मुटुका तन्तु बिउँताउन सघाउने उपकरण र उपचारविधि

शकवेभ उपकरण हातमा बोकेका एक चिकित्सक
    • Author, जिम रीड
    • Role, स्वास्थ्य संवाददाता, बीबीसी न्यूज

मुटुको बाइपास सर्जरी गराएका बिरामीहरूलाई 'शकवेभ' भनिने ध्वनितरङ्गको मन्द झट्का दिँदा मुटुका तन्तुहरू बिउँतिन सक्ने एउटा नयाँ अध्ययनले देखाएको छ।

अस्ट्रियामा ६३ बिरामीमा गरिएको अध्ययनमा उक्त नयाँ उपचारपद्धति प्रयोग गर्दा मुटुले धेरै रगत 'पम्प' गर्न सकेको र बिरामीहरू अलि बढी हिँड्न सकेको देखिएको छ।

"क्लिनिकल परीक्षणका क्रममा हामीले बिरामीमा मुटुका तन्तुहरू फेरि पलाउन थालेको पाएका छौँ। यसबाट लाखौँ मानिस लाभान्वित हुन सक्छन्," इन्ज्ब्रूक मेडिकल यूनिभर्सिटीका प्राध्यापक योहानेस होल्फेल्डले भने।

उक्त उपकरणलाई 'स्पेस हेअरड्रायर' को सङ्ज्ञा दिइएको छ।

शोधकर्ताहरू अझ धेरै बिरामीहरूमा उक्त उपकरण र विधि प्रयोग गरी पुनः उस्तै परिणाम प्राप्त गर्ने योजनामा छन्।

धमनीमा अवरोध

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार प्रत्येक वर्ष एक करोड ८० लाख मानिसले मुटुरोग तथा मुटु र रक्तनलीसम्बन्धी विभिन्न जटिलताका कारण ज्यान गुमाउँछन्।

जोखिमका कारकहरूमा उच्च रक्तचाप, अस्वस्थकर आहारका, धूमपान र मद्यपान पनि पर्छन्।

धमनीमा हुने अवरोधका कारण विश्वभरि धेरै बिरामीको मृत्यु हुन्छ।

यो समस्याको कुनै उपचार छैन।

शरीरका अन्य अङ्गहरूमा अचानक रगतको आपूर्ति रोकिँदा औषधि तथा अन्य उपचारमार्फत् रोगलाई रोकथाम गर्न वा हृदयाघात हुने सम्भावना घटाउन सकिन्छ।

गम्भीर अवस्थामा चिकित्सकहरूले छाती, गोडा वा पाखुराबाट स्वस्थ रक्तनली झिकेर अवरुद्ध धमनीको माथि वा तल जोडिदिई वैकल्पिक बाटो बनाउँछन्। यो प्रक्रियालाई 'बाइपास सर्जरी' भनिन्छ।

तर यस्तो शल्यक्रियाले मुटुको कार्यप्रणालीमा सुधार ल्याउँदैन। त्यसले केवल मुटुलाई काम गर्न सक्ने बनाइराख्छ।

उपचार गर्न तरङ्गको प्रयोग

अस्ट्रियाका शोधकर्ताहरूले बाइपास शल्यक्रियालगत्तै मन्द 'शकवेभ' को उपयोगमार्फत् क्षतिग्रस्त तन्तुहरूलाई आफैँ बिउँतिन सघाउने प्रयास गरेका हुन्।

जम्मा १० मिनेटको उक्त प्रक्रिया हृदयाघातपश्चात् चोटग्रस्त बनेको क्षेत्रवरपर नयाँ धमनीको विकासलाई प्रोत्साहित गर्ने गरी तयार पारिएको छ।

समान खालको 'शकवेभ' विधि चोटग्रस्त मांसपेशी र लिङ्ग उत्तेजित नहुने समस्याको उपचारमा प्रयोग हुँदै छ।

मिर्गौलामा भएको पत्थरी फुटाउन 'लिथोट्रिप्सी' भनिने अर्को विधिमा शक्तिशाली तरङ्गहरू प्रयोग गरिँदै आएको छ।

इन्ज्ब्रूकका प्राध्यापक योहानेस होल्फेल्ड
तस्बिरको क्याप्शन, इन्ज्ब्रूकका प्राध्यापक योहानेस होल्फेल्डले 'शकवेभ थेरपी' सम्बन्धी अध्ययनको नेतृत्व गरेका छन्

'युरोपियन हार्ट जर्नल'मा प्रकाशित शोधका अनुसार अध्ययनमा समाविष्ट बिरामीमध्ये आधालाई बाइपास शल्यक्रिया गर्दा सामान्य लट्ठ्याउने औषधि दिएर ध्वनितरङ्गको विधिबाट उपचार गरिएको थियो भने बाँकीलाई देखावटी विधि मात्र गरिएको थियो।

शल्यक्रिया गरेको एक वर्षपछि मुटुबाट पम्प हुने अक्सिजनयुक्त रगतको प्रवाह "शकवेभ" दिइएको समूहमा ११.३ प्रतिशतले र नियन्त्रित समूहमा ६.३ प्रतिशतले वृद्धि भएको पाइयो।

"शकवेभ" दिइएका बिरामीहरू आराम नगरीकन तुरुन्तै हिँड्न सके भने उनीहरूको जीवन उच्चगुणस्तरको रहेको बताइयो।

"यसको अर्थ उनीहरू दिनहुँ कुकुर डुलाएर हिँड्न वा बजार जान सक्षम छन् भन्ने हो", प्राध्यापक होल्फेल्डले भने।

"उनीहरूको औसत आयु लामो हुने र पुन: अस्पताल भर्ना हुने अवस्था पनि कम हुन्छ हाम्रो अनुमान छ।"

शकवेभ' दिन प्रयोग गरिने 'स्पेस हेअरड्रायर'
तस्बिरको क्याप्शन, शकवेभ' दिन प्रयोग गरिने 'स्पेस हेअरड्रायर'

मुटुरोग विशेषज्ञ तथा ब्रिटिश हेल्थ फाउन्डेशनकी मेडिकल सहनिर्देशक डा सोनिया बाबु–नारायण मुटुरोगको उपचारमा "सुधारका निम्ति प्रशस्त कार्य बाँकी रहेको" बताउँछिन्।

"यो परीक्षणको उत्साहजनक पक्ष के हो भने जजसलाई 'शकवेभ थेरपी' दिइयो, एक वर्षपछि हेर्दा उनीहरूको मुटुको कार्यप्रणाली सुध्रिएको पाइयो र थेरपी नपाएकाहरूको तुलनामा समस्याका लक्षण पनि कम पाइयो", उनले भनिन्।

"अब यसको दीर्घकालीन प्रभाव हेर्न ठूला र लामा परीक्षणहरू गरिनुपर्छ।"

युरोपेली नियामक निकायहरूले यो वर्षको अन्त्यसम्ममा यो उपकरणको प्रयोगका निम्ति अनुमति दिने अपेक्षा अनुसन्धानकर्ताहरूको छ।

त्यसो भएको खण्डमा सन् २०२५ मा पहिलो पटक क्लिनिकल परीक्षणमा रहेकाबाहेक अरू बिरामीले पनि यो उपचार प्राप्त गर्ने छन्।

यो अध्ययनमा अस्ट्रिया र संयुक्त राज्य अमेरिकाका सरकारी निकायहरूले तथा इन्ज्ब्रूक मेडिकल यूनिभर्सिटीबाट सहायता पाएको एउटा कम्पनी आर्थिक सहयोग उपलब्ध गराएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।