जन्मिँदै मुटु दाहिनेपट्टि थियो, ५२ वर्ष पुगेपछि पत्ता लाग्यो

शल्यक्रियापछि बाङ्ग्लादेशी महिला मोनारानी दास

तस्बिर स्रोत, MANIPAL HOSPITAL BROADWAY

तस्बिरको क्याप्शन, मोनारानी दासलाई मुटुसम्बन्धी जन्मजात समस्या थियो
    • Author, अमिताभ भट्टशाली र अहमन खवाजा
    • Role, बीबीसी न्यूज बाङ्ग्ला र बीबीसी विश्व सेवा

झन्डै दुई वर्षअघि बाङ्ग्लादेशकी मोनारानी दासलाई छातीको दाहिनेतिर दुख्न थाल्यो। उनका परिवारका सदस्यहरूलाई उनलाई अम्लपित्त भएर "छाती पोलेको" होला भन्ने लाग्यो।

उनीहरूलाई ५२ वर्षीया दासको दुर्लभ र असामान्य स्वास्थ्य स्थिति होला र उपचारका निम्ति देशै छाडेर भारत जानुपर्ला भन्ने अनुमानसम्म पनि थिएन।

बीबीसी बाङ्ग्लासँग हालैको एउटा अन्तर्वार्तामा उनले सरी उक्त समस्याका लक्षणहरू देखा पर्न थाले भन्नेबारे आफ्नो अनुभव सुनाइन्।

"छातीको दाहिने पाटोमा दुख्न थालेको केही दिनपछि मलाई सास फेर्न पनि गाह्रो हुन थाल्यो," उनले भनिन्।

त्यसको केही समयमै उनलाई हृदयाघात भयो। त्यसपछि उपचारका क्रममा मात्रै चिकित्सकहरूले उनको मुटुको स्थिति भिन्न भएको थाहा पाएका हुन्।

"डाक्टरहरूले मेरो मुटु छातीको दाहिनेपट्टि छ भन्ने थाहा पाए," दासले भनिन्।

बाङ्ग्लादेशको दक्षिणपश्चिमी सहर सट्खिराका चिकित्सकहरू उनलाई 'डेक्स्ट्रोकार्डिआ' भनिने मुटुसम्बन्धी जन्मजात समस्या भएको निष्कर्षमा पुगे। उनको मुटु छातीको देब्रेतर्फ नभई दाहिने थियो।

त्यसबाहेक उनको शरीरमा महत्त्वपूर्ण अङ्गहरू सामान्य स्थानभन्दा अर्कोपट्टि भएको पनि पत्ता लाग्यो। त्यस्तो विकारलाई 'साइटस इन्भर्सस' भनिन्छ।

उनको कलेजो, फोक्सो, फियो तथा आमाशय (पेट) दायाँ–बायाँ क्रमको स्थिति सामान्यभन्दा विपरीत अवस्थामा भेटियो।

अध्ययनहरूका अनुसार प्रत्येक १२,००० गर्भमध्ये एउटामा' डेक्स्ट्रोकार्डिआ' हुन सक्छ।

डेक्स्ट्रोकार्डिआ र साइटस इन्भर्सस
तस्बिरको क्याप्शन, मुटु तथा अन्य अङ्गहरूको असामान्य अवस्थितिसहितको जन्मजात विकार दर्शाउने चित्र

दासको स्वास्थ्यस्थिति राम्रो नदेखिएपछि उनका परिवारजनले पूर्वी भारतको कोलकाता सहरका एक मुटुरोग विशेषज्ञसँग परामर्श गर्ने निर्णय गरे।

धेरै बाङ्ग्लादेशीहरू भारतमा राम्रो उपचार सुविधा पाइन्छ भन्ठान्छन्। बर्सेनि हजारौँ मानिस उपचारका निम्ति भारत जाने गर्छन्। त्यसैले दासको परिवारले पनि भारत जाने निर्णय गर्‍यो।

उनलाई मणिपाल अस्पताल ब्रोडवेमा डा सिद्धार्थ मुखर्जीले हेरे। गत मे महिनामा उनैले दासको शल्यक्रिया गरे।

"हामी प्राय: दाहिने हात चलाउने र बिरामीको दाहिने पाटोकै शल्यक्रिया गर्नुपर्ने भएकाले 'डेक्स्ट्रोकार्डिआ'को समस्या लिएर आएका बिरामीहरूको शल्यक्रिया चुनौतीपूर्ण हुन्छ," डा मुखर्जीले भने।

"यस मामिलामा हामीलाई बिरामीको देब्रेपट्टि उभिएरशल्यक्रिया गर्नुपर्‍यो। त्यो हाम्रा निम्ति नौलो थियो। तथापि हाम्रो पूरै टोलीले आफूलाई स्थितिअनुकूल बनायो।"

शल्यक्रिया राम्रोसँग सम्पन्न भयो। दास बाङ्लादेश फर्किसकिन्। उनी आवधिक परीक्षणका निम्ति पुन: भारत आउने छिन्।

मुटु नै सर्‍यो

हालै त्यस्तै अर्को असामान्य मामिलाले पनि भारतीय सञ्चारमाध्यमको ध्यान खिच्यो। जन्मिँदा मुटु देब्रेतिर भएका एक व्यक्तिको मुटुको अवस्थिति लामो समयदेखिको खोकीका कारणले फेरिएको थियो।

पश्चिम बङ्गाल राज्यका बासिन्दा ६६ वर्षीय रेजा–उल करिमलाई सास फेर्न सधैँ गाह्रो हुन्थ्यो।

उनले बीबीसी बाङ्ग्लासँग भने, "म सानो छँदा विभिन्न खेलहरू खेल्थेँ। तर समयसँगै मलाई सास फेर्न गाह्रो हुन थाल्यो र निकै खोकी लाग्न थाल्यो।"

"पछि म २५ वर्षसम्म राजनीतिमा सामेल भएँ," उनले भने, "त्यस क्रममा दौडधुप गरिराखेँ। स्थानीय डाक्टरलाई देखाउँथेँ र उनले दिएको औषधि खान्थेँ।"

तर केही वर्षअघि उनले स्वयंलाई निकै कमजोर महसुस गरे। उनकी छोरी चिन्तित भइन्। उनैले करिमलाई कोलकाता पुर्‍याइन् र मेडिका सुपर स्पेशियालिटी स्पतालका डाक्टरलाई देखाइन्।

अस्पतालमा डाक्टर भेट्न पालो कुरिरहेका करिम

तस्बिर स्रोत, MEDICA SUPERSPECIALITY HOSPITAL

तस्बिरको क्याप्शन, डाक्टरहरूले बाल्यकालदेखिको क्षयरोगका कारण करिमको मुटु दाहिनेतर्फ सरेको पत्ता लगाए

"मलाई एकदमै स्याँस्याँ हुन्थ्यो र प्रार्थनाका क्रममा (घुँडा टेकेपछि) उठ्न गाह्रो हुन्थ्यो," करिमले भने, "दुई- तीन पटक त म प्रार्थनाकै क्रममा ढलेको पनि छु।"

चिकित्सकहरूले बाल्यकालदेखिको क्षयरोगका कारण उनको मुटु बायाँबाट दायाँतिर सरेको पत्ता लगाए। उनको मुटुलाई सहयोग गर्न र श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका निम्ति 'पेसमेकर' राख्नुपर्ने निष्कर्षमा चिकित्सकहरू पुगे।

जुन महिनामा करिम र उनका परिवारलाई "तत्काल शल्यक्रिया" गर्न आवश्यक भएको बताइयो। यसबारे अन्य केही जानकारी दिइएन।

'पेसमेकर' राख्न तीन घण्टा लगाएर गरिएको शल्यक्रियाका क्रममा मात्रै चिकित्सकहरूले उक्त शल्यक्रिया अत्यन्तै दुर्लभ भएको थाहा पाएका थिए।

'पेसमेकर' भनेको मुटुको धड्कनलाई सुस्त बन्न नदिनका निम्ति छातीमा राखिने एउटा सानो विद्युतीय उपकरण हो।

उक्त उपकरणले बिरामीको मुटुको धड्कन नघटोस् भनेर सुनिश्चित गर्छ। मुटुको गति सुस्त हुने स्थिति बिरामीका निम्ति खतरनाक हुन सक्छ।

चिकित्सकहरू शल्यक्रिया गर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पेसमेकर प्राय: छातीको देब्रे पाटोका निम्ति बनाइने हुनाले करिमको शल्यक्रिया असामान्य भएको चिकित्सकहरू बताउँछ्न्

करिमको शल्यक्रिया गरेका डा दिलीप कुमार उक्त शल्यक्रियालाई दुर्लभ भन्छन्। उनका अनुसार 'पेसमेकर' प्राय: छातीको देब्रे पाटोमा अवस्थित मुटुका निम्ति बनाइएको हुन्छ।

उनका अनुसार उनको टोलीले 'कन्डक्टिङ सिस्टम पेसिङ' (सीएसपी) भनिने विधिको प्रयोग गरेको थियो जुन दाहिने पाटोमा अवस्थित मुटुको शल्यक्रियामा यसअघि प्रयोग गरिएको थिएन।

'ब्रिटिश कार्डिआक सोसाइटी'का अनुसार सीएसपी एउटा नयाँ विधि हो र मुटुबाहिर रगत प्रवाह गर्न यसले सङ्केत प्रसार गर्ने मुटुको प्रणाली उपयोग गर्छ।

सरल भाषामा भन्नुपर्दा सीएसपी एउटा त्यस्तो विधि हो जसमा 'पेसमेकर' को माध्यमबाट मुटुको स्वभाविक चाललाई कायम राख्ने प्रयास गरिन्छ।

करिम शल्यक्रियापछि स्वास्थ्यलाभ गरिराखेका छन् र छिट्टै उनको स्थिति आकलन गर्न अर्को परीक्षण गरिँदै छ। उनका चिकित्सकका अनुसार उनलाई अब श्वासप्रश्वाससम्बन्धी समस्या छैन र उनी नढलीकन आरामले प्रार्थना गर्न सक्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।