्य विभिन्न अङ्ग र तन्तुहरूमा फैलिन सक्छन्। त्यसलाई सेकन्डरी वा मेटस्ट्याटिक क्यान्सर भनिन्छ।
क्यान्सरको निदान कसरी गरिन्छ?
सामान्यतया डाक्टरहरूले बिरामीमा देखा परेका लक्षणहरूबारे प्रश्न सोध्छन्। साथै उनीहरूले केही परीक्षण पनि गर्न सक्छन्।
त्यसका लागि रगत परीक्षण, एक्सरे वा स्यान गर्न सकिन्छ। कहिलेकाहीँ तन्तुको सानो नमुना झिकेर 'बायोप्सी' भनिने परीक्षण प्रयोगशालामा गरिन्छ।
कतिपय अवस्थामा भने राजा चार्ल्सलाई जस्तै अरू नै रोगको उपचारका क्रममा क्यान्सर पनि भएको पत्ता लाग्छ।
क्यान्सरको स्क्रीनिङ गर्दा परीक्षण गर्न आवश्यक देखिँदा पनि सो रोग पत्ता लाग्छ।
स्क्रीनिङले लक्षणविहीन मानिसहरूमा क्यान्सरका प्रारम्भिक सङ्केतहरू खोजबिन गर्छ। अरू परीक्षणले रोग लागेको निश्चित गर्छन्।
विश्वमा कति मानिसलाई क्यान्सर हुन्छ?
क्यान्सर २०० भन्दा धेरै प्रकारका हुन्छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सबैभन्दा धेरै पाइने क्यान्सरहरूमा स्तन, फोक्सो, कोलन र रेक्टम अर्थात् मलाशय अनि प्रस्टेटका क्यान्सर हुन्।
उसका अनुसार संसारका प्रत्येक छ जनाको मृत्यु हुँदा एक जनाको मृत्युको कारक क्यान्सर हुने गर्छ।
उमेर बढ्दै गएपछि क्यान्सरको जोखिम पनि बढ्दै जान्छ किनभने समयक्रममा कोषहरूमा क्षति पुग्ने अवसर धेरै हुन्छ।
क्यान्सरका प्राय: मामिला ५० वर्ष वा त्यसमाथिका उमेरका मानिसमा पाइन्छ।
'बीएमसी पब्लिक हेल्थ' नामक मेडिकल जर्नलका अनुसार विश्वभरि क्यान्सर निदान गरिएका मानिसहरूमध्ये एकतिहाइ ७५ वर्षभन्दा माथिका हुने गर्छन्।
'क्यान्सर एट्लस'का अनुसार यो रोग गरिबभन्दा पनि धनी देशमा धेरै पाइने गर्छ।
युरोप, चीन र उत्तर अमेरिकी देशहरूमा जनसङ्ख्याको अनुपातमा क्यान्सर धेरै लागेको पाइएको उसले जनाएको छ।

तस्बिर स्रोत, Getty Images
क्यान्सरको मुख्य उपचार के हो?
क्यान्सरको उपचार वा व्यवस्थापन गर्ने विभिन्न उपाय छन्।
कतिपय क्यान्सर शल्यक्रिया गरेर हटाउन सकिन्छ। कीमोथेरपीका औषधिहरू रक्तनलीबाट वा मुखबाट सेवन गर्ने ट्याब्लेटका रूपमा दिन सकिन्छ। त्यस्ता औषधिले क्यान्सरयुक्त कोषहरू नष्ट गरिदिन्छन्।
अर्को विकल्प भनेको रेडिओथेरपी हो। यसअन्तर्गत उच्च ऊर्जायुक्त किरण प्रयोग गरेर क्यान्सर कोषमाथि आक्रमण गरिन्छ।
तर सबै उपचारले क्यान्सर निको पार्छ भन्ने चाहिँ छैन।
क्यान्सरका विभिन्न चरण के हुन्?
क्यान्सर कति ठूलो र कति फैलिएो छ भनेर बुझाउन डाक्टरहरूले यो रोगलाई विभिन्न चरणका रूपमा व्याख्या गर्छन्।
त्यसले उपयुक्त उपचारविधि पहिल्याउन पनि सघाउँछ।
चरण छुट्ट्याउन डाक्टरहरू विभिन्न तरिका अपनाउँछन्। उदाहरणका लागि, चरणलाई पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा वर्गीकरण गरिन्छ।
एक वा पहिलो चरण भन्नाले सानो आकारको र अन्यत्र नफैलिएको क्यान्सर मानिन्छ भने चार वा चौथो भन्नाले शरीरभरि फैलिएको अवस्थाको क्यान्सर मानिन्छ।

कति मानिस क्यान्सरबाट निको हुन्छन्?
क्यान्सरबाट निको हुने सम्भावना विगत ५० वर्षयता निकै बढेको छ। तर पछिल्लो समय त्यसरी सुधार हुने दर भने केही सुस्त हुन थालेको छ।
'ल्यान्सिट' मेडिकल जर्नलका अनुसार स्तन, कोलन वा प्रस्टेट क्यान्सर भएपछि पाँच वर्षसम्म बाँच्न सक्ने सम्भावना उत्तर अमेरिका, अस्ट्रेलिया, जापान र पश्चिम युरोपमा अत्यधिक छ।
एल्जेरिया, ब्रजिल र पूर्वी युरोपमा त्यो कम छ।
चालीस वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सरबाट निको हुने दर सामान्यतया धेरै हुन्छ।
क्यान्सर भएको शङ्का लाग्यो भने के गर्नुपर्छ?
यदि तपाईँलाई आफ्नो शरीरमा केही असामान्य वा अस्वाभाविक लाग्यो भने डाक्टरकहाँ जानुहोस्।
जस्तो कि:
- अकारण रक्तस्राव वा दुखाइ
- अस्वाभाविक गाँठा वा सुजन
- अकारण हुने थकान वा तौलमा ह्रास
- निरन्तर लागिरहने खोकी
तपाईँमा देखिएका यस्ता लक्षण क्यान्सर नहुन सक्छन्। तर परीक्षण गराउनु लाभप्रद हुन्छ।
सुरुकै अवस्थामा क्यान्सर पत्ता लागेमा सामान्यतया उपचार गर्न सजिलो हुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








