मेइन र कोलराडोको निर्णयपछि के अझै ट्रम्प राष्ट्रपतिको चुनाव लड्न सक्छन्?

तस्बिर स्रोत, GETTY IMAGES
डोनल्ड ट्रम्पलाई अमेरिकाको मेइन र कोलराडो सहित दुई राज्यबाट राष्ट्रपतिको चुनाव लड्न अयोग्य ठहर गरिएको छ।
आगामी वर्ष हुन लागेको राष्ट्रपतीय निर्वाचनमा यसको अर्थ के हुन्छ?
ह्वाइट हाउसमा जो बाइडनलाई चुनौती दिन सन् २०२४ को नोभेम्बरमा हुने निर्वाचनमा रिपब्लिकन पार्टीका आकाङ्क्षीमध्ये ट्रम्प सबैभन्दा अगाडी छन्।
मेइन र कोलराडोको निर्णयलाई ट्रम्पको अभियानले “अत्याचारपूर्ण” र “चुनावी परिणाम हत्याउने प्रयत्न” भनेको छ।
यसअघिको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि ट्रम्पका समर्थकले अमेरिकी संसद् रहेको क्यापिटल हिलमा गरेको दङ्गासँगको सम्बन्धका कारण पूर्व राष्ट्रपतिलाई चुनाव लड्न अयोग्य घोषणा गरिएको मेइनका एक उच्च निर्वाचन अधिकारीले बताएका छन्।
यसअघि कोलराडोको सर्वोच्च अदालतले पनि यस्तै अभूतपूर्व आदेश दिएको थियो।
दुवै राष्ट्रहरूबाट राष्ट्रपतिका उम्मेदवार आगामी महिना छानिने तयारी भइरहँदा ट्रम्पको नाम मतपत्रमा छापिन्छ वा छापिँदैन भन्ने अझैसम्म प्रष्ट छैन।
किनभने दुवै राज्यको निर्णयमा पुनरावेदनको समय बाँकी नै रहेकाले ती निर्णयहरू कार्यान्वयनमा आइसकेका छैनन्।
मेइनले किन यस्तो निर्णय गर्यो?
कोलराडोमा सर्वोच्च अदालतले ट्रम्पलाई चुनाव लड्न अयोग्य ठहर गरे तापनि मेइनमा भने त्यहाँका उच्च निर्वाचन अधिकारीले यस्तो निर्णय गरेकी हुन्।
ती अधिकारीले संविधानको एउटा अनौठो प्रावधान देखाउँदै यस्तो निर्णय लिएकी छिन्।
डेमेक्र्याट पार्टीबाट निर्वाचित भएकी उक्त राज्यकी गृहमन्त्री शेन्ना बेलोजले संविधानको १४औँ संशोधनको धारा ३ मा रहेको व्यवस्थाका कारण ट्रम्पलाई आगामी चुनावमा उम्मेदवार बन्न अयोग्य ठहर गरिएको ३४ पृष्ठ लामो आदेशमा उल्लेख गरेकी छिन्।
संविधानको धारा ३ ले “देशद्रोह वा विद्रोह” मा संलग्न व्यक्तिलाई अमेरिकाको सङ्घीय निर्वाचनमा भाग लिनबाट अयोग्य भनेको छ।
उनको आदेशमा ट्रम्पले “आफ्ना समर्थकहरूलाई चुनावी धाँधलीबारे गलत कथन प्रयोग गरेर उचालेको र क्यापिटलतर्फ जान उक्साएको” उल्लेख छ।
ट्रम्पको चुनावी अभियानले भने बेलोजको निर्णय राजनीतिक स्वार्थबाट प्रेरित भएको आरोप लगाएको छ।
उनले यस्तो आरोप अस्वीकार गर्दै कानुनी शासनको मान्यताका आधारमा आफूले यस्तो निर्णय लिएको बताइकी छिन्।
आदेशपछि बीबीसीसँग कुरा गर्दै उनले आफ्नो राज्यमा निर्वाचन कानुनको पालना गराउने आफ्नो जिम्मेवारी भएको बताइन्।
उनले अमेरिकी “सर्वोच्च अदालतले यो विषय देशभरिका लागि सुल्झाउने” विश्वास समेत आफूले व्यक्त गरेको बताइन्।
कोलराडोमा के भएको थियो?

तस्बिर स्रोत, GETTY IMAGES
डिसेम्बर १९ मा कोलराडोको सर्वोच्च अदालतले "ट्रम्प देशद्रोहमा संलग्न भएको प्रस्ट र विश्वसनीय प्रमाण फेला पारेको" जनाएको थियो।
राष्ट्रपतिका उम्मेदवारलाई अयोग्य ठहर गर्न संविधानको धारा ३ प्रयोग भएको त्यो पहिलो पटक थियो।
२१३ पृष्ठ लामो आदेशमा सन् २०२१ को ज्यानुअरी ६ मा भएको दङ्गामा ट्रम्पका गतिविधिहरू जिम्मेदार रहेको र त्यसले देशद्रोह निम्त्याएको दाबी गरिएको छ।
ट्रम्पले दङ्गाको जिम्मेवारी नलिएका कारण उनलाई अयोग्य ठहर गर्न नमिल्ने दाबी ट्रम्पका वकिलहरूले कोलराडोमा गरेका थिए।
उनीहरूले ट्रम्पमाथि देशद्रोहको अभियोग पनि नलगाइएको बताएका थिए।
के अब पनि डोनल्ड ट्रम्प सन् २०२४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्छन्?

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
उनी पक्कै सक्छन्।
किनभने यी आदेशहरू कोलराडो र मेइनमा मात्रै लागु हुन्छन्।
मेइनले यस्तो निर्णय गरेको केही घण्टापछि क्यालिफोर्नियाका डेमेक्र्याट गृहमन्त्रीले उक्त राज्यमा पनि ट्रम्पलाई अयोग्य ठहर गर्न गरिएका माग अस्वीकार गरे।
उनले यो अदालतको विषय भएको बताएका छन्।
मिशिगनको उच्च अदालतले समेत ट्रम्पलाई अयोग्य ठहर गर्न माग गरिएको मुद्दामा सुनुवाइ गर्न अस्वीकार गरेको छ।
ट्रम्प रिपब्लिकन पार्टीका अन्य आकाङ्क्षीहरू भन्दा धेरै अगाडी देखिएका छन्।
जसकारण उनले कोलराडो र मेइनमा प्रतिस्पर्धा नै नगरे पनि प्राइमरी भनिने पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चयनको चुनाव जित्ने ठानिएको छ।
अमेरिकामा प्रमुख दुई पार्टीहरूले आ-आफ्ना राष्ट्रपतिका उम्मेदवार छान्न हरेक राज्य र पार्टीका ककसहरूमा प्राइमरी चुनाव गर्छन्। यस्तो चुनाव ज्यानुअरीमा सुरु हुन्छ।
सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा अहिले ट्रम्पलाई रोक लगाइएका दुवै राज्यमा जो बाइडनले ठूलो मतान्तरले पछि पारेका थिए।
त्यसकारण यसपटक पनि ह्वाइट हाउसको यात्राका लागि ट्रम्पले यी राज्यहरूमा चुनाव जित्नै पर्छ भन्ने नभएको जानकारहरू बताउँछन्।
अब के हुन्छ?
अब अमेरिकाको सर्वोच्च अदालतले देशैभर लागु हुने आदेश जारी गर्नसक्ने सम्भावना पनि छ।
किनभने कोलराडोको रिपब्लिकन पार्टी समितिले राज्यको अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिइसकेको छ।
अमेरिकी सर्वोच्च अदालतले सन् २०२४ मा यो मुद्दामा सुनुवाइ गर्नेछ। तर त्यसको मिति तय भइसकेको छैन।
सर्वोच्च अदालतले आदेश नदिएसम्म ट्रम्पको नाम कोलराडोमा छापिने मतपत्रमा हुनेछ।
मेइनको आदेश पनि राज्यको अदालतमा विचाराधीन छ। अमेरिकी सर्वोच्च अदालतले कुनै आदेश दिएको अवस्थामा तल्लो अदालतका आदेशहरू वा विचाराधीन मुद्दाहरूको आदेशको अर्थ रहँदैन।
सर्वोच्च अदालतले दुवै तर्फका कानुनी तर्कहरूमा ध्यान दिनुपर्ने भएकाले फैसला वा आदेशका लागि समय लाग्नसक्छ।
तर कोलराडो र मेइनमा मार्च ५ मा प्राइमरी चुनाव तय भएका कारण त्यसअघि नै मुद्दाको टुङ्गो लगाइसक्नुपर्ने दवाबमा अदालत छ।
मार्च ५ को मङ्गलवारका दिन अमेरिकाका सबैभन्दा धेरै राज्यहरूमा एकै दिन प्राइमरी चुनाव हुँदैछ।
पछिल्लो समय अमेरिकी सर्वोच्च अदालतको सन्तुलन परम्परावादी देखिएको छ।
कतिपयले त्यसपछाडि ट्रम्प प्रशासनका पालामा नियुक्त भएका तीनजना न्यायाधीशहरूलाई कारण देखाएका छन्।
यो मुद्दाको केन्द्रमा भने आगामी आम निर्वाचनलाई यसले पार्ने प्रभावसँग दाँजेर हेरिएको छ।
कानुनविद्हरूको तर्क के छ?
यसमा ध्यान दिनुपर्ने दुई वटा कानुनी पाटोहरू छन्।
एउटा भनेको अमेरिकी संसद्मा दङ्गा निम्त्याउने ट्रम्पका काम कारबाही दोशद्रोहमा पर्छन् वा पर्दैनन् भन्ने हो।
अर्को भनेको संविधानको धारा ३ ले रोक लगाएका पदाधिकारीको परिभाषामा पूर्वराष्ट्रपति पर्छन् वा पर्दैनन् भन्ने छ।
कोलराडोको तल्लो अदालतले ट्रम्प देशद्रोहमा संलग्न रहेको ठहर गरिसकेको छ तर उक्त कानुन राष्ट्रपतिका लागि लागु भएन।
यो कुरामा कोलराडोको सर्वोच्च अदालतले असहमति जनायो।
कानुनका पाका विद्वान्हरू पनि यो कानुन ट्रम्पका हकमा आकर्षित हुने कुरामा विभाजित भएका छन्।
ट्रम्पका वकिलहरूले उनी देशद्रोहमा संलग्न भएको कुरामा असहमति राखेका छन् र उनको त्यसदिनको भनाई अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत पर्ने बताएका छन्।
राजनीतिक प्रभाव के हुनसक्छ?
ट्रम्पको अभियानले पछिल्ला आदेशहरू ट्रम्पलाई कानुनी दवाबमा राखिएको देखाउने एक उदाहरण मात्रै भएको बताएको छ।
तर यसको आम निर्वाचनमा व्यापक असर हुनसक्छ।
अमेरिकाका दर्जन राज्यहरूमा पनि ट्रम्पलाई चुनावी प्रतिस्पर्धामा रोक लगाउने मुद्दाहरू दर्ता भएका छन्।
केही राज्यहरूले कोलराडो र मेइनको जस्तै निर्णय पछ्याउन पनि सक्ने ठानिएको छ।
यदि ट्रम्पलाई बाइडनसँग उच्च प्रतिस्पर्धा भएका राज्यमा रोक लगाइयो भने नजिकको प्रतिस्पर्धा हुने ठानिएको निर्वाचनमा त्यो महत्त्वपूर्ण हुनसक्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।











