शाकाहारीलाई 'हृदयरोगको सम्भावना कम, मस्तिष्काघातको जोखिम बढी'

शाकाहारी भोजन

तस्बिर स्रोत, Getty Images

    • Author, क्यारोलिन पार्किन्सन
    • Role, स्वास्थ्य सम्पादक, बीबीसी न्यूज

माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मस्तिष्काघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार व्यक्तिलाई १८ वर्षसम्म हेरिएको थियो।

प्रत्येक हजार मानिसहमध्ये मुटुको रोग लाग्ने शाकाहारीको सङ्ख्या मांसाहारीको भन्दा १० कम थियो। तर मस्तिष्काघात हुनेमध्ये शाकाहारीको सङ्ख्या तीन जनाले बढी थियो।

आहार विशेषज्ञहरूका अनुसार शाकाहार वा मांसाहार जे गरे पनि धेरै प्रकारका खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ।

यो अध्ययनको महत्त्व के?

उक्त शोधमा आहार र स्वास्थ्यबारे एउटा प्रमुख दीर्घकालीन ईपीआईसी-अक्सफोर्ड अध्ययनको तथ्याङ्क प्रकाशित गरिएको छ।

सन् १९९३ देखि २००१ देखि अध्ययनमा सहभागी भएका आधा मानिस मांसाहारी थिए भने १६ हजार शाकाहारी तथा ७५ सय जना माछा मात्रै खाने थिए।

अध्ययनमा सहभागी हुने बेलामा उनीहरूलाई आफ्नो आहारबारे सोधिएको थियो। सन् २०१० मा फेरि त्यही कुरा सोधियो।

उनीहरूको स्वास्थ्यस्थिति, धूमपान गर्ने बानी तथा शारीरिक व्यायाम गर्ने वा नगर्ने पक्षलाई पनि अध्ययनमा समावेश गरिएको थियो।

आहार

तस्बिर स्रोत, Getty Images

तीमध्ये जम्मा दुई हजार आठ सय २० जनालाई हृदयरोग लागेको थियो भने एक हजार ७२ जनालाई मस्तिष्काघात भएको थियो।

माछा मात्रै खाने मानिसमा हृदयरोगको जोखिम १३ प्रतिशत कम र शाकाहारीमा २२ प्रतिशत कम देखिएको छ।

तर शाकाहारीहरूमा मस्तिष्काघातको सम्भावना २० प्रतिशत बढी देखिएको छ। शाकाहारीमा भिटामिन बी १२ को कमी हुने भएकाले त्यसो भएको हुन सक्ने तर थप अध्ययन चाहिने बताइएको छ।

के शाकाहारी हुनु अनुचित हो?

ब्रिटिश डाइअटेटिक एसोसिएशनका डा. फ्रान्की फिलिप्स भन्छन्, "होइन। किनभने यो अध्ययनमा मानिसहरूले वर्षौँसम्म के खान्छन् भनेर मात्रै हेरिएको छ।"

उनका अनुसार यो अध्ययनले सम्बन्ध देखाउने भए पनि त्यही कारणले त्यसो भएको हो भन्ने देखाउँदैण।

"यसको सन्देश भनेको सबै खाले खानेकुराहरू मिसिएको आहार नै ठिक हुन्छ भन्ने हो।"

के खाने त?

खाना खोइ

तस्बिर स्रोत, Getty Images

ब्रिटेनको न्याश्नल हेल्थ सर्भिसेजका अनुसार जुनसुकै आहार खाए पनि तपाईँको खानेकुरामा निम्न कुरा हुनुपर्छ:

  • प्रत्येक दिन कम्तीमा पाँचथरी फलफूल र तरकारी
  • आलु, पाउरोटी, चामल र पास्तामध्ये एक
  • प्रोटिन बिर्सनुहुँदैन - मासु, माछा, गेडागुडी वा दाल
  • दुग्धपदार्थ

तर चिल्लो, नुन र चिनी कम खानुपर्छ।

शाकाहारीहरूले पोषणका बारेमा विशेष ध्यान दिनुपर्छ किनभने माछामासु वा दुग्धपदार्थबाट प्राप्त हुने भिटामिन बी१२ शरीरका लागि आवश्यक हुन्छ।